३ दिन वर्षा, बाढी पहिरोको जोखिम

समाधान संवाददाता २०७८ जेठ १३ गते ८:१५

काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबारदेखि शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेकाले बाढी तथा पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास समुद्रबाट जमिन तर्फ प्रवेश गरेको र उक्त चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा छ ।

Advertisement

सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खट्ने सबैलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आँकलन गरि सुरक्षाकर्मी एवम् पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ ।

नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्ने प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणले पर्वतारोहणका लागि हिमालतिर गएका टोलीलाई तुरुन्त फिर्ता बोलाउन भनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षा, चट्याङ्ग पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना देखिन्छ । गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपात र वर्षा हुन सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया