मदन भण्डारी र जनताको बहुदलीय जनवाद

समाधान संवाददाता २०७८ जेठ ३ गते १६:००

असान्दर्भिक र असामयिक सोचहरुबाट समाज बदलिन सक्दैन भन्ने दृढ विश्वास मदनमा देखिन्थ्यो


प्रा.डा.भरतराज पहारी


नेपाली राजनीतिमा २०४६ को माघ महिना, समाजमा भुसको आगोझै पञ्चायती व्यवस्थाको विपक्षमा असन्तुष्टि फैलिरहेको थियो । राजनीतिक पार्टीहरु तत्कालीन निरंकुश तथा एकतन्त्रीय राजतन्त्र हटाउन प्रकटरुपमा क्रियाशील भइरहेका थिए । जनआन्दोलन र व्यापक जनदवाव थेग्न नसकेपछि २०४६ चैत २५ गते मध्यरातमा राजा वीरेन्द्रले बहुदलीय व्यवस्था स्वीकारेका थिए । राजनीतिको नयाँ कोर्श सुरु भएको थियो । २०४७ वैशाख ३ गते नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । यो समयमा खास गरी नेपाली कांग्रेस र नेकपा एमाले प्रतिष्पर्धी पार्टीहरु थिए । कांग्रेस पार्टी हरेक क्षेत्रमा हिंस्रकरुपमा प्रस्तुत भइरहेको थियो । उसले विपक्षीहरुलाई थुनछेक तथा दमन गर्दै चरम असहिष्णुता देखाइरहेको थियो । यही राजनीतिक तनावमा नेकपा माले आफ्नो शक्ति आर्जन गर्दै अगाडि बढिरहेको थियो ।

Advertisement


यही समयमा वामपन्थीहरुको एकीकरण प्रक्रिया पनि अगाडि बढेको थियो । यही क्रममा २०४७ पुस २२ गते नेकपा माले र नेकपा मार्क्सवादीबीच एकता सम्पन्न भई नेकपा एमाले बन्यो । देशभर नै नेका र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भएर मिति २०४८ वैशाख २९ गते संसदको पहिलो चुनाव भएको थियो । अनेक राजनीतिक खेलहरु भए । यो निर्वाचनमा पार्टीहरुका प्रमुख नेताहरुलाई संसदमा ल्याउनका लागि पहल गर्ने र त्यसको लागि सहमति गर्ने प्रस्ताव मदन भण्डारीले राख्नु भएको थियो । कांग्रेसमा उसको दम्भको कारणले यो प्रस्तावलाई स्वीकार गरेन । नेकपा एमालेले अभियान सुरु ग¥यो, काठमाडौं क्षेत्र नं १ बाट प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मदन भण्डारीले परास्त गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यो निकै चर्चाको विषय बन्यो ।


विश्व सञ्चार जगतमा नेपालको यो निर्बाचन र कम्युनिस्ट पार्टीको अभुतपूर्व विजयले हलचल मच्चाइ दियो । नेपाली संचार क्षेत्रमा मदन भण्डारीको वैचारिक र संगठानिक क्षमताको व्यापक चर्चा भयो । विश्वमा कम्युनिष्ट पार्टीहरु जनताबाट अलोकप्रिय भइरहेको, पूर्वी युरोप तथा सोभियत संघको समाजवादी सत्ता विघटन भएको र समाजवादी आन्दोलन गम्भीर संकटमा गुज्रिरहेको अवस्थामा नेपालमा नवीन ऊर्जा र विश्वासका साथ जनता वीच कम्युनिष्ट पार्टी लोकप्रिय भइरहेको घटना सबैको चासोको विषय बनिरहेको थियो । नेकपा एमाले चर्चाको शिखरमा थियो । ठिक त्यति बेला मिति २०४८ जेठ १३ गते सोमबारका दिन विश्व सञ्चार जगतमा चर्चित साप्ताहिक पत्रिका न्युजविकमा मदन भण्डारीको अन्तर्वार्ता छापिएको थियो । ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ भन्ने शीर्षकको यो अन्तर्वार्ता निकै चर्चित रह्यो । विश्व कम्युनिस्ट आन्दोलन विसर्जनको बाटो गुज्रिरहेको अवस्थामा ’जडसुत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादलाई सिर्जनात्मक प्रयोग र विकास गरौ‌’ भन्ने नाराका साथ माक्र्सवादको नयाँ भाष्य सिर्जना गर्नुभएका मदन भण्डारीका विचारहरु न्युजविकमा प्रस्तुत भएका थिए । विश्वमञ्चमा कम्युनिस्ट शासन व्यवस्था विसर्जन भइरहेको अवस्थामा नेपालमा कसरी सफलहुन सकिन्छ भन्ने प्रश्नलाई सटिक उत्तर दिनु भएको थियो’ साम्यवादको मुल उद्देश्य भनेको समाजबाट भ्रष्टाचार, शोषण र विभेदको अन्त्य गर्नु हो ।

Advertisement

यो सिद्धान्त लागु गर्न विगतमा गल्ती भएका छन् भने यसको मतलव यो होइन कि साम्यवादको लक्ष्य नै असफल भयो । नेपालको सन्दर्भमा हामी लोकतान्त्रिक विधि र जनताको अभिमतबाट सत्ता हासिल गर्न चाहन्छांै ।’ नेपाली समाजमा विद्यमान विभेदको अन्त्य गर्न र सामाजिक न्याय स्थापना गर्न नया आसा र विश्वास सिर्जना गर्नुभयो भने विश्व सामु माक्र्सवाद केवल जडसूत्र होइन, यो हेपिएकाहरुको मुक्तिको जीवन्त सिद्धान्त भएको र यसलाई विज्ञानसम्मत विधिबाट प्रयोग र विकास गर्नुपर्छ भन्दै नया भाष्य तयार गर्नुभयो । मदन भण्डारी उहाँका विचारहरु, व्यवहारहरु र संगठन क्षमताबाट लोकप्रिय, कुशल संगठक र वैचारिक नेताको रुपमा स्थापित हुनु भयो ।


२.नेपालमा वामपन्थी नेताहरु समेत आफ्ना अतृप्त महत्वाकांक्षा पुरागर्न तथा आफ्ना तुष्टिहरु पुरा गर्न पार्टी विघटन गर्ने तहसम्मको सत्ता संघर्ष गरिरहेको अवस्था र विश्व राजनीतिमा जातीयता, क्षेत्रीयता, धार्मिक उन्माद, अन्धराष्ट्रवाद, आदि हावी भइरहेको अवस्थामा समाज रुपान्तरणको निम्ति मदन भण्डारीले अगाडि सार्नु भएका विचारहरु तथा देखाउनु भएको राष्ट्र निर्माणको बाटो स्मरणीय छ । मानवीय चेतनाले हरेक कालखण्डमा सुखमय जीवनको कामना गर्ने गरेको भएता पनि त्यसलाई समाजमा स्थापित र नेतृत्व गर्ने मामलामा समस्या भइरहेको र अन्तत्वगत्वा हिंसक द्वन्द्व भइरहेको अहिलेको अवस्था हो । संसारका प्रायः सबै देशहरुमा पार्टीहरु संचालन तथा राज्यसत्ता संचालनमा वस्तुनिष्ट विधि र प्रक्रियामा नेतृत्व संवेदनशील नभइदिँदा पार्टी र सरकारमा सत्तासंघर्ष हुने गरेका दृष्टान्तहरु छन् । यसक्रममा पार्टीहरु विसर्जनको बिन्दुमा पुग्ने गरेका छन् ।


सरकारहरु अस्थिर हुने र अराजकता र अन्योलताहरुको सिलसिला जारी हुदै गृहयुद्धको अवस्थामा देश पुग्ने गरेका छन् । पृथ्वीको आफ्नै अवस्थिति र संरचनाको कारणले प्राकृतिक बिपदहरु सृजना हुने गरेका र तिनिहरुको न्यूनीकरण तथा नियन्त्रण गर्न विज्ञान सम्मत विधिहरु तथा प्रक्रियाहरु विकास भइरहेका छन् । हरेक संकटहरुलाई सम्बोधन गर्न र मानव सभ्यतालाई संरक्षण र विकास गर्न प्रविधिले नयाँ उचाइ प्राप्त गरिरहेको छ । प्रकृतिको विशिष्ट अवस्थाको अनुकुलनमा मानव सभ्यताको उद्गम र विकास भएको र सोही अनुसार मानिसको चेतनाको विकास भएको समाजशास्त्रीहरु बताउँछन् । प्रकृति र जगत विज्ञानका नियमहरुबाट संचालित छन् । तर, समाज स्थापना, विकास र सञ्चालनमा निरन्तर विग्रह किन भइरहेको छ ? के विज्ञानका नियमहरु राजनीति, सामाजिक सम्बन्ध, र सास्कृतिक सम्बन्धहरुमा लागु हुन सक्दैनन् ? के विज्ञानका नियमहरुले समाजमा विद्यमान अराजकता, हिंसा र बिग्रहलाई सहिष्णुता, शान्ति र सिर्जनाको लहमा दिशाबोध गर्न सक्दैन ? यी गम्भीर प्रश्नहरुको उत्तर खोज्न मदन भण्डारी निरन्तर अध्ययनमा लागे ।


३. मानवको आलोचनात्मक चेत, सिर्जना र नवप्रवर्तनले सभ्यतालाई यहाँसम्म ल्याई पु¥याएको हो । अन्य जीवहरुले भोक, त्रास र सुरक्षामा सिमित रहँदै जीवन चक्र पूरा गर्छन् । तर, मानिस भने भोक, त्रास र सुरक्षाका बाहेक स्वरुप, संरचना, सार र पद्धतिमा परिवर्तन गर्न प्रयत्नशील भइरह्यो । इतिहासका विभिन्न कालखण्डहरुमा जीवनलाई सहज, सरल र सुखमय बनाउन र आफ्ना आवश्यकताका वस्तु र सेवाको स्वरुप, संरचना, सार र पद्धतिमा परिवर्तन गर्न मानिस प्रयत्नशील भइरह्यो । यही क्रममा स्रोतहरु माथि नियन्त्रण संकलन र संरक्षण गर्न शक्ति संघर्ष भइरहे, हिंसक युद्धहरु भए, दमन र आतंकहरु भए, निरंकुश शासन व्यवस्थाहरु स्थापित हुँदै गए । समयक्रममा नियन्त्रण, दमन र विभेदका विरुद्ध आवाजहरु उठन थाले, स्वतन्त्रताको खोजी हुन थाल्यो, न्यायको खोजी हुन थाल्यो ।

विभिन्न चरणहरुमा सुखमय जीवन प्राप्तिका विकल्पहरु तथा सिद्धान्तहरु लेखिए । दास युगमा स्वतन्त्रता नै मुक्तिको आधार हो भनियो । औद्योगिक युगमा खुला बजार र निजी सम्पत्तिको अधिकारलाई लोकतन्त्रको रुपमा परिभाषित गरियो । विभेदबाट मुक्ति स्वतन्त्रताबाट मात्र नहुने रहेछ । खुला बजार र सम्पत्तिको अधिकारले विभेदका रुपहरु मात्र बदलिने रहेछन् । मानिसहरु पीडामा नै बाँच्नु पर्ने रहेछ । शक्तिकेन्द्रमा रहेकाहरुलाई मात्र कानुनले संरक्षण गर्ने रहेछ । समाजमा अराजकता हुने रहेछ । यसलाई मध्यनजर गरी कार्ल माक्र्सले समाजमा विद्यमान विभेदहरुको व्याख्या गरे, तिनीहरुका कारणहरु पहिचान गरे, सुखमय समाज निर्माणको निम्ति स्वतन्त्रता मात्र होइन, न्यायको कुरा समेत गरे । विश्वभर स्वाधिनता र न्यायको निम्ति संघर्षहरु भइरहे, युद्धहरु भइरहे, कतै संघर्षहरु सफल भए, कतै हराएर गए । समयक्रममा संघर्षका स्वरुपहरु बदलिँदै गए अग्रगामी परिवर्तनका अनुभवहरु माथि समीक्षाहरु भइरहे । राजनीति र समाज व्यवस्थाको मनोगत व्याख्या भइरह्यो । संघर्षका यी विविध रुपहरुले सार्वभौम स्वरुप प्राप्त गरेनन् ।


मदन भण्डारीले आफ्नो गहन अध्ययनको निष्कर्षको रुपमा स्वाधीनता र न्याय प्राप्तिको नवीन विधि परिभाषित गरे, शासकीय स्वरुप र पध्दतिको सुविचारित व्याख्या गरे, सभ्यता विकासकोक्रममा प्राप्त भएका वस्तुनिष्ट विधि र पद्धतिहरुलाई आत्मसात गरे । प्रकृतिको नियम प्रतिस्पर्धामा आधारित छ । बहुलता प्रकृतिको सार हो । प्रकृतिका हरेक घटनाहरु तथ्यमा आधारित छन् । विज्ञानका यी नियमहरु राजनीति र सामाजिक व्यवस्थामा पनि लागु हुन्छन् । अमूर्त, मनोगत र नियतवस गरिने कामहरु क्षणभंगुर हुन्छन्, विग्रह सिर्जना गर्छन्, समाजले अग्रगति प्राप्त गर्दैन, जीवन सुखमय हुन सक्दैन । प्रतिस्पर्धाले छनोट गर्छ, पहलकदमीले क्षमता प्रकट गर्दछ । मदन भण्डारीको यो व्याख्याले न्यायपूर्ण संघर्षहरुको दिशा बदलियो । समाज रुपान्तरणका लागि तथा समृद्धि र सुखी जीवनका लागि सुस्पष्ट विचार, जिवन्त संगठन, गतिशील नेतृत्व अनिवार्य हुन्छ । यसको अभावमा समाज अराजक, निरंकुश र विभेदपूर्ण हुने गर्छ । यो कुरालाई आत्मसात गर्दै मदनले स्थापित गरेको विचार संगठन र नेतृत्वबाट नेकपा एमाले प्रतिस्पर्धा र पहलकदमीबाट जनतामा अनुमोदित हुँदै गयो, सिद्धान्त र संगठनलाई स्थापित गर्दै गयो, लोकतान्त्रित विधि र पद्धतिहरु स्थापित हुँदै गए । न्याय समानता र स्वाधिनताका संघर्षहरु शान्तिपूर्ण आन्दोलनकोरुपमा जीवन्त हुन थाले । बहुलता र बहुदलीय प्रतिस्पर्धालाई पार्टीले आत्मसात गर्‍यो । मार्क्सवाद समृद्ध बन्यो ।


४. मदन भण्डारी माक्र्सवादी सिद्धान्तलाई सिर्जनात्मक प्रयोग गर्ने गतिशील र महत्वाकांक्षी नेता हुन् । उनले समाजवादमा पुग्नु अगाडिको समाजको व्याख्या गरे । त्यो समाजलाई रुपान्तरण गर्न विधि पध्दति र कार्यक्रम परिभाषित गरे । समाजमा विद्यमान विभेदको अन्त्य गरि समाजवाद स्थापनाको विधि र पद्धतिको व्यवाख्या गरी माक्र्सवादको आधुनिक भाष्य तयार गरे । समतामुलन र न्यायपूर्ण समाज स्थापना र विकासका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ सिद्धान्त प्रतिपादन गरे । लोकतन्त्रलाई समृद्ध बनाउन सभ्यता विकासकोक्रममा प्राप्त भएका उपलब्धिहरुलाई १४ वटा विशेषताहरुको रुपमा परिभाषित गर्दै जबजको अभिन्न अंगको रुपमा स्थापित गरे । यी विशेषताहरु निम्नानुसार छन्ः

  • कानूनको शासन,
  • जनताको जनवादी व्यवस्थाको सुदृढीकरण,
  • विदेशी पुँजी र प्रविधि,
  • क्षतिपूर्ति (जमिन्दारलाई),
  • विदेश नीति ( देशको लाभ–हानीमा आधारित),
  • नेतृत्व र अधिनायकत्व ( जनताको अधिनायकत्व)
  • विधानको सर्वोच्चता,
  • बहुलवादी खुल्ला समाज,
  • शक्ति पृथक्कीकरणको सिद्धान्त,
  • मानवअधिकारको रक्षा,
  • बहुदलीय प्रतिस्पर्धाको प्रणाली,
  • आवधिक निर्वाचन,

बहुमतको सरकार र अल्पमतको विपक्ष

जनताको बहुदलीय जनवाद (क्रान्तिको कार्यक्रम

मानवीय चाहनालाई पूर्वीय चिन्तकहरुले ‘सर्वे भवन्तु सुखिन, सर्वे भवन्तु निरामया’ भनेकै हुन । सिध्दान्त प्रतिपादन गरेकै हुन । तर, त्यसको प्रयोगमा दिशाहीनता र जडता रह्यो । गहन ग्रन्थहरु–रामायण, महाभारत, पुराणहरु आदि बने । तिनले तत्कालिन समाजको व्याख्या गरे, दासत्वलाई स्थापित गरे र विभेदहरुको अन्त्यको लागि वस्तुनिष्ठ विकल्पहरु दिएनन् । उनिहरुले व्यक्तिको आत्माको मुक्तिको अमुर्त कुरा गरिरहे । मानव समाजलाई समावेशी, सहिष्णु, सहभागितामुलक, स्वाधीन, न्यायपूर्ण, समृध्द, विभेदरहित बनाउने हो भने जबजका यो विशेषताहरु स्थापित गर्नु पर्दछ । समाजमा वर्गहरु रहन्जेलसम्म विभेदहरु विद्यमान हुने हुदा जबजको सार्थकता जीवन्त रहने छ ।


मदन भण्डारीले जबजको व्याख्या गर्दै भनेका छन्– प्रकृतिमा रहेको द्वन्दको सार्वभौम नियम राजनीतिमा पनि लागु हुन्छ । प्रकृतिमा विविधता भए जस्तै समाजमा बहुलता हुन्छ । यो सवभाविक र प्रकृति संगत कुरा हो । त्यसैले प्रत्येक व्यक्तिलाई सोच्ने, बोल्ने र मनका अनुभूतिहरु अभिव्यक्त गर्ने स्वतन्त्रता हुनु पर्दछ । अन्तरविरोधहरुका देखिने र नदेखिने पक्षहरु हुन्छन् । कुनै पनि वस्तुको आधारभूत चरित्र नदेहिने पक्षहो,सार हो । परिस्थिति अनुसार देखिने पक्ष बदलिरहन्छ । परिवर्तन एउटा अनिवार्य वस्तुगत प्रक्रिया हो । मनोगत आग्रहले परिवर्तनको गतिलाई बढाउने मात्र हो । समाजका विभिन्न तत्वहरुको उद्गम र विकास नभइकन मनले सोचेको आधारमा परिवर्तन हुन सक्दैन । नेतृत्व सधै निरंकुश हुँदैन, यो उसको चरित्रमा निर्भर रहन्छ ।


मानव सभ्यता विकासको क्रममा सिद्धान्तको कुरा धेरैले गरे, मुख्य कुरा समाज बदल्ने कुरा हो । ‘कुराले चिउरा भिज्दैन’ भन्ने उखान झै सिद्धान्तहरु सूत्र र मन्त्रकोरुपमा मात्र जप्दा यथास्थिति बदलिँदैन । यी सिध्दान्तहरु व्यवहारमा लागु गर्नुगर्छ । असान्दर्भिक र असामयिक सोचहरुबाट समाज बदलिन सक्दैन भन्ने दृढ विश्वास मदनमा देखिन्थ्यो ।


५.प्रकृतिका नियमहरु प्रयोगशालामा अध्ययनका सिध्दान्तहरु मात्र होइनन्, यीनिहरु राजनीतिक र समाजिक व्यवस्थामा आधारहरु पनि हुन् । प्रकृतिको नियम प्रतिस्पर्धामा आधारित छ । प्रकृतिका हरेक घटनाहरु तथ्यमा आधारित छन् । प्रतिस्पर्धाले छनोट गर्छ, पहलकदमीले क्षमता प्रकट गर्दछ । मानव सभ्यता विकासको क्रममा स्वाधिनता र न्याय प्राप्तिका लोकतान्त्रिक विधि तथा पद्धतिहरु स्थापित भएका छन् । प्रकृतिको नियम तथा लोकतान्त्रिक विधि र पद्धतिहरु पार्टी सञ्चालन तथा शासनसत्ता सञ्चालनमा समेत लागु हुनु पर्दछ । तव मात्र समानता र न्याय समाजमा स्थापित हुनेछ ।


पार्टीको विचार सबै तहका नेता तथा कार्यकर्ताहरु बीच छलफल तथा मन्थन गरी तय गर्नुपर्दछ । संगठन तथा नेतृत्वहरु सम्बन्धित तहका प्रतिनिधहरु भएको अधिवेशनबाट र केन्द्रिय नेतृत्व केन्द्रीय महाधिवेशनबाट प्रतिस्पर्धाको विधिबाट छनोट गरिनुपर्दछ । विशेष अवस्थामा, त्यतिबेला निर्धारण गरिएको विधि अनुसार संगठन संचालन गर्नु पर्दछ ।


राज्यसत्ता सञ्चालनको विधि पनि विज्ञान सम्मत हुनुपर्दछ । पार्टी सञ्चालन गरेझै निरपेक्ष ढंगले निर्वाचित पार्टीले सरकार चलाउँदा सत्तामा रहेको पार्टी नेताहरुका स्वार्थका कारणले बिग्रहमा जाने, विपक्षी पार्टीहरु दमित हुने र समाजमा विभेदहरु विकास हुँदै जाने अवस्था सिर्जना हुने र यसबाट सामाजिक बिग्रह पैदा हुन सक्छ । सरकारलाई निर्वाचित पार्टीले परोक्ष नियन्त्रण गर्ने हो । संसदीय दललाई सरकार सञ्चालन गर्न स्वायत्तता दिनुपर्दछ । लोकतन्त्र भनेको पार्टी र शासनसत्ता सञ्चालन गर्ने विधि मात्र होइन, यो दैनिक जीवन पद्धति पनि हो । पार्टी र शासनसत्तालाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने कि नगर्ने भन्ने कुरा गम्भीर विषय हो । मदन भण्डारीका यी कालजयी विचारहरुलाई आत्मसात गर्दै राजनीतिक पार्टीहरु तथा राज्यसत्ता सञ्चालन गरेको खण्डमा नेपाली समाजले अग्रगति प्राप्त गर्नेछ । मुलुकले समृद्धि प्राप्त गर्नेछ र जनताको जीवन सुखमय हुनेछ ।

तपाईको प्रतिक्रिया