नेम्वाङ र रावलको संयोजकत्वमा कार्यदल गठन

समाधान संवाददाता २०७८ जेठ २ गते १५:३६

काठमाडौं ।

नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्ता सकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्ताले पार्टी एकताको विषयमा तीन दिनभित्र प्रतिवेदन तयार गर्नेगरी वार्ता समिति गठन गरेको छ।

Advertisement

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरबारमा वार्ता
ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्व र नेपाल पक्षको तर्फबाट भीम रावलको संयोजकत्वमा कार्यदल बनेको वरिष्ठ नेता नेपालले जानकारी दिए। कार्यदलमा दुवै पक्षका पाँचपाँच नेता सहभागी हुनेछन् ।

नेता नेपालका अनुसार दुवै कार्यदललाई एकताको योजनासहितको प्रतिवेदन तयार पार्न तीन दिनको समय दिइएको छ।

Advertisement

शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरुले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए ।

एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ । ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो ।

सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो । आइतबारको बैठक सोही प्रयोजनका लागि मात्र बसेको हो ।

तपाईको प्रतिक्रिया