केरलामा कम्युनिस्ट सरकार महामारीविरुद्ध यसरी लड्यो

समाधान संवाददाता २०७८ जेठ १ गते १६:१६

एजेन्सीहरु


पछिल्लो ४० वर्षमा केरलामा यस्तो परम्परा थियो– सत्तारुढ दल पाँच वर्षपछि सत्ताबाट बाहिरिन्थ्यो । त्यहाँका जनताले नयाँ कार्यकालमा विपक्षीहरूलाई सत्तामा ल्याउँथे । अर्कोपल्ट फेरि सत्ताबाट पन्छाउँथे । यसपालिबाट त्यो परम्परा तोडिएको छ । फेरि पिनारायी विजयन मुख्यमन्त्री बनेका छन्, वैशाख दोस्रो साता भएको चुनावबाट ।


खासमा लेफ्ट डेमोक्रेटिक फ्रन्टले के त्यस्तो गर्‍यो र दोहोर्‍याएर सत्तामा पुग्यो ? विश्लेषकहरु भन्छन् ‘विजयन सरकारले जन–कल्याणकारी नीतिहरू र प्रकोप व्यवस्थापनको कौशिलताका कारण जनताको हृदय जित्यो ।’ विजयनले संकटमा राम्रो व्यवस्थापन गरेर जनताको मन जिते । उनले राज्यमा लगातार दुई वर्ष आएको बाढीपछि पनि परिस्थितिलाई सम्हाले र जनताको सहायता गरे । पिश्वव्यापी कोभिड–१९ को महामारीमा पनि उनले केरलामा हालत नियन्त्रणबाहिर जान दिएनन् ।

Advertisement


एकपछि अर्को उदाहरणीय काम गरिरहेका पिनारायी विजयनले प्रत्येक घरमा निःशुल्क रासन उपलब्ध गराए । उनले प्रवासी मजदुरहरूका लागि सामुदायिक भान्साको समेत प्रबन्ध गरेका थिए । प्रवासबाट फर्किएका युवाहरूलाई उचित रोजगारीको व्यवस्था पनि गरे । यस्तै, कोभिड खोप सबैलाई निःशुल्क उपलब्ध गराए । वृद्ध–वृद्धालाई पेन्सनको राम्रो व्यवस्था पनि मिलाए । यही कारण एलडीएफले आफ्नो वर्चस्व कायम राख्न सफल भयो ।


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत महामारी विरुद्ध केरलाले अपनाएको रणनीति र संक्रमण नियन्त्रणका लागि गरेका प्रयासलाई उदाहरणका रुपमा प्रस्तुत गरेको छ । अरु राज्य र देशहरुले केरलाबाट सिक्न सक्ने डब्लुएचओको भनाइ छ ।

Advertisement


कोरोना भाइरस महामारीको दोस्रो लहरले शिथिल बनेको भारतका अधिकांश राज्यमा अवस्था नाजुक छ । स्वास्थ्य सेवाले बिरामीलाई धान्न सकेका छैनन् । आधारभूत औषधि तथा अक्सिजन एवम् अस्पतालहरुमा शड्ढयाको अभाव भइरहेको छ ।


जारी खोप अभियान पनि आपूर्तिमा आएको समस्याका कारण अधिकांश राज्यमा चाहे जस्तो गतिमा चल्न सकेको छैन । तर अपवाद छ केरलाको अवस्था । दक्षिण भारतीय राज्य केरला कोरोना भाइरसको महामारीका कारण प्रभावित हुने मध्ये अग्रस्थानमा आउँछ । र पनि त्यहाँको अवस्था नियन्त्रणमा रहेको स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार केरलामा अहिले सक्रिय संक्रमितको संख्या चार लाख ३९ हजार भन्दा धेरै छ । १६ लाख पाँच हजार भन्दा बढिमा संक्रमण निको भएको छ । राज्यमा कोभिड–१९ बाट हालसम्म ६ हजार १५० जनाको ज्यान गएको छ ।


दोस्रो लहरको संक्रमणले अरु राज्य जस्तै केरला पनि अछुतो छैन । तर भिन्न यो कारणले छ कि त्यहाँ अस्पतालमा शय्या तथा अक्सिजनको अभाव छैन । खोप अभियान पनि तीव्र गतिमा निरन्तर जारी छ ।


सन् २०१९ सम्म मेडिकल अक्सिजनका लागि अधिकांश रुपमा छिमेकी राज्यहरु कर्नाटक र तमिलनाडूमा निर्भर रहेको केरला अहिले आफू निर्यात गर्न सक्ने अवस्थामा छ । हाल केरलामा दैनिक १०० टन भन्दा कम मेडिकल अक्सिजनको माग छ । उत्पादन क्षमता भने २०४ टन प्रतिदिन छ ।


अहिले छिमेकी राज्यहरु कर्नाटक, तमिलनाडूसहितलाई उसले मेडिकल अक्सिजन पठाइरहेको छ । दिल्लीका मूख्यमन्त्री अरवीन्द केजरीवालको आग्रहमा केरलाले दिल्लीलाई पनि मेडिकल अक्सिजन प्रदान गरिरहेको छ । केरलामा अहिले २३ वटा अक्सिजन प्लान्ट छन् ।
अधिकांश प्लान्टहरु पछिल्लो दुई वर्षमा निर्माण गरिएका हुन् । कोरोना भाइरसको संक्रमण सुरु भएयता उसले अक्सिजनको उत्पादन क्षमता ६० प्रतिशतले बढाएको छ ।

केरलामा कोरोना भाइरसको संक्रमण नियन्त्रण प्रयासका लागि राज्य सरकारले आक्रामक रुपमा प्रयास गरिरहेको छ । केरलामा संक्रमणको अलिअलि मात्रै पनि लक्षण देखिएकालाई प्रारम्भिक चरणमै परीक्षण गरिन्छ । उनीहरुलाई स्वास्थ्य सेवा सुरुको चरणमै राम्रो प्रदान गरिँदा अक्सिजनको माग कम भएको छ । यस्तै परीक्षणले सम्भावित संक्रमितको खोजीमा पनि सहयोग गरेको छ ।


केरलाकी स्वास्थ्य मन्त्री के के शैलजाले राज्यमा संक्रमणको अवस्था खराब नै रहेको तर आफूहरु विगतको अनुभवबाट सिकेर पूर्व तयारी गरेका कारण सेवा प्रदान गर्न सफल भएको बताएकी छन् ।


केरलामा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि बिना कुनै अवरोध जारी रहेको स्वास्थ्य मन्त्री शैलजाले बताइन् । केन्द्र सरकारबाट पाएको तथा उत्पादकहरु किनिएको खोप प्रक्रिया पूरा गरेर दिइररहेको उनले बताएकी छन् । केरलामा हालसम्म खोपको ८२ लाख २६ हजार भन्दा बढि मात्रा लगाइएको छ । १९ लाख ६८ हजार भन्दा बढिले खोपको पूर्ण मात्रा लगाएका छन् ।


भारतमा हाल सक्रिय संक्रमितको संख्या ३६ लाख ७४ हजार छ । दुई करोड ४ लाख ३२ हजार भन्दा बढि संक्रमण मुक्त भएका छन् । कोभिड–१९ बाट भारतमा दुई लाख ६६ हजार भन्दा बढिको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया