जसपा विवाद उत्कर्षमा, विज्ञप्तिमार्फत एक–अर्कालाई काउन्टर

समाधान संवाददाता २०७८ जेठ १ गते २०:१४

१ जेठ, काठमाडौं

एउटै पार्टीभित्र दुई दलझैं अभ्यास गर्दै आएको जनता समाजवादी पार्टी जसपाको डा। बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतोबीच शनिबार विज्ञप्ति जुहारी चलेको छ । एकले अर्को पक्षको खण्डन गर्दै विज्ञप्ति निकालेका हुन्, जसले विवादलाई थप मलजल गर्ने नेताहरु बताउँछन् ।

शनिबार बाबुराम–उपेन्द्र पक्षले आफू निकट कार्यकारिणी सदस्यहरुलाई बैठकका लागि पार्टी कार्यालयमा बोलाएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय पुग्दै गर्दा अध्यक्ष महन्थ ठाकुरले जसपाको नाममा विज्ञप्तिको झटारो हाने । कार्यकारिणी समितिको बैठक बोलाएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई प्रष्ट गरिन्छ ।’

Advertisement

बाबुराम–उपेन्द्र पक्ष पनि के कम ? विज्ञप्तिमार्फत नै महन्थ–राजेन्द्र महतो पक्षलाई काउन्टर दिएको छ ।

केन्द्रीय कार्यालयको तर्फबाट कार्यकारिणी सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

Advertisement

संसदीय दल समायोजन नहुनुका साथै विधान पनि नबनेको र पार्टीको अन्तरिम विधानमा संसदीय दलको विधान कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन समेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले उक्त समाचार भ्रमपूर्ण रहेकाले सम्वन्धित सबैलाई जानकारीसहित प्रष्ट पारिन्छ ।’

शुक्रबार मात्र महन्थ–राजेन्द्र पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको बताएको थियो । जबकि संसदीय दलको बैठक भनेर बाबुराम–उपेन्द्र पक्षमा रहेका सांसहरुलाई खबर समेत गरिएको थिएन ।

नेताहरुकाअनुसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिन समयको अन्तिम दिन वैशाख ३० गते महन्थ ठाकुर र राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । देउवालाई सरकार गठनमा साथ दिन सक्दैनौं भनेर आएका दुई नेताले तत्कालीन राजपाको पार्टी कार्यालयमा आफ्नो पक्षमा सांसदहरुलाई भेला गराएका थिए । सरकार गठनका लागि बाबुराम–उपेन्द्र यादवले सांसदहरुलाई प्रभावित पार्न नसकुन् भनेर उनीहरुलाई दिनभर भक्तपुरको एक रिसोर्टमा लगेर राखिएको थियो, जहाँ नेकपा एमाले सांसद महेश बस्नेत पनि पुगेका थिए ।

त्यसको भोलिपल्ट महतोलाई संसदीय दलको नेता चयन गरेको समाचार सार्वजनिक भएको थियो ।

बाबुराम–उपेन्द्र पक्षका एक नेता भन्छन्, ‘बैठक नै बस्नु परे संसदीय दलमा बसे हुनुहुन्थ्यो, महेश बस्नेत बसेर रिसोर्टमा गरेको निर्णयलाई कसरी आधिकारिक भन्ने ?’

तपाईको प्रतिक्रिया