मुस्ताङको लोमान्थाङमा एकहप्ता निषेधाज्ञा, अटेर एक हजार रुपैयाँ जरिवाना

समाधान संवाददाता २०७८ जेठ ३ गते २२:५१

एसके थकाली, जोमसोम

कोरोनाको भाइरसको संक्रमण जोखिम नियन्त्रण तथा न्युनिकरण गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिकाले आइतबारदेखि निषेधाज्ञा लगाएको छ ।

गाउँपालिका कार्यालय र स्थानीय सरोकारवाला निकायबीच आइतबार भएको बैठकमा निषेधाज्ञा कडाई गर्नका ८ बुँदे निर्णय गरिएको हो ।

Advertisement

उपल्लो मुस्ताङको प्रमुख पर्यटकीय सहर लोमान्थाङमा कोरोना जोखिम निम्तन सक्ने भन्दै जेठ ९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा खाद्यान्न लगायत अत्यावश्यक सेवा बिहान ८ बजे देखि १० बजेसम्म खुल्न दिने र अरु सेवा पूर्ण रुपमा बन्द गर्नुपर्ने छ ।

त्यस्तै होटल तथा रेष्टुरेन्टमा मादक पदार्थ बिक्री वितरण र जुवातास खेल्न÷खेलाउन नपाइने गाउँपालिकाले जनाएको छ । निषेधाज्ञाको अटेरी गरि कुनै गतिविधि गरेमा एकपटकमा एक हजार जरिवाना लगाउने निर्णय भएको निमित्त प्रमुख प्रसासकीय अधिकृत सुरेश घिमिरेले जानकारी दिए ।

Advertisement

लोमान्थाङ बजारको गुम्बा बाहिर हिँडडुल गर्न नपाइने, माने घुमाउन नपाइने, अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने छ । मास्क नलगाई बाहिर निस्किएमा एक सय रुपैयाँ जरिवाना तिर्नुपर्ने र अन्य पालिका तथा जिल्लाबाट कोही नयाँ व्यक्ति आएमा ९ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम लगाइएको छ ।

लोमान्थाङ गाउँपालिकाले ५ वडा तथा पालिकाको कार्यालय सेवा अत्यावश्यकबाहेक सबै बन्द गरेको छ । विकास निर्माणको कामलाई भने रोकतोक छैन । विकासको काम गर्दा निर्माणस्थल आसपास निर्माण जनशक्ति, उपकण र ढुवानी व्यवस्थित गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया