निको हुनेको पनि बढ्दो छ ग्राफ

समाधान संवाददाता २०७८ जेठ ३ गते ७:१६

गण्डकी प्रदेशमा आइतबार एकैदिन २८ संक्रमितको मृत्यु भएको छ
समाधान संवाददाता, पोखरा

संक्रमण दर उकालो लागिरहँदा गण्डकी प्रदेशमा कोभिडबाट निको हुनेको संख्या पनि बढ्दो छ । प्रदेशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ७६६ छ ।

२८ हजार १ सय ८२ संक्रमित भएको प्रदेशमा सो संख्याका बिरामी निको भएर घर फर्केका छन् ।

गत एक महिनामा मात्रै प्रदेशमा ४ हजार ५६१ जना निको भएर घर फर्केका छन् । १२ हजार ९८१ जना पुरुष र ६ हजार ७८५ जना महिला कोरोनामुक्त भएका हुन् ।

आइतबारमात्रै प्रदेशमा ४३१ जनाले कोरोना जितेका छन् । सबैभन्दा बढी कास्कीका १० हजार ५७९ जना निको भएका छन् । कास्कीपछि बढी कोरोना जित्नेमा नवलपुरका २ हजार ५१५ छन् ।

प्रदेशमा निको हुनेको संख्या बढिरहँदा मृतकको संख्या पनि लगातार बढिरहेको छ । गण्डकीमा कोरोनाले एकैदिन ज्यान जानेको संख्यामा नयाँ रेकर्ड बनेको छ । गण्डकी प्रदेशमा आइतबार एकैदिन २८ संक्रमितको मृत्यु भएको छ ।

यसअघि शुक्रबार २३ संक्रमितले ज्यान गुमाएका थिए ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार कास्कीमा ९, स्याङ्जामा ७, तनहुँमा ३, लमजुङ, बागलुङ र नवलपुरमा २÷२ संक्रमितले ज्यान गुमाएका छन् । मुस्ताङ, म्याग्दी र गोरखामा १÷१ जनाको निधन भएको छ ।

कास्की पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको आइतबार मेडिप्लस अस्पतालमा निधन भएको हो । पोखरा १४ का ८४ वर्षीय पुरुष, काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिला, रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ६० वर्षीय संक्रमित पुरुषको शनबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनमा ३१ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुस्ताङ जिल्ला मुक्तिनाथ १ का ३३ वर्षीय संक्रमित पुरुषको शनिबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनमा २५ वैशाखमा कोरोना संक्रमण देखिएको थियो । कास्की पोखरा ९ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा वालिङ नगरपालिका १३ की ५६ वर्षीय कोरोना संक्रमित महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ । उनमा २४ वैशाख गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ घिरिङ गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

वालिङ नगरपालिका ८ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । पोखरा १५ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

पोखरा १५ का ५६ वर्षीय पुरुष, बागलुङ कालिखोला ५ की ५० वर्षीय महिला, वालिङ नगरपालिका १३ का ५५ वर्षीय पुरुष, वालिङ १ का ४९ वर्षीय महिला, पोखरा १ की ४९ वर्षीया महिला, बागलुङ बडिगाड गाउँपालिका ४ की ५४ वर्षीया महिला, गोरखा पालुङटारकी ६५ वर्षीया महिला, लमजुङ दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको छ ।

यस्तै मृत्यु हुनेमा दाङ तुलसीपुर ६ का ५२ वर्षीय पुरुष, नवलपुर मध्यविन्दू नगरपालिका ५ का ७० वर्षीया संक्रमित महिला, कावासोती ३ की ४३ वर्षीया महिला, बेनी नगरपालिका ४ का ५९ वर्षीय पुरुष, तनहुँ व्यास ४ की महिला, व्यास १३ क्ँ ९१ वर्षीय पुरुष, स्याङ्जा गल्याङ नगरपालिका ४ का ८३ वर्षीय पुरुष, गल्याङ ४ का ८६ वर्षीय पुरुष र अर्जुनचौपारी गाउँपालिका २ की ८० वर्षीया महिला छन् ।

प्रदेशमा मृतकको संख्या ३८३ पुगेको छ ।अहिलेसम्म कास्कीका २ सय जनाले ज्यान गुमाएको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया