सुविधा सम्पन्न हुँदै प्रदेशको अस्पताल: आइसियु सुरु, प्रयोगशाला र नयाँ भवन बन्दै

समाधान संवाददाता २०७८ जेठ १० गते १५:५९


अमृत सुवेदी

कोरोना माहामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेशले गएको साउन १ गते आफु मातहत ल्याएर कोभिड उपचार थालेको थियो ।

अहिले ५० बेडको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल अब कम्तिमा १ सय २० बेडको पुग्ने भएको छ भने सँगै प्रादेशिक जनस्वास्थ्य प्रगोगशाला पनि खुल्ने भएको छ । सुरुदेखि नै बेड भएर पनि सञ्चालन हुन नसकेको सघन उपचार कक्ष पनि सुरु भएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पतालमा जनस्वास्थ्य प्रयोगशाला र १ सय बेड क्षमताका नयाँ भवन बनाउने लक्ष्यसहित सोमबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका छन् । सोमबारै भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आइसियु)को पनि मुख्यमन्त्री गुरुङले उद्घाटन गरेका छन् ।

Advertisement

कोभिड–१९ को माहामारीसँगै काठमाडौंमामात्र सीमित जनस्वास्थ्य प्रयोगशालालाई सातै प्रदेशमा बिस्तार गर्ने संघीय सरकारले निर्णय गरेको थियो । सरकारको त्यही नीतिअनुसार अस्पतालमा प्रयोगशला निर्माण गर्न लागिएको हो । अहिले जनस्वास्थ्य प्रयोगशालला भाडाको घरमा चल्दै आएको छ । यो निर्माण सकिएसँगै आफ्नै भवनमा सर्ने छ ।

३४ करोड ३५ लाख रुपैयाँ रुपैयाँ लागतमा १८ महिनाभित्र सक्ने गरी टेन्डर आह्वान भइसकेको छ । संघीय योजना कार्यान्वयन इकाइमार्फत एक हप्ताअिघ टेन्डर आह्वान भएको र यसले प्रदेशमा हुने थुप्रै परीक्षणलाई सघाउ पु¥याउने संक्रामक अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिए ।

Advertisement

प्रदेशले लिएसँगै ५० बेड सञ्चालन गरेको अस्पताल अब ३ वर्षभित्र कम्तिमा १ सय २० बेडको हुने भएको छ । ९३ करोड रुपैयाँको लागतमा १ सय बेडका बनाउने लक्ष्य भए पनि यो वर्ष ५३ करोड रुपैयाँको लागतमा ७० बेडसम्मको नयाँ भवन बनाउन लागिएको कार्यकारी निर्देशक डा. गौचनले जानकारी दिए ।

‘संघीय सरकारले २६ करोड र बाँकी प्रदेश सरकारले हालेर ५३ करोड रुपैयाँमा नयाँ भवन बन्न लागेको हो,’ डा. गौचनले भने, ‘३ वर्षभित्र सबै सक्ने योजना छ ।’ नयाँ भवनमा २ हप्ताअघि टेन्डर आह्वान भएको छ । नयाँ भवन बनेसँगै क्याबिन, जनरल, आइसियुसहितसहितका सेवा सुरु हुने अस्पतालले जनाएको छ ।

बल्ल आइसियु सुरु

आइसियु, भेन्टिलेटरसहित आफ्नै अस्पताल चलाउने बताएको गण्डकी प्रदेशले बल्ल आइसियुको उद्घाटन गरेको हो । अस्पतालमा २ महिनाअघि नै सामान आएर पनि चलाउन नसक्दा थन्किएको थियो । तर, प्रदेशले भने सुरुदेखि नै आइसियुसहितको अस्पताल भन्दै आएको थियो ।

‘अस्पतालका लागि २ महिनाअघि नै सामान आए पनि जनशक्तिको अभावमा चलाउन नसकेर थन्किएको थियो,’ कार्यकारी निर्देशक डा. गौचनले भने, ‘स्टाफ नर्स थपियो, अन्य विषेशज्ञ पनि थपिँदै छन् । भइरहेका चिकित्सकले पनि हेर्ने गरी ७ बेड सोमबारबाट चलाउन सुरु गरेका छौं ।’

पछिल्लो समय १६ जना स्टाफ नर्स र केही सहयोगी भर्ना गरेपछि सेवा सुरु गरिएको उनको भनाइ छ । अझै पनि विशेषज्ञ चिकित्सकको अभाव नै रहेको उनको भनाइ छ । अहिले अस्पतालमा ५ विशेषज्ञ, ५ मेडिकल अधिकृतसहित ६० जनाको स्वास्थ्यकर्मीको टोली रहेको गौचनले जानकारी दिए ।

अझै कम्तिमा ५ जना विशेषज्ञ डाक्टर आवश्यक पर्ने उनको भनाइ छ । ऐनेस्थेसियो, फिजिसियन, वायोमेडिकल टेक्निसियनको आवश्यक रहेको गौचनले बताए ।

अहिले अस्पतालले २४ सै घन्टा कोभिड–१९ का विरामीको उपचार भइरहेको छ । अस्पतालमा अहिले ५२ जना बिरामी छन् । त्यसमध्ये ७ जनाको आइसियुमा उपचार भइरहेको छ । अस्पतालमा १५ जना गम्भीर अवस्थाका बिरामी रहेको डाक्टर गौचनले बताए । अस्पतालमा अहिलेसम्म ६ सय जना बिरामीको भर्ना गरेर उपचार गरिएको थियो । त्यसमध्ये ७ जनाको मृत्यु भएको छ भने ३५ जनाको अन्यत्र रिफर गरिएको छ ।

बजेटमा प्राथमिकता, जनस्वास्थ्यमा अब्बल बन्न चाहान्छौंः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशले बजेटले स्वास्थ्यलाई प्राथमिकतामा राखेर जनस्वास्थ्यमा अब्बल प्रदेश बन्न चाहेको बताए । बताए । गण्डकीका लागि सोमबारको दिन जनस्वास्थ्यका हिसाबले एक उपलब्धी भएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

संघीय सरकारले पुसमै शिलान्यास गर्न भनेको भए पनि चर्चाका लागि नभइ डिजाइन भएर टेन्डर अगाडि बढेपछिमात्रै भनिएको र त्यो काम सुरु भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

‘अस्पतालका लागि, गण्डकी प्रदेशका लागि र नेपालकै लागि पनि आज ऐतिहाहिक दिन हो,’ शिलान्यासपछि मुख्यमन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल हुन चाहान्छ । नेपालकै राम्रो सरुवा हस्पताल बनाउने अभियान हो, यो ।’

संक्रामक अस्पताललाई नमूना बनाउन सबैलाई लाग्न निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले बल्ल कामको सुरुआत भएको बताए । मानिसको जीवन सबैभन्दा ठूलो कुरा भएकाले बजेट बनाइरहेको सरकारको प्राथमिकतामा स्वास्थ्य पर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

‘हामी अब्बल भनेका छौं तर ५ सय मान्छे मरिसके । दोस्रो फेजमा धेरै देखियो । सबैभन्दजा राम्रो गरेको छ भनेर सबै प्रदेशबाट यहाँ मान्छे आउँछन्, यहीँ मान्छे मर्नेको संख्या धेरै भयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘क्रिटिकल केस धेरै आए । यसबाट सिकेको पाठ के हो भने क्रिटिकल उपचार गर्ने मेनपावर नै रहेनछ हामीसँग ।’ त्यसैले दक्ष जनशक्तितिर गण्डकी सरकारले ध्यान दिएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

तपाईको प्रतिक्रिया