दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस

समाधान संवाददाता २०७८ जेठ ६ गते ७:३७

दमाैली रासस ।

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस गरिएको छ । व्यास र म्याग्देका दुई कोरोना सङ्क्रमित मिर्गौला पीडितको दोस्रो पटक डायलासिस गरिएको हो । दुवै मिर्गौला पीडितले विगतदेखि नै यहीँ डायलासिस गराउँदै आएका थिए ।

कोरोना सङ्क्रमित भएपछि व्यासका मिर्गौला पीडितले गत शुक्रबार र म्याग्देका मिर्गौला पीडितले आइतबार पहिलो पटक डायलासिस गराएका थिए । दुवैजनाको बुधबार राति दोस्रो पटक डायलासिस गरिएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । “अरु सबैको डायलासिस सकिएपछि उहाँहरुलाई छुट्टै राखेर डायलासिस गराइएको छ”, पण्डितले भन्नुभयो ।

Advertisement

कोरोना सङ्क्रमित दुवै पुरुषको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरुको हाल दमौली अस्पतालको कोभिड कक्षमा उपचार भइरहेको छ । केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् ।

विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया