जसले क्यान्सर जितेर पनि कोरोनासँग हारे

समाधान संवाददाता २०७८ जेठ ८ गते ११:५९

सम्झौता अनुसार समयमै काम पूरा गर्ने छवि थियो निर्माण व्यवसायी गजिन्द्रप्रकाश मल्लको


समाधान संवाददाता, पोखरा

बेलामा काम पूरा गर्ने र भरपर्दाे काम गर्ने छवि बनाएका निर्माण व्यवसायी थिए उनी । स्याङ्जा जिल्लाकै अग्रणी निर्माण व्यवसायी पनि । व्यवसायी हुँदा हुँदै पनि प्रजातन्त्रका प्रखर पक्षधर । पञ्चायती व्यवस्थाका विरुद्ध सधै डटेर लागेका । पटकपटक जेल परेका ।

Advertisement

पञ्चायतकालमा कांग्रेसको संगठन विस्तारमा लागे, प्रजातन्त्र आएपछि व्यवसाय र राजनीतिलाई सँगै सँगै लगे । निर्माण व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष भए । कांग्रेस पार्टीको जिल्ला कोषाध्यक्ष र महासमिति सदस्यसम्म ।

स्याङ्जाको सेखाम गाउँविकास समितिमा जन्मिहुर्केर निर्माण व्यवसायमा स्वच्छ छवि बनाएका गजिन्द्रप्रकाश मल्ल ७० वर्ष पुग्दा नपुग्दै क्यान्सरका बिरामी परेका थिए । उपचार र उच्च मनोबलका कारण क्यान्सरलाई पराजित गर्न सफल भए । तर, ७४ वर्षको उमेरमा आइपुग्दा केही साताअघिमात्रै कोभिड १९ संक्रमण भयो, जसलाई उनले पराजित गर्न सकेनन् । ४ जेठमा उनको निधन भयो ।

Advertisement

पोखराको गण्डकी मेडिकल कलेजको आइसियुमा उपचार हुँदाहुँदै निधन भएका उनको केही समयअघि प्रोटेस्टको उपचार भएको थियो । उक्त उपचार पनि सफल भएको थियो । तर, केही साताअघिमात्रै कोभिड संक्रमण भयो र त्यसैले उनको ज्यान लग्यो ।

जिल्ला विकास समिति स्याङ्जाको २ पटकसम्म सदस्य निर्वाचित मल्लको परिवार साविक सेखाम गाविससमेत समेटेर बनेको चापाकोट नगरपालिकाबाट २०४६ सालपछि पुतलीबजार नगरपालिका बसाइ आएको थियो । मल्लका श्रीमती, ३ छोरा, एक छोरी छन् । एकजना छोरा भागवत प्रकाश मल्ल गण्डकी प्रदेश सांसद हुन् ।

मल्लको निधनप्रति उनको पार्टी नेपाली कांग्रेससँगसँगै स्याङ्जा विभिन्न संघसंस्थाले गहिरो दुख प्रकट गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ मल्लको निधनले आफूलाई मर्माहत बनाएको उल्लेख गरे । ‘मल्लले कांग्रेसको संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो,’ देउवाले भनेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको छ ।’

तपाईको प्रतिक्रिया