बुस्टर नहुँदा अक्सिजन अभाव

समाधान संवाददाता २०७८ जेठ १ गते ९:५६

जोमसोमको प्लान्टले अक्सिजन उत्पादन गर्छ तर भर्ने बुस्टर नहुँदा पालिकाका स्वास्थ्य संस्थामा अभाव छ

एसके थकाली, जोमसोम

मुस्ताङमा मध्यम क्षमताको अक्सिजन प्लान्ट ३ साताअघि सञ्चालनमा आयो । तीर्थालु र अरु पर्यटकको रोजाइमा पर्ने मुस्ताङमका ५ वटै स्थानीय तहका स्वास्थ्य केन्द्रमा अक्सिजन पु¥याउने लक्ष्यसहित प्लान्ट जडान गरिएको थियो ।

Advertisement

प्लान्ट बन्नुअघि अक्सिजन नहुँदा बिरामीलाई अन्यत्र पठाउनु पथ्र्याे । कोरोना भाइरसको दोस्रो लहरसँगै देशैभरीका अस्पतालमा अक्सिजनको चरम समस्या पर्दा पनि मुस्ताङ अस्पतालमा यसको समस्या छैन ।

यसले जटिल प्रकृतिका बिरामीलाई राहत भएको छ । गण्डकी प्रदेशको ५५ लाख लागतबाट प्लान्ट निर्माण गरिएको हो । यसमा प्राविधिक सहयोग अमेरिका नेपाल मेडिकल फाउन्डेसनले गरेको थियो । विदेशी प्राविधिक टोलीले मुस्ताङमै आएर यसको सर्भे गरेको थियो ।

Advertisement

स्थानीय ठाउँमै अक्सिजन उत्पादन हुँदा जिल्ला अस्पतालमा अक्सिजन र अरु स्वास्थ्य चौकीमा समेत उपलब्ध गराउने उद्देश्य राखिएको मेडिकल सुपरिटेन्डेन्ट मनोज घिमिरे बताउँछन् । प्लान्टबाट अस्पतालको बिरामी राख्ने वार्ड र कोभिड आइसोलेसन कक्ष गरी २३ बेडमा पाइपमार्फत अक्सिजन पु¥याइएको छ ।

मुस्ताङ अस्पतालमा अहिले २४ सै घण्टा अक्सिजन सर्कुलर हुन सक्छ । मध्यम प्रकारको अक्सिजन प्लानले २४ घण्टामा ७ सय ५ लिटरसम्म अक्सिजन उत्पादन गर्नसक्ने डा. साजन बरालले जानकारी दिए । अहिले अस्पतालमा ४७ लिटरका ३ थान र १० लिटर अट्ने १६ थान अक्सिजनका खाली सिलिन्डर छन् ।

विभिन्न पालिकाका स्वास्थ्य चौकीमा पनि खाली अक्सिजन सिलिन्डर छन् । अस्पतालले अक्सिजन उत्पादन सुरु गरे पनि बुस्टर नहुँदा सिलिन्डरमा भर्न सकिएको छैन । अस्पतालमा अक्सिजन कम्प्रेसर उपकरणलाई चाहिने बुस्टर नभएकाले सिलिन्डरमा भर्न समस्या परेको डा घिमिरे बताउँछन् ।

अस्पतालको प्लान्टको दैनिक ४७ लिटर क्षमताका १५ थान अक्सिजन सिलिन्डर भर्ने सामथ्र्य छ । डा बरालले सिलिन्डरमा भर्ने बुस्टर खरिदका टेन्डर भइसकेको सुनाए । महामारी बढ्दै गए पनि बुस्टर आउन ढिलो भएको छ ।

जिल्लामा अक्सिजन प्लान्ट भए पनि ५ वटै पालिकाका स्वास्थ्य चौकीमा वितरण हुन सकेको छैन । अस्पतालको प्लान्टका लागि ऊर्जा ब्याक अप नहुँदा नियमित अक्सिजन उत्पादनमा अप्ठ्यारो परेको छ ।

मुस्ताङमा बेला बेलामा बिजुली गइरहने गर्छ । कुनै बेला हाइ र लो भोल्टेजको असरले प्राविधिक समस्या पनि आउने गरेको छ ।

अस्पतालमा बिरामी नहुँदा प्लान्टको अक्सिजन खेर जाने र सिलिन्डरमा भर्ने व्यवस्था नहुँदा कतिपय समयमा उत्पादित अक्सिजन आफैं फ्रिज हुने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया