स्वास्थ्यमन्त्रीसँग रामपुरका मेयरको मागः विकास बजेट काटेर खोप किन्छौं, अनुमति चाहियो

समाधान संवाददाता २०७८ जेठ ९ गते १८:२५

५० हजार डोज खोप किन्न स्वास्थ्यमन्त्री त्रिपाठीलाई निवेदन


अमृत सुवेदी
पाल्पाको रामपुर नगरपालिकामा अहिले ४२ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५ जना गम्भीर विरामीको अहिले प्रादेशिकस्तरको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

नगरपालिकामा रामपुरमा २० बेड, वडा नम्बर १, ९ र १० मा ५-५ बेडको आइसोलेसन तयार पारेको छ । धेरै कोभिडका बिरामीको चाप भइरहेको र संक्रमण फैलिइरहेका स्थानीय तहले खोप व्यवस्थापनबारे सोच्न भ्याएका छैनन् । तर, कोरोना संक्रमणको कम चाप भएको रामपुर नगरपालिकाले खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं खोप खरिद गर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीलाई भेटेर निवेदन दिएका हुन् ।

Advertisement

स्थानीय तहले खोप खरिदका लागि स्वीकृति मागेको यो पहिलो पटक भएको मेयर थापाको दाबी छ । सरकारले खोप उपलब्ध गराउन समय लगाउने देखेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन लागेको मेयर थापाले बताए ।

‘रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भने, ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’

Advertisement

मेयर थापाले भारतीय गृहमन्त्री अमित शाहको सचिवालयमा रहेका सन्दीप राना रामपुर वडा नम्बर ७ कै भएकाले उनकै समन्वयमा खोप खरिद गर्न अनुमति मागिएको बताए । अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रवन्ध पनि पालिकाले नै गर्ने मेयर थापाको भनाइ छ ।

‘अमित शाहको सचिवालयमा रहेका सन्दीप राना रामपुरकै हुन् । उनीसँग छलफल भएपछि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका हौं,’ मेयर थापाले भने, ‘कि संघीय सरकारले समयमै उपलब्ध गराइदिनुप¥यो, होइन भने हामी नै खरिद गर्छौं अनुमति दिनुप¥यो ।’

रानाको समन्वयमा भारतका ३ वटा कम्पनीबाट खोप खरिद गर्न लागिएको मेयर थापाको भनाइ छ । आफूले मासिक पारिश्रमिक पनि जनताकै काम लगाउँदा आएका मेयर थापाले विकास बजेट कटाएर भए पनि खोव खरिद गर्ने बताए ।

मेयर थापा

‘बिपद व्यवस्थापन कोषमा १ करोड रुपैयाँ छ । यो वर्ष विकास बजेट पनि खर्च हुन सकिरहेको छैन भने पालिकाहरुले नै खोप खरिद गर्न सक्छन्,’ मेयर थापाले भने, ‘विकास अर्को वर्ष गरौंला, पहिले नागरिकको स्वास्थ्य बचाऔं भन्ने हो ।’

यो आर्थिक वर्षमा १५ करोडको हाराहारीमा विकास बजेट विनियोजन भएको मेयर थापाको भनाइ छ । यस्तो संकटका बेला संघीय सरकारले अनुदान मागिरहेका बेला स्थानीय सरकार आफैंले पनि खोप खरिदमा योगदान गर्न सक्ने मेयर थापाले बताए । स्थानीय तहले सक्ने जति पहल गर्न दिने र त्यसमा संघीय सरकारले वातावरण मिलाइने गर्ने हो भने पनि धेरै छिटो खोप आउने उनको भनाइ थियो ।

‘यस्तो संकटमा म पनि लिन्नँ, सक्नुहुन्छ भने अरु जनप्रतिनिधिले पनि सुविधालाई माहामारी नियन्त्रणमा लगाऔं भन्ने मेरो अनुरोध हो,’ मेयर थापाले भने, ‘स्थानीय सरकारले आफैं खोप खरिद गर्ने अधिकार छैन, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन मन्त्रीजीले भन्नुभएको प्रक्रिया अगाडि बढाउन मन्त्रीजीले भन्नुभएको छ ।’

फ्रन्ट लाइनमा खटिएकाहरु र लक्षित वर्षले पहिलो र दोस्रो चरणमा खोप लगाइसकेको र ५० हजार डोज खोप ल्याउँदा सबैलाई पुग्ने मेयर थापाको भनाइ छ । खोप खरिद गर्न देशविदेशबाट रामपुरवासीले पनि सहयोग गर्न चासो दिइरहेकाले आर्थिक समस्या नहुने मेयर थापाले बताए ।

‘प्रत्येक स्थानीय तहले कोरोना माहामारीमा बल लगाउने हो भने यसले भयाबह रुप लिने थिएन, किन त्यसरी समन्वय हुन सकेन भनेर स्वास्थ्यमन्त्रीसँग प्रश्न पनि गरें,’ मेयर थापाले अनलाइनखबरलाई सुनाए, ‘अब माहामारीमै केन्द्रित रहेर सरकारका सबै अंगको ईफोर्ट लगाइने उहाँले बताउनु भयो ।’

अहिलेसम्म पाल्पामा कोरोनाले उग्र रुप नलिए पनि बेलैमा खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउने हो भने धेरै नियन्त्रण गर्न सकिने आवाज नागरिकस्तरबाट पनि आइरहेकाले दबाब बढिरहेको उनको भनाइ छ । ‘हामीसँग ६०÷७० वटा अक्सिजन सिलिण्डर थिए, अरु पनि जुगाड हुँदैछ । अक्सिजनकै अभावमा रामपुरमा कसैले ज्यान गुमाउनु पर्दैन,’ मेयर थापाले भने, ‘रामपुर प्रादेशिक अस्पताल भौतिक पूर्वाधार निर्माणकै चरणमा रहेकाले सम्पन्न भएपछि स्तरीय सुविधा अरु थपिने छ ।’

तपाईको प्रतिक्रिया