धरानमा कडा निषेधाज्ञा, सेना परिचालन

समाधान संवाददाता २०७८ जेठ १ गते १४:१६

जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख शहरहरूमा सेना परिचालन गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिको निर्णयअनुसार सेना परिचालन गरिएको हो ।

कोभिड–१९ का संक्रमितको संख्या अत्यधिक बढेपछि १५ जेठसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै सेना परिचालन गरिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतना फैल्याउन सेना परिचालन गरिएको बताए । उनले जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास सेनाले गस्ती गर्ने र कडाइ गर्ने बताए ।

Advertisement

उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका छन् । जिल्ला सुरक्षा समन्वय समितिकै मातहतमा रहेको सेनालाई कारबाहीका लागि भन्दा पनि कोभिड १९ विरुद्ध अभियान चलाउन खटाइएको प्रजिअ ढकालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया