गण्डकी सरकारले थाल्यो लमजुङमा अक्सिजन उत्पादन

समाधान संवाददाता २०७८ जेठ ९ गते २०:०७


पोखरा, ९ जेठ


जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान भएको छ । शनिबार बिहान मेसिनरी सामान जडान सुरु गरिएको थियो । यसअघि नै अस्पतालका बेडहरुसम्म पुग्ने गरी अक्सिजन पाइपलाइन विस्तार भइरहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए ।


अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार अक्सिजन प्लान्ट राख्ने भवन भने यसअघि नै निर्माण पूरा भएको थियो । उक्त भवन साढे ८ लाख रुपैयाँमा तयार भएको दवाडीले जानकारी दिए । उनकै भनाइमा अक्सिजन प्लान्टका मेसिनरी सामानसहितको कामका लागि भने ५५ लाख रुपैयाँ खर्च भएको छ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालय लमजुङलाई ७५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । आइतबारदेखि नै अक्सिजन उत्पादन परीक्षण पूरा भएको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिए ।

Advertisement


ओटु कन्सर्न प्रालिले ५५ लाख रुपैयाँमा ठेक्का लिई अक्सिजन मेसिन जडान लगायत काम गरेको हो । भवन निर्माण भने अर्कै कम्पनीले गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख दवाडीका अनुसार अस्पतालका ५० बेडमा अक्सिजनको पाइपलाइन विस्तार भइसकेको छ । ‘८२ पोर्ट राख्ने लक्ष्य हो, बाँकी अब जडान गरिन्छ,’ उनले भने । अक्सिजन प्लान्टका मेसनरी सामान ल्याउनुअघि नै पाइपलाइन जडान भएको थियो । ओटु कन्सर्न प्रालिले अक्सिजन प्लान्ट भारतबाट ल्याएको जानकारी पनि दवाडीले दिए । लमजुङ अस्पतालमा शनिबार कोभिड १९ का १७ जना संक्रमित भर्ना उपचार गराइरहेका थिए ।


अस्पताल प्रमुख श्रेष्ठका अनुसार अहिलेसम्म पोखराबाट सिलिन्डरमा लगेको अक्सिजन बिरामीलाई दिने गरिएको थियो । जडित अक्सिजन प्लान्टको क्षमता दैनिक १५ सिलिन्डर उत्पादन हो । अब लमजुङ अस्पतालमा आइसियु सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ । आइसियु कक्ष सञ्चालनका निम्ति प्रदेश सरकारले गत आर्थिक वर्षमै एक करोड ६९ लाख १९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई असार महिनाभित्रै आइसियु कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन ।

Advertisement


हाल दोस्रो चरणको कोरोना संक्रमणको जोखिम हुँदासम्म पनि भेन्टिलेटरसहितको आइसियू सञ्चालन नहुँदा सरकारको काम कारबाहीप्रति नै सरोकारवालाले प्रश्न उठाउँदै आएका छन् । हाल उपकरण ल्याएसँगै सञ्चालनका लागि प्रदेश सरकारमार्फत जनशक्ति माग गरिए पनि हालसम्म जनशक्ति नआएको अस्पतालले जनाएको छ । अस्पतालमा दुईवटा भेन्टिलेटर मात्र जडान गरिएका छन् ।


लमजुङ जिल्ला सामुदायिक अस्पतालका नाममा गैरसरकारी संस्थाबाट सञ्चालित अस्पताल आउँदो ५ वर्षसम्म वर्तमान व्यवस्थापनमै सञ्चालन हुने गरी गण्डकी प्रदेशलाई पोहोर कात्तिकमा हस्तान्तरण भएको थियो । अस्पताल व्यवस्थापन मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले गर्दै आएको छ । प्रदेशलाई हस्तान्तरण भएपछि अस्पतालको नाम परिवर्तन भएर जिल्ला अस्पताल लमजुङ भएको हो ।


अस्पतालले सरकारबाट पाउने अनुदान सवै पाउने र लक्षित कार्यक्रमका लागि दिने अनुदान पनि पाउने गरी सामाजिक विकास मन्त्रालय र एचडिसिएसबीच समझदारी भएको छ । त्यसअघि २०७२ पुस महिनामा एचडिसिएसले नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग १० वर्षको सञ्चालन सम्झौता गरेको थियो ।

तपाईको प्रतिक्रिया