मदन भण्डारीलाई सम्झनुपर्ने मुख्य ६ कारण

समाधान संवाददाता २०७८ जेठ २ गते १८:३२

धनञ्जय दवाडी

जेठ ३ मदन आश्रित स्मृति दिवस । स्मृति दिवस व्यक्तिले समाजमा दिएको योगदानका आधारमा स्मरण गरिने दिन न हो । नेपालको कम्युनिस्ट आन्दोलनमा निकै श्रद्धाका साथ स्मरण गरिने नाम मदन भण्डारीको हो ।

जेठ ३, उनको स्मृति दिवसमात्र होइन– कम्युनिस्ट पार्टी एकता दिवसका रुपमा पनि स्मरण गरिन्छ । मदन र उनका अनुयायीहरुले पार्टी एकता यही दिन गरेर उनको योगदानलाई चिर स्मरणीय बनाएका थिए । नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनका लागि मदन भण्डारीका अतुलनीय योगदानका कारण आज कम्युनिस्ट पार्टी सरकारमा बसेर नेतृत्व गरिरहेको छ ।

Advertisement

मदनको विचार नभएका भए आज कम्युनिस्ट पार्टी र त्यस पार्टीका नेताले पार्टीलाई खोपाको भीमसेन झैं पूजा गरिरहेका हुने थिए । विश्वभर कम्युनिट पार्टी रक्षात्मक भएका बेलामा पनि पार्टी र आन्दोलनलाई जोगाएर मुलुककै नेतृत्व गर्ने ठाउँमा पुर्‍याउनु मदनको विचारको महत्वपूर्ण योगदान छ ।

छरिएका कम्युनिस्टलाई एकीकृत गर्ने तागत मदनका विचारमा भएका कारणले नै २०७५ जेठ ३ गते पार्टी एकता पुन प्रारम्भ भएको छ । जेट ३ लाई सोही अनुसार बुझ्नु र बुझाउनुपर्दछ । आजको दिनमा मदन भण्डारीलाई उनका कमी र गुणका आधारमा सम्झना गर्नुपर्छ । उनलाई सम्झनुपर्ने मुख्य कारण निम्न हुन सक्छन् ।

Advertisement

पार्टी एकता

नेपालको विभक्त रहेको कम्युनिस्ट पार्टीलाई एकताको सूत्रमा बाँध्न र सो कामलाई वैचारिक नेतृत्व प्रदान गर्ने कुशल नेता हुन् मदन भण्डारी ।

मदनकै अगुवाइमा निर्माण भएको बाममोर्चा नै कालन्तरमा नेकपा एमालेका रुपमा संगठित बन्यो । दासढुंगामा मदनको हत्यापछि शोकलाई शक्तिमा बदल्दै नेकपा एमालेले अल्पमतमा नै भएपनि क्रान्तिपूर्व लोकप्रिय सरकार सञ्चालन गर्‍यो ।

त्यही सरकारका सफलताका आधारमा धेरै कम्युनिस्ट नेता कार्यकर्ताहरु नेकपा एमालेमा समाहित भए । जनयुद्धका माध्यमबाट क्रान्ति गर्ने बाटोमा पुगेका माओवादीहरुपनि शान्ति सम्झौता हुँदै क्रान्तिपूर्व सरकार गठनमा आई पुगे ।

दोस्रो संविधान सभाको पराजयपछिको धरातलीय यथार्थता स्वीकार गरेर पार्टी एकतामा आइपुग्न उनीहरुलाई मदनको विचार जबजले सघाएको छ ।

पुँजीवादका धेरै मोडल भए झैं समाजवादको पनि विविध मोडल हुन सक्छन् र समाजवादी चरणमा पनि दलहरु हुन सक्छन् भन्ने मदनका मान्यता अब सबैका लागि स्वीकार्य भएको छ । नेपालको कम्युनिस्ट आन्दोनलको एकताक लागि वैचारिक नेतृत्वका लागि मदन भण्डारिको सँधै स्मरण भइरहने छ ।

पार्टीको लोकतान्त्रीकरण
विश्व कम्युनिस्ट आन्दोलनमा झैं नेपालको कम्युनिस्ट आन्दोलनमा जडसूत्रवाद र विसर्जनवाद हावी भइरहेकै थियो । नेपाली कम्युनिस्टहरु कहिले उग्रपन्थको र कहिले दक्षिणपन्थको अराजकता रुमलिएर सही गन्तव्य निर्धारण गर्न सकिरहेका थिएनन् ।

१९९० को दशकमा विश्वव्यापी रुपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको थियो । त्यस्तो धक्कालाई अस्थायी धक्का मात्र हो भन्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन गरेकाले मदन भण्डारी स्मरणीय छन् ।

आन्दोलनको असफलताबाट पाठ सिकेर नै मदनले पार्टीको नीति निर्माणमा पार्टी सदस्यहरु समान र सार्वभौम हुने, नीति र नेतृत्व निर्माणमा महाधिवेशनलाई प्रमुख थलो बनाउने विधिले कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्‍यो । पाँचौं महाधिवेशन अघि पार्टीका नीति र विचारहरु जनस्तरमा छलफल गरिएका थिएनन् ।

पार्टीका नीतिहरु जनताले निर्वाचनका माध्यमबाट र नेतृत्व महाधिवेशनमा कार्यकर्ताका माध्यमबाट अनुमोदित बनाउने परिपाटीले पार्टीलाई जनपार्टीमा रुपान्तर गर्यो । यो काम कम्युनिस्ट आन्दोलनमा सर्वथा नवीन सोच थियो ।

पार्टीमा सिर्जनात्मक सोच र आलोचनात्मक चेतका साथ पहलकदमीबाट श्रेष्ठता हाँसिल गर्ने परिपाटीको तय मदनका विचारबाट मात्र सम्भव भएको हो । जडसूत्रवादको विरोध गर्दै माक्र्सवादको सिर्जनात्मक प्रयोगमा जोड दिएर मदनले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गरे । कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गरेकाले मदन भण्डारी स्मरणीय छन् र रहनेछन् ।

कम्युनिस्ट पार्टीको विजय
विभिन्न टुक्रामा विभाजित नेपालका कम्युनिस्ट पार्टीहरुलाई बाममोर्चा बनाउँदै एकताबद्ध बनाउने कामको अगुवाइ र नेतृत्व मदनले नै गरे । सांगठनिक रुपमा मात्र होइन वैचारिक रुपमा पनि एकताबद्ध बनाएकाले नेकपा निरन्तर बिजय यात्रामा छ । मुलत नेपालको राजनीतिक यात्रामा नेकपा एमालेले जितिरहेको छ ।

२०४९ सालमा गरिएको पाँचौं महाधिवेशनले कार्यक्रमका रुपमा र छैटौं महाधिवेशनमा सिध्दान्तका रुपमा स्वीकार गरिएको जवजका कारण समाजका हरेक तह र तप्काका क्षेत्र र समुदायमा पार्टी पुगेको छ । पार्टी जनस्तरसम्म विस्तार भएर जन आधारित भएको छ । पार्टीले विजय प्राप्त गरेर केन्द्रीय तहमा प्रदेश र स्थानीय तहमा कुशलातापूर्वक सरकारको सञ्चालन गरिरहेको छ ।

आफ्ना विचार लिएको ध्येय हिँडेको बाटो जनता र राष्ट्रप्रतिको प्रतिबध्दताका कारण नेपाली जनताको नेतृत्वकर्ता पार्टीको रुपमा स्थापित पार्टी भएको छ ।

विजयी पार्टी भएको छ । लोकतान्त्रिक गणतन्त्रमा कम्युनिस्ट पार्टीको नेतृत्व पहलकदमी र भूमिकाले नै जबजको मजबुत आधार निर्माण भएको छ । नीति, नेतृत्व र संगठनको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर अघि बढ्दा कम्युनिस्ट पार्टी विजयी भइरहने छ । यही विजयको पतकामा मदनको भूमिका देखा पर्दछ ।

मदन भण्डारी

मार्गदर्शनमा मदन
समय परिवर्तनशील छ । सधै परिवर्तित परिस्थितिको विश्लेषण गर्न नेपाली समाजको परिवर्तनको दिशालाई बुझ्न र स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता लाई सुदृढ बनाउन, अन्तर्राष्ट्रिय सम्बन्धहरुको विकास, विस्तार र सुदृढीकरण गर्न र नेपाली समाजलाई सुखी र समृद्ध बनाउन मदनका विचारले मार्गदर्शन गर्दछन् ।

मदनको विचार जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त मात्र होइन यो त वैचारिक, सैद्धान्तिक, साँगठनिक प्रणालीपनि हो । यसैका आधारमा क्रान्तिका चरणहरु र उपचरणहरुमा कार्यक्रम, कार्यनीति, कार्यदिशा तय गर्नुपर्दछ । सिर्जनशील ढंगले अघि बढ्नु पर्दछ ।

जबजका माध्यमबाट नेकपाले निर्माण गरेका पार्टी कमिटीहरु र उसका जनसंगठनहरुका सञ्जालका माध्यमबाट जनवादी क्रान्ति सम्पन्न भएको छ । मदनले २०४७को संविधानका सन्दर्भका राखेका २७ बुँदाहरु नै २०६३ जेठ ४ गते प्रतिनिधि सभाले स्वीकार गरेर गरेको घोषणा नै लोकतान्त्रिक गणतन्त्रको प्रस्थान बिन्दु बनेको छ ।

सशस्त्र संघर्ष नै एक मात्र मुक्ति मार्ग ठान्ने माओवादीहरु बहुदलीय प्रतिस्पर्धा सहितको जनवादको पक्षमा आउनु र उदारवाद नै सर्वस्व ठान्ने नेपाली कांग्रेस लोककल्याणकारी राज्यका अवधारणामा आइपुग्नु जबजको सहीपनको प्रमाण हो । जबजको विजय हो । यसैले नेपाली समाजलाई मदनका विचारले मार्गदर्शन गरिरहेको छ, गरिरहनेछ । यसैले स्मरणीय छन् –मदन भण्डारी ।

नेतृत्व कौशल
मदन विचारका क्षेत्रका मात्र होइनन् कुशल संगठक र प्रभावकारी नेतृत्व कौशल भएका नेता पनि हुन् । असल, सक्षम, निस्वार्थी र प्रभावकारी नेताले नै पार्टीलाई ऊर्जा, प्रभाव र गति प्रदान गर्दछ । नेता इमान्दार, दूरदर्शी र असल भयो भने पार्टी समाज र देशलाई सही दिशा प्रदान गर्दछ । पार्टी र समाज नेतासँगै गोलबन्द हुन्छ ।

समाज र व्यक्तिलाई प्रभाव पार्ने कुरो सामान्य होइन । सामान्य मानिसबाट यो सम्भव पनि हुन्न भइ हाल्दा दीर्घकालीन हुन्न । तर मदनका ओजनदार तर्क र ओजपूर्ण भाषणले आज पनि मानिसलाई प्रभाव परिरहेको छ ।

संकटपूर्ण अवस्थामा पार्टीका कटरपन्थीलाई परास्त गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक आन्दोलनको अभिन्न र अभिभाज्य अंग बनाउने काम मदनको नेतृत्वबाट सम्भव भयो ।

नेपालको विशिष्टतालाई ख्याल नगरी नक्कल गरिएका आधारमा क्रान्ति गर्न सकिन्न र नेतृत्व पनि निर्माण हुन्न भन्ने कुरामा मदन सचेत भएकाले नै उनले मौलिक कार्यक्रम दिन सके ।

यही कार्यक्रमका आधारमा नेपालको कम्युनिष्ट आन्दोलनले नेतृत्व कौशल देखाएको छ । पार्टीको निर्माण विकास र अग्रगतिका र लोकप्रियताका लागि एउटा ऊर्जावान् गतिशील दूरदर्शी योग्य नेताको धेरै महत्वपूर्ण भूमिका हुन्छ । यस्तो नेतृत्व कौशलताका कारण मदन भण्डतरी स्मरणीय छन् ।

लोकतान्त्रिक चरित्र
अहिलेको नेपाली राजनीति एकअर्काको अस्तित्व नै अस्वीकार गर्ने मनोरोगले ग्रस्त छ । तर २०४६ सालको परिवर्तन लगतै अनेकन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर नेतृत्व प्रदान गर्ने क्षमता मदन भण्डारीको लोकतान्त्रिक चरित्रका कारण मात्र सम्भव भएको हो ।

२०४८ सालको निर्वाचनपछि निर्मित संसदमा दलका नेताका रुपमा मनमोहन अधिकारी, उपनेता सिपी मैनालीलाई बनाएर पनि नेता चाहिँ मदन भइरहनुमा उनमा भएको लोकतान्त्रिक चरित्र नै प्रमुख कारण हो । वर्तमानका नेता कार्यकर्ताले उनबाट यो गुण सिक्नु पर्दछ । यसैले मदनलाई सम्झिरहनु पर्दछ ।

भविष्यको यात्रा

नेपालको राजनीति त्यसमा पनि वामपन्थी राजनीति लामो समयसम्म विवादमा रहने छ । मूलत कम्युनिस्ट पार्टीमा देखापरेको पार्टी र सरकारका बीचको सम्बन्धका सवालले अलि समय सम्म बहस गरी रहने छ ।

कम्युनिस्ट पार्टी सरकारमा पुगेपछि संवैधानिक सर्वोच्तामा काम गर्ने कि पार्टी सर्वोच्चतामा भन्ने सवाल उठी रहनेछ । यद्यपि मदन भण्डारीले उहिले नै संवैधानिक सर्वोच्चता स्वीकारी सकेका थिए तर वर्तमानमा पार्टी र सरकारका सम्बन्धमा चलेका बहसलाई व्यक्तिका इच्छा, आवेग, कुण्ठासँग जोड्दा सैद्धान्तिक निरुपण हुन समय लाग्छ ।

स्पष्ट र खुला भइ छलफलहरु प्रारम्भ गर्दा समस्याको समाधान गरी भविष्यको यात्रा तय गर्न सकिन्छ । मदनसँग पनि चुनौतीका पहाड थिए । तिनका सामना गरेर नै उनी जननेता बने ।

जेठ ३ मदनको स्मृतिको दिन मात्र होइन यो पार्टी एकता दिन पनि हो । एकता खलबलिएको छ तर टुटेको छैन । जबजकै प्रकाशमा एकता सम्भव छ । नेपाल कम्युनिस्ट पार्टीले फेरि जित्ने छ । यही सन्दर्भमा जेठ ३ लाई स्मरण गर्नु प्रासांगिक हुनेछ ।

नेकपा एमाले लमजुङ अध्यक्ष धनन्जय दवाडी गण्डकी प्रदेशका सांसद हुन् ।

तपाईको प्रतिक्रिया