भट्टराई र सापकोटाको सक्रियतामा सित्तैमा एम्बुलेन्स सेवा

समाधान संवाददाता २०७८ जेठ २ गते २१:१५

कोरोना सङ्क्रमितलाई सेवा दिने उद्देश्यले पोखराका पर्यटन व्यवसायी गणेश भट्टराई र टीकाराम सापकोटाको सक्रियतामा १ एम्बुलेन्स आइतबारदेखि निःशुल्क सञ्चालनमा आएको छ ।

Advertisement

बालहितकारी परियोजना नेपालको सञ्चालनमा नरहेको एम्बुलेन्स पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई र पर्यटन परिषदका अर्का पूर्व अध्यक्ष टीकाराम सापकोटाको पहलमा मर्मत गरी कोभिड बिरामीको सेवामा लाग्ने गरी सञ्चालनमा आएको हो ।

पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारीमार्फत एम्बुलेन्स चालक रोशन सापकोटालाई चाबी दिएर एम्बुलेन्स सञ्चालनमा आएको हो । महामारीको यो विषम परिस्थितिसँग जुध्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सके नै सहज रूपमा यो परिस्थितिबाट पार पाउन सकिने भएकोले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बताए ।

Advertisement

पोखरा महानगरपालिका र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रशासन सँगको छलफलमा एम्बुलेन्स नपुग भएको जानकारीमा आएपछि अक्सिजन सहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी टिकाराम सापकोटाले जानकारी दिए ।
बाल हितकारी परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीले कोभिड कहरसँग जुध्न बालहितकारी परियोजनाको एम्बुलेन्स प्रयोगमा आउँदा खुसी लागेको सुनाए । उनले भने, ‘यो विश्वव्यापी महामारीमा एम्बुलेन्स, अक्सिजन, भेन्टिलेटरको अभाव भएको देखियो । नागरिक स्तरबाट सघाउन प्रस्ताव आएपछि हामीले साधन प्रदान गरेका हौं ।’

कोरोना कहर सामान्य नभएसम्म कोभिड बिरामीलाई सेवा दिने गरी ६ महिनाका लागि सञ्चालनमा ल्याउन फ्युल, सवारीचालकको तलब, एम्बुलेन्स मर्मत लगायतका लागि आवश्यक ७ लाख रुपैयाँ विभिन्न सहयोगीले उपलब्ध गराएका छन् ।

Advertisement

लामो समय सञ्चालनमा नआएकोले टाटा सुमो एम्बुलेन्स मर्मत गर्न दुई लाख रुपैयाँ लागेको थियो ।

पर्यटन व्यवसायी गणेश भट्टराईले पहिलो चरणमा १ लाख ५६ हजार, टिकाराम सापकोटाले ७५ हजार, रामचन्द्र भट्टराईले ५१ हजार, रेवानका उपाध्यक्ष नरेश भट्टराईले ५१ हजार, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले ५१ हजार रुपैयाँ एम्बुलेन्स सञ्चालनका लागि सहयोग गरेका छन् । विभिन्न संस्था र व्यक्तिबाट सहयोग उपलब्ध गराउने र थप्ने क्रम जारी छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले कोरोना कहर संग जुध्न आआफ्नो स्थानबाट सक्दो सहयोग गरेर योगदान पु¥याउन सबै जुट्नुपर्ने बताए । यो विषम परिस्थिति संग जुध्न परिषदले चीनबाट ४ वटा हाईफ्लोअक्सिजन मसिनसहित स्वास्थ्य सामाग्री ल्याउन कम्पनी संग सम्झौता गरिसकेको उनले बताए ।

पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पोखरा महानगरपालिकाले ३ वटा एम्बुलेन्स सञ्चालनमा ल्याए पनि कोभिड संक्रमित बढ्ने क्रम नरोकीएकोले एम्बुलेन्सले थेग्नै नसकेको अवस्थामा पर्यटन व्यवसायीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएर महत्त्वपूर्ण सहयोग गरेको बताए ।

कसैलाई एम्बुलेन्स चाहिएमा चालक रोशन सापकोटालाई ९८१६१३८७८१ मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया