देउवाकाे पहिलाे औपचारिक अभिव्यक्तिः राष्ट्रपतिले मलाई प्रधानमन्त्री नियुक्त गर्नु पर्दथ्याे

समाधान संवाददाता २०७८ जेठ ८ गते १३:५९

समाधान संवाददाता, काठकाण्डाैं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकसित राजनीतिक घटनाक्रम बारेमा पहिलाे पटक औपचारिक र लिखित प्रतिक्रिया दिएका छन् । उनले प्रेस विज्ञप्ति नै जारी गरेर राष्ट्रपतिकाे कदमका बारेमा आपत्ति जनाएका छन् ।

देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएउदै त्यसअनुरुप राष्ट्रपतिले आफूलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

Advertisement

देउवाले भनेका छन्, ‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो ।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको देउवाले बताएका छन् ।

Advertisement

‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्,’ देउवाको विज्ञप्तिमा भनिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने देउवाले बताएका छन् ।




कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेकाे विज्ञप्ति

तपाईको प्रतिक्रिया