राष्ट्रिय सरकार बनाऊँ भन्न ओलीलाई भेटेको हुँ : बाबुराम भट्टराई

समाधान संवाददाता २०७८ जेठ २ गते ९:५७

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूले प्रधानमन्त्री भइसकेका बाहेक व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भनेको बताएका छन् ।
एमाले नेता महेश बस्नेतले बाबुराम आफैंले केपी ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग मागेको र गत वर्ष संघीय समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भनेर महेश बस्नेतहरुमाथि आरोप लगाउनु राजनीतिक स्टन्टमात्र थियो भनेको कुरा खुलासा गरेपछि भट्टराईको यस्तो प्रष्टीकरण आएको हो ।
यसबारे भट्टराईले आइतबार ट्वीटमार्फत् प्रष्टीकरण दिएका छन् । ‘प्रधानमन्त्रीले दूतमार्फत् बोलेकाले बोल्नैपर्ने भयो– महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली होइन प्रधानमन्त्री ओलीलाई भेटेकै हो ।’
भट्टराईले उक्त भेटमा आफूले प्रधानमन्त्री भइसकेकाबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने बताएकोसमेत उल्लेख गरेका छन् । ‘मैले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ, सोचौं ।’
संविधानको धारा ७६ (५) मा प्रतिनिधि सभामा कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने उल्लेख छ । हालै प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको संसदीय दलका नेताका रूपमा प्रधानमन्त्री नियुक्त भएका छन्, उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया