कोरोना जित्दै मुस्ताङी

समाधान संवाददाता २०७८ जेठ ८ गते २१:२९

सुन्दर थकाली

Advertisement

जोमसोम

हिमाली जिल्ला मुस्ताङमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै जान थालेको छ। कोरोनाको दोश्रो भेरियन्ट जिल्लामा भित्रिएसँगै अप्रत्याशित रुपमा ह्वात्तै बढेको कोरोना संक्रमितको अनुमात क्रमशः न्यूनिकरण हुँदै जान थालेको छ।

गत वैशाख १५ गतेदेखि यता देखा परेको कोरोनाको दोश्रो लहर पछिल्लो समय कम हुँदै गइरहेको जिल्ला स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ।

कार्यालयका अनुसार मुस्ताङमा पछिल्लो तीन सातामा ४४ जना व्यक्ति संक्रमण मुक्त भएका छन्। मुस्ताङमा शुक्रबारसम्म कुल संक्रमितको सख्या १ सय ८८ पुगे पनि हाल संक्रिय कोरोना संक्रमितको संख्या भने १ सय ४४ मा झरेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए।

Advertisement

मुस्ताङ जिल्लामा सबैभन्दा कोरोना संक्रमित वारागुङ मुक्तिक्षेत्र गापामा र सबैभन्दा कम लोमान्थाङमा रहेका छन्। तर उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापामा संक्रमित देखा परेका छैनन्। जिल्ला स्वास्थ्य कार्यालयको रेकर्ड अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा ९४ संक्रमितमध्ये १० जना, घरपझोङमा ५४ संक्रमितमध्ये ३२ जना र थासाङमा ३२ संक्रमितमा २ जना व्यक्ति संक्रमण मुक्त भएका छन्। लोमान्थाङमा ढिलो परीक्षण गरिएकाले १० संक्रमितमध्ये निको हुनेको संख्या सून्य छ।

स्वास्थ्य कार्यालयका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आएका व्यक्तिमध्ये १ सय ७ जना होम आइसोलेसनमा छन् भने अन्य जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेसनमा छन्। मुस्ताङमा पछिल्लो दुई सातामा २१ जना कोरोना संक्रमित बिरामीलाई हेलिकप्टरमार्फत उपचारका लागि पोखरा पुगेका छन् भने ४ जना सक्रमितको मृत्यु भइसकेको छ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा वैशाख ११ गतेबाट मुक्तिनाथ मन्दिरसहित अन्य धार्मिक मठमन्दिर÷गुम्बा र चर्चमा नित्यकर्मबाहेकका गतिविधि निषेध गरिएको र वैशाख ३१ गतेबाट निषेधाज्ञा लगाइएकाले कोरोना संक्रमणको अनुमात कम हुँदै गइरहेको स्थानीय प्रशासनले जनाएको छ। कोरोनाको दोश्रो लहरसँगै बढेको जोखिमका कारण मुस्ताङका अधिकाश गाउँहरुमा बन्दबन्दी गरिएको छ। मुखिया प्रथा रहेको मुस्ताङमा एक गाउँबाट अर्को गाउँमा अटेर गरी घरबाट निस्किएमा जरिवानासमेत तोकिएको छ।

कोरोना जोखिम तथा लकडाउनका कारण मुस्ताङको प्रमुख पर्यटकी स्थल जोमसोम ,कागबेनी र मुक्तिनाथ क्षेत्रका होटल तथा रेष्टुरेन्ट सुनसान छन्। स्थानीय समेत कोरोना सर्ने डरले घरबाहिर निस्कन सकेका छैनन्।

तपाईको प्रतिक्रिया