‘एउटा ज्यान बचाउन सक्दा पनि आनन्द’

समाधान संवाददाता २०७८ जेठ १ गते ९:१५

अहिले आउने बिरामीलाई एकदम गाह्रो भएको देख्छु । आफ्नो ज्यान जोसुकैलाई पनि अमूल्य हुन्छ । आफूले एउटा ज्यान बचाउन सक्यो भने जीवनमा केही न केही थपिएजस्तो महसुस हुँदोरहेछ ।

अनुप पौडेल, पोखरा

इमर्जेन्सीसहित अस्पतालका ५५ बेड कोरोना संक्रमितले भरिएका छन् । ८ जना नर्स र २ जना प्यारामेडिक्स गरेर १० जनाले सबै बिरामीको हेरचाह गर्नुपरेको छ । यो गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको अवस्था हो ।

उक्त अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिनेमध्येकी हुन्, नम्रता बास्तोला । अस्पतालको नर्सिङ इन्चार्ज बास्तोला गत २६ साउनयता निरन्तर संक्रमितको उपचारमा खटिएकी छन् । सुरुमा अनुभव थिएन, बिरामी देखेपछि डराउनुपथ्र्यो ।

२६ वर्षीया नम्रताको मनमा पहिलो लहरमा खटिँदाजस्तो डर अहिले छैन । ‘पहिलाको कोभिड लक्षण देखिने खालको थिएन । त्यतिखेर केही बुझिएको थिएन । पिपिई लगाएर जाँदा पनि डर लाग्थ्यो,’ नम्रता अनुभव सुनाउँछिन्, ‘आफू सुरक्षित भए काम गर्दा केही नहुँदो रहेछ भन्ने हुँदै गयो । अहिले बिरामी पनि लक्षणसहितको आउनुहुन्छ । त्यही अनुसार हामी खुल्दै गयौँ ।

साउनदेखि नर्सिङ इन्चार्जको जिम्मेवारी सम्हालेकी उनी आजकल प्रायः अस्पतालमै भेटिन्छिन् । सरुवा रोग अस्पताल दोस्रो लहरको कोरोना सुरु हुँदा बिरामी राख्ने गण्डकी प्रदेशकै पहिलो अस्पताल हो ।

जनशक्ति नहुँदा अस्पतालले आइसियु, भेन्टिलेटर चलाउन सकेको छैन ।कोही उपचार गर्दागर्दै पनि ‘प्रोग्रेस रेट’ राम्रो हुँदैन । त्यस्ता बिरामीलाई अरु अस्पतालमा बेड पाइँदैन ।

कोही बिरामी निजी अस्पतालमा खर्च गर्नै नसक्ने हुन्छन् । गम्भीर बिरामीलाई रेफर गर्न पनि बेड नपाउँदा निकै दुःख लाग्ने नम्रता सुनाउँछिन् । ‘कुनैकुनै बिरामीको प्रोग्रेस रेट राम्रो हुँदैन । अनि रिफर गर्न प¥यो भने बेड पाइँदैन,’ उनी गम्भीर मुद्रामा देखिन्छिन्, ‘यो बिरामीलाई पठाउन पाए राम्रो हुन्थ्यो कि भन्ने हुन्छ । काम गर्दागर्दै पनि सुधार नभएपछि एकदम दिक्दार लाग्छ ।’

गम्भीर बिरामीलाई सकेसम्म रेफर गरिनेभएकाले सरुवा रोग अस्पतालमा मृत्युदर न्यून छ । दोस्रो लहरमा सुरुबाटै बिरामीको उपचार थालेको अस्पतालमा ४ जनाले ज्यान गुमाएका छन् ।

पोहोर २६ साउनयता सरुवा रोग अस्पतालमा पाँच सय हाराहारी संक्रमितको उपचार भइसकेको छ । अस्पतालमा बसेर सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना जितिन् ।

उपचार गराएर घर फर्किएका बिरामीको रेस्पोन्सले नम्रतासहितको टिमलाई काममा अझै हौसाएको छ । हप्ता दिन पहिला कोरोना संक्रमित युवक बेड खोज्दै सरुवा रोग अस्पताल पुगे । बेड खाली थिएन, उनी मानेनन् । इमर्जेन्सीमा राखरे रिपोर्ट जाँच गरेपछि भर्ना हुनुपर्ने देखियो । त्यसपछि पोखराकै मेडिप्लस अस्पतालमा उनलाई रेफर गरियो ।

‘यहीँ उपचार गराएर गएको बिरामीको आफन्त हुनुहुँदो रहेछ । बेड नभए पनि यहीँ बस्छु कि बस्छु भनेपछि इमर्जेन्सीमा राखियो । पछि कन्भिन्स गराएर अर्कोमा पठायौँ,’ नम्रताले सुनाइन् ।

बेड खोज्दै अन्य प्रदेशबाट पनि फोन आइरहेको उनले बताइन् । अस्पतालको ५० बेडबाहेक इमर्जेन्सीको ५ बेड पनि संक्रमितले नै भरिएको छ । इमर्जेन्सीमा काम गर्दागर्दै कहिलेकाहीँ शंकास्पद बिरामी आइहाल्छन् । त्यस्तोबेला मास्ककै भरमा बिरामी व्यवस्थापन गर्नुपरेको नम्रताले सुनाइन् ।

‘बिरामी इमर्जेन्सीमा आउँछन् । त्योबेलामा हामी पिपिईमा हुँदैनौँ,’ उनले थपिन्, ‘अनि एउटा मास्कको भरमा म्यानेज गरेका हुन्छौँ । पिपिई लगाउन दौडने कि बिरामी समाउने भन्ने हुन्छ ।’

कोरोना महामारीले नम्रतालाई आफ्नो पेसाप्रति अझ दृढ बनाएको छ । ‘कोरोनाले सिकाकोचाहिँ जोगिएर जोगाउने भन्छौँ । तर, मरेर पनि जोगाउनुपर्ने स्थिति रहेछ यो । महामारीको बेला पछि हट्नु भएन,’ उनले सुनाइन् ।

अहिलेको कोरोना संक्रमण र मृत्युदर हेर्दा अवस्था झनै भयावह हुने नम्रताको आँकलन छ । किनकि अहिले प्राय बिरामी अक्सिजन चाहिने खालका छन् र घरमै बस्न सम्भव छैन । अस्पतालसम्म आइपुग्दा बिरामीको अक्सिजन लेबल ७० प्रतिशतभन्दा कम हुने गरेको उनले सुनाइन् ।

‘अहिले आउने बिरामीलाई एकदम गाह्रो भएको देख्छु । जेजस्तो भए पनि आफ्नो ज्यान जोसुकैलाई पनि अमूल्य हुन्छ,’ नम्रता भन्छिन्, ‘आफूले एउटा ज्यान बचाउन सक्यो भने जीवनमा केही न केही थपिएजस्तो महसुस हुँदो रहेछ ।’

जनशक्ति नहुँदा सरुवा रोग अस्पतालमा १ जना नर्स सातै दिन २४ घन्टा खटिनुपर्ने बाध्यता छ । त्यसपछि कोरोना परीक्षण गराएर रिपोर्ट आएपछि मात्रै घर जान्छन् । कोरोनाविरुद्धको युद्ध मैदानमा रहेकी नम्रतालाई आफूलाई कोरोना लाग्छ भन्ने डर छैन, डर बुढ्यौलीले छोएका बा–आमालाई केही हुन्छ कि भन्ने छ ।

‘आइसोलेसनमा बसेर घर जाँदा चेक गराइन्छ । त्यतिबेला घर जाँदा डर लाग्दैन,’ उनी गम्भीर देखिइन्, ‘तर, इमर्जेन्सीमा बस्दा धेरै घुलमिल हुनुपर्छ । आफूलाई लाग्छ भन्दा पनि परिवारमा पुग्छ कि भन्ने पिर हुन्छ ।’

नम्रताका श्रीमान् पनि डाक्टर हुन् । त्यसैले काममा परिवारबाट उनलाई कुनै रोकतोक छैन । नम्रताकी सासु आमा दम र मुटुको दीर्घरोगी छन् । ससुरा बालाई रक्तचाप र युरिक एसिडको समस्या छ । घर गए पनि उनी आमा–बासँग सकेसम्म नजिक पर्दिनन् ।

जुन भाइरसविरुद्धको लडाइँमा नम्रता होमिएकी छन्, त्यसले अहिलेसम्म उनलाई छुन सकेको छैन । भ्याक्सिन लगाएकाले कोरोनाले छुँदैन कि भन्नेमा नम्रता आशावादी देखिन्छिन् ।

‘२४ घन्टा पोजेटिभसँग सम्पर्क भएपछि कुनै दिन पोजेटिभ आउँछ–आउँछ । जति जोगिन्छु भने पनि गाह्रो छ, मास्कको भरमा हो,’ उनी थप्छिन्, ‘अहिलेसम्म पोजेटिभ भएको छैन । मास्कले हो कि भ्याक्सिनले जोगाएको छ भन्ने लाग्छ । भ्याक्सिनले हो कि !’

प्रदेश सरकारले लायन्स सामुदायिक अस्पताललाई आफू मातहत ल्याएर सरुवा रोग अस्पताल बनाएको थियो । कोरोना संक्रमितकै उपचार गर्नुपरेकाले सामुदायिकबाट सरकारी हुँदा खासै फरकपन महसुस नभएको नम्रताले बताइन् ।

२ वर्ष पहिला तत्कालीन लायन्स सामुदायिक अस्पतालामा काम थालेकी उनी अरु नर्सले जस्तै नर्सिङ व्यावसायिक पेसा बन्न नसकेको गुनासो गर्छिन् ।

‘दुःख गरेर पढेपछि न्यून तलबभन्दा पनि काम किन नगर्ने भन्ने हुन्छ । अनि थोरै पैसामा पनि काम गर्छन् । म भए पनि त्यही गर्थेँ । नर्स धेरै भएपछि प्राइभेट अस्पतालले थोरै पैसा दिएर काम कजाए,’ उनले यथार्थ सुनाइन् ।

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले भत्ता नपाएर धर्ना नै बसे, कति अस्पतालमा सेवा नै रोके ।

प्रदेश सरकारले आफ्नै अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमितको उपचारमा खटिए पनि जोखिम भत्ता दिन सकेको छैन । अस्पतालका कर्मचारी भत्ताकै लागि कामबाट हात उठाउने पक्षमा छैनन् । ‘भत्ता आउला नआउला काम गरिएकै छ, अहिले त आशा पनि छैन,’ भत्ताभन्दा पनि नम्रता जिम्मेवारीप्रति दृढ देखिइन् ।

स्वास्थ्यकर्मी र अस्पतालको सेवालाई लिएर बिरामी र उनीहरुका आफन्त पनि सकरात्मक छन् । ९ दिनदेखि आमालाई सरुवा रोग अस्पतालमा उपचार गराइरहेका एक युवकले सेवासँगै स्वास्थ्यकर्मीको सेवा पनि राम्रो रहेको बताए ।

‘अरु हस्पिटलमा बेड नपाएपछि यहाँ ल्याएको एक हप्ता भयो । औषधी सबै नर्सहरुले ल्याइदिनुहुन्छ,’ ती युवकले भने, ‘जटिल बिरामीलाई सिसी क्यामरा नजिकबाट जतिबेला पनि हेरिराख्नुहुन्छ । यो सिस्टम राम्रो लाग्यो ।’

तपाईको प्रतिक्रिया