श्रमजीवीको पीडाः घर बसे गास छैन, निस्के बास छैन

समाधान संवाददाता २०७८ जेठ १३ गते ८:२०

अनिष भट्टराई, पोखरा

पोखरा मासबारका अर्बिन गुरुङ (१७) भर्खर कक्षा १० मा पढ्दैछन् । उनलाई लाग्थ्यो, ‘१० कक्षा पास गरेपछि कलेज पढ्दै दिउँसो केही काम गर्छु । घर खर्च जुटाउन बुबा आमालाई सहयोग गर्छु ।’ घरको खस्कँदो आर्थिक अवस्थालाई टाल्न केही दुख गर्ने सोच उनमा थियो । तर कोरोनाले एसईई परीक्षा रोकिदियो । परीक्षा कहिले हुने टुंगो छैन ।

घरमा आमा, बुबा र हजुरबुबा छन् । आमा बिरामी भएर काम गर्न सक्दिनन् । निषेधाज्ञा अघिसम्म अर्बिनकी आमा अरुको घरमा खाना पकाइदिन पुग्थिन् । बुबा घर बनाउने काममा जान्थे । जेनतेन घरवार चलिरहेको थियो ।

Advertisement

तर निषेधाज्ञापछि अवस्था फेरिएको छ । बुबाले कुनै दिन काम पाउँछन् त कुनै दिन रित्तै बस्नुपर्छ । रोगले थलिएकी आमा बाहिर निस्किनन् । घरमा आफूसहित ४ जनाको मुखमा माड पु¥याउने जिम्मा अहिले अर्बिनको काँधमा छ ।

विद्यालयमा छुट्टि हुँदा अर्बिन माछा मार्न फेवा किनार पुग्थे । अरु काम गर्न समय हुँदैनथ्यो । अहिले उनीसँग समय छ, तर अरु काम पाउने सम्भावना छैन । अर्बिनले जानेको काम नै माछा मार्नु हो । निषेधाज्ञा लागु भएपछि उनी दिनहुँ फेवा पुग्छन् ।
‘बिहान खाना खाएर आउँछु, बेलुकासम्म यर्हीँ हुन्छु, धेरै त पर्दैन त्यही पनि २ किलो जति त पु¥याउनै प¥यो,’ अर्बिन भन्छन् ।

Advertisement

लामो नियालाको लाठीमा पातलो डोरी बाँधेर लेउ हाल्छन् । आफूभन्दा पर पुग्ने गरी डोरी खोल्छन् । एकैछिनमा नियालोको लौरी नै हल्लिन थाल्छ अनि माछा झिक्छन् । बिहान १० देखि बेलुका ५ सम्म अर्बिनको दिन यसरी नै जान्छ ।

माछा आफैलाई खान पनि मन लाग्छ । तर घरमा नुन, तेल, तरकारी पु¥याउनुपर्छ उनले । दिनभर मारेको माछा झुन्ड्याउँदै निस्कन्छन् । बाटोमा माछा बिक्री भइहाल्छ । किलोको साढे २ सय देखि कसैलाई ३ सयको भाउमा अर्बिनले बेच्छन् । कहिलेकाहीँ तरकारी लैजान नपर्ने दिन पैसा आमाको हातमा लगेर राखिदिन्छन् । तर पनि आमाको मुख उज्यालिन्न ।

अर्बिनका २ दाइले परिवार छाडेर टाढिएपछि अर्बिन घरका एक्ला सहारा हुन् । अर्बिनलाई केही हुने डरले आमाले उनलाई बाहिर नजान कराउँछिन् । ‘घरमा समस्या छ, टार्न नै त हिँडेको हुँ म, त्यही पनि आमा खुसी हुनुन्न, कोरोना लाग्छ भनेर होला नजा भन्नुहुन्छ,’ उनी भन्छन् ।

कास्कीमा अहिले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रशासनले १ लाखसम्म जरिवाना तिराउने उर्दी जारी गरेको छ । अर्बिनलाई यो सूचना पनि थाहा छ । तर उनी माछा मार्न ननिस्के घरका खाली पेटका भोक मदैन । निस्कनै पर्छ । ‘कारबाही त भन्छन्, अब घरमा भोकले मर्न नि सकिन्न,’ उनले भने ।

अर्बिनले माछा मारिरहेको ठाउँ नजिकै बसेर बल्छी थापिरहेका थिए, डिहिकोपाटन बस्ने ४२ वर्षीय कमल परियार । तनहुँ म्याग्दे घर भएका परियार अघिल्लो लकडाउन हुनु अघि पोखरा आएका थिए । म्याग्देमा उनी घर बनाउने काम गर्थे । पोखरामा सय दुई सय बढी ज्याला पाइने आशमा परिवारसँगै पोखरा आए । तर सोचेजस्तो भएन, लकडाउन लागेपछि उनी बेरोजगार हुनुप¥यो ।

परियारको घरमा श्रीमती र २ छोरी छन् । कमाउने एक्ला सदस्य कमल आफैं हुन् । निषेधाज्ञा सुरु भएपछि उनले काम गर्न पाएका छैनन् । पहिला दिनमा ज्याला ८÷९ सय पाउँथे । अहिले ८ पैसा कमाउन धौ छ । महिनाको ५ हजार कोठा भाडाले टाउको दुखाएको छ उनको । अघिल्लो लकडाउनमा १ महिनाको कोठा भाडा छुट पाएका थिए । अहिले कोठा भाडा छुट नपाउने निश्चित छ । ‘१ महिनाको छुट दिनुभाथ्यो पहिला, अहिले त खै पाइन्न होला,’ कमलले सुनाए ।

तरकारी किन्दा दिनहुँ पैसा गएपछि उनले छाक टार्न युक्ति निकाले । फेवा तालमा माछा मारेपछि तरकारी किन्ने पैसा पनि बच्यो, जिब्रोलाई स्वादिलो पनि अनि पोशिलो पनि । कमलले यही सोचेर तालमा माछा मार्न पुग्छन् । एक छाक टर्ने जति माछा बल्छीमा परेपछि घर फर्कन्छन् ।

घरबेटीको पनि डर हुन्छ । कोरोना सार्ने डर हुँदा बाहिर नजान भन्छन् । धेरै निस्के डेराबाटै निकाल्न पनि सक्छन् । ‘डर त मलाई पनि लाग्छ नि । अब मास्क, स्यानिटाइजर बोकेर हिँडेको छु, खान प¥यो काम पनि गर्न प¥यो,’ उनले भने ।
अघिल्लोपटक उनले ३ ठाउँमा राहतका लागि नाम लेखाए । तर कर्हीँकतैबाट उनले राहत पाएनन् । मनमा आहत मात्र थप्यो । त्यही पनि अहिले राहत पाउने उनलाई आशा छ ।

‘३ ठाउँमा नाम लेखाउँदा पनि पाइनँ, यस्तो सहयोगमा पनि चिनजान भएकाले रहेछ पाउने, त्यही पनि अहिले पाउँछु कि भन्ने लाग्छ,’ उनले भने ।

कोरोना भाइरसको दोस्रो लहरले अर्बिन र कमलजस्ता श्रमजीवीहरु अहिले पीडामा छन् । घरमै बसेर खान पुग्ने उनीहरुको सामथ्र्य छैन । पाखुरा खियाएर काम गर्छु भने पनि बाहिर निस्कन पाउँदैनन् ।

तपाईको प्रतिक्रिया