कोरोनाले रोकिएका परीक्षा साउनमा गर्ने त्रिविको तयारी

समाधान संवाददाता २०७८ जेठ १० गते ९:२७

काठमाडौं

त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ।

लामो समयदेखि परीक्षा रोकिएकाले विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो।

Advertisement

जेठ २० गतेसम्म परीक्षा फाराम भराउने बताउँदै परीक्षा नियन्त्रक पुष्पराज जोशीले छुट भएका विद्यार्थीलाई अनलाइनबाटै फाराम भर्ने व्यवस्था मिलाइएको जानकारी दिए। केही दिनभित्रै परीक्षाको कार्यतालिका प्रकाशन गरिने उनको भनाइ छ।

हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुई वटा समूह अध्ययनरत छन्। पुरानो प्रथम वर्षका विद्यार्थीले अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसके पनितर परीक्षा हुन सकेको छैन।

Advertisement

यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ। मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ।

परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ। वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले बताए।

विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पस या नजिकको पायक पर्ने क्याम्पसबाट परीक्षा लिने विकल्पका बारे समेत छलफल भएको त्रिविले जनाएको छ।

तपाईको प्रतिक्रिया