कोरोना मृतकका परिवारलाई नगरपालिकाको १० हजार

समाधान संवाददाता २०७८ जेठ ८ गते १४:०७

समाधान संवाददाता, दमौली

तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही १० हजार उपलब्ध गराउने निर्णय गरेको हो । सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कोभिड–१९ संक्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रपाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए । नगरपालिकामा हालसम्म ६१६ जनाको पिसिआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ संक्रमित भएका छन् ।

त्यसमध्ये १० जनाको मृत्यु भएको छ । त्यस्तै ५९ सङ्क्रमणमुक्त भएका छन् । दुई सय २२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होमआइसोलेशनमा उपचार भइरहेको छ । साथै १८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

Advertisement

सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धताअनुसार व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पिसिआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ । उक्त भवनमा खरिद ऐनअनुसार खरिद एवं निर्माण प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।

आगामी वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्यका लागि आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ । कर्मचारीलाई प्रोत्साहन भत्ता नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरी भत्ता उपलब्ध गराउने भएको छ ।

Advertisement

शुरु तलब स्केलमा २५ देखि १०० प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ । नगरपालिकाले विपद्जन्य प्रतिकार्य योजना तयार पार्ने र गत वर्ष बाढीपहिराले घर भत्किएका ७७ घरपरिवारलाई राहत दिने सम्बन्धमा संघीय सरकारको निर्देशिकाबमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रक्रियाबारेमा सम्बन्धित निकायमा समन्वय गरी अगाडि बढाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया