ओली–नेपाल सहमतिले सुदूरपश्चिमका मुख्यमन्त्रीको पद धरापमा

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १४:१६


समाधान संवाददाता
धनगढी
५२ सदस्यीय प्रदेश सभा भएको सुदूरपश्चिम प्रदेशमा एमाले एक्लैका २५ सांसद छन् । २ जना सांसद रहेको जनता समाजवादी पार्टीको पनि समर्थन लिएर एमालेले त्यहाँ पनि सरकार बनाउन सक्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीचको सहमतिले माओवादी नेता त्रिलोचन भट्ट नेतृत्वको माओवादी सरकार संकटमा परेको हो । प्रदेश सरकार गठन गर्न २७ जना सांसद आवश्यक पर्छ । एमालेको २५ र जसपाका २ जनासहितको सरकार बन्नेमा एमालेकै सांसदहरू पनि ढुक्क हुन थालेका छन् ।
सुदूरमा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सांसद छन् । जनता समाजवादी पार्टीका दुवै जना सांसद पूर्व राजपा अर्थात् महन्थ (राजेन्द्र पक्ष)का भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने पक्का भएको छ ।
‘अब हाम्रो नेतृत्वमा सरकार बन्छ,’ संसदमा सबैभन्दा ठूलो दल एमाले नै हो, हाल परिस्थिति फेरिएका बेला एमालेको सरकार बनाउने कुरा स्वाभाविक हो,’ एमालेका एक नेता पठानसिंह बोहराले भनेका छन् । एमालेभित्रै ओलीलाई समर्थन गरेको भन्दै १४ पुसमा भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले वर्खास्त गरेका थिए । ओली पक्षमै देखिएका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले २२ पुसमा मन्त्री पदबाट राजीनामा दिएका थिए । माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका बोहरा अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता गर्ने तयारी भएको एमाले नेताहरूले बताएका छन्। एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक तारा लामा भन्छन्, ‘केन्द्रको राजनीतिको असर प्रदेश सरकारमा पर्ने नै भयो, छलफलमा छौं, छिटै निष्कर्षमा पुग्छौं।’
एमाले र माओवादीको गठबन्धनपछि भागबन्डाको आधारमा सुदूरपश्चिम प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको थियो । तर अहिले एमाले एक भएपछि वर्तमान सरकारको विकल्प आवश्यक रहेको एमाले नेताहरू बताउँछन् ।
हाल एमालेभित्र नेपाल समूहका प्रकाश शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्णराज सुवेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग वन तथा वातावरण मन्त्री छन् । प्रदेशमा सभामुखबाहेक २४ जना सांसदमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ६ जना मात्रै थिए ।

Advertisement

तपाईको प्रतिक्रिया