लक्षण भए पनि कोरोना परीक्षण गर्न मान्दैनन् बारपाकका स्थानीय, घरमै जाँदै ज्यान

समाधान संवाददाता २०७८ जेठ १३ गते १७:४०
फाइल तस्बिर

अनुप पौडेल, पोखरा

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका गोरखा बारपाकका तीन जनाले बुधबार घरमै अन्तिम सास फेरे । कोरोना टेस्ट नभएको र संक्रमित भएको पुष्टि नभएकाले बुधबार घरमै ज्यान गुमाएकाको तथ्यांक बारपाक सुलिकोट गाउँपालिकासँग छैन ।

परीक्षण गर्न नमान्दा बारपाकका स्थानीय कोरोना पुष्टि नहुँदै घरमै ज्यान गुमाइरहेका छन् । दोस्रो लहरको कोरोना देखिएपछि कोरोनासँग मिल्दो लक्षण भएका र कोरोना पुष्टि भएका गरेर बारपाकमा ९ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनालाई मात्र कोरोना पुष्टि भएको थियो । बाँकी ६ जनाले कोरोना परीक्षण नहुँदै ज्यान गुमाए ।

Advertisement

गाउँपालिकाका स्वास्थ्यकर्मी कोरोना परीक्षण गर्न गत ९ जेठमा बारपाक पुगेका थिए । तीन सय जनाको परीक्षण गर्ने भनेर वडा नम्बर १ र २ मा पर्ने बारपाक गाउँ गएको टोली १८ जनाको मात्रै एन्टिजेन परीक्षण गर्न सफल भयो ।

१८ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखियो । ‘कोही बिरामी भएर पनि सञ्चो भइसक्यो भन्ने, कोही टेस्ट गरे घर बस्न पाइन्न भन्ने खालको भ्रम रहेछ, सोचेजस्तो परीक्षण नै हुन पाएन,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले सुनाए ।

Advertisement

पोजेटिभ देखिएकालाई गम्भीर समस्या थिएन । त्यतिबेला स्वास्थ्य सामग्री वितरण गरेर स्वास्थ्यकर्मीको टोली फर्कियो । ‘यस्तो स्वास्थ्य विधि अपनाएर घरमै बस्नुस्, केही अप्ठेरो परे स्वास्थ्य चौकी जानुस्, त्यहाँ समस्या पहिचान भएर अस्पताल लैजान परे गाउँपालिकाकै खर्चमा एम्बुलेन्स ल्याएर लैजान्छौँ भनेर फर्कियौँ,’ भट्टले भने ।

बारपाक सुलिकोट गाउँपालिकाको १ र २ नम्बर वडामा पर्ने बारपाकमा १५ सय हाराहारीमा घर छन् । त्यहाँका घरका प्रायः सदस्यमा रुघाखोकीसहित कोरोनासँग मिल्दोेजुल्दो लक्षण छ ।

२०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाकमा कोरोना ‘भुसको आगो’ सरह फैलिएको आँकलन गाउँपालिकाका स्वास्थ्यकर्मीको छ । तर, स्थानीयले परीक्षण गर्न मानिरहेका छैनन् ।

बारपाकमा १ जेठयता ७० जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना, २५ जनाको परीक्षण गर्दा १९ जनामा पोजेटिभ देखिएको थियो । परीक्षणको ६० प्रतिशतमा पोजेटिभ देखिनुले बारपाकमा कोरोनाको अवस्था कस्तो छ भन्ने पुष्टि हुन्छ ।

स्थानीय कोरोना परीक्षण गर्न नमानेको बारपाक सुलिकोट २ का वडाध्यक्ष लालबहादुर गुरूङ पनि स्वीकार्छन् । ‘टेस्ट गर्ने मान्छे धेरै हुन्छ होला भनेर धेरै नै किट ल्याइएको थियो । गाउँलेहरू त्योबेलामा आएनन्, किट फर्काएर लगियो,’ उनले सुनाए ।

घरघरमा रूघाखोकीलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भए/नभएकोबारे आफूलाई जानकारी नरहेको वडाध्यक्ष गुरूङले बताए । ‘घरघरमा जाने कुरा भएन, हामी पनि सुरक्षित रहन प-यो । बिना काममा चाहार्ने कुरा पनि भएन,’ उनले भने, ‘कोहीकोही काम विशेषले निस्किएको छ । नत्र मान्छे बाहिर पनि निस्केको छैन ।’

गाउँपालिकाका अनुसार बारपाकका दुई वडामा अहिले ४८ जना सक्रिय संक्रमित छन् । दोस्रो लहरमा गाउँपालिकाका एक सय ९७ जना सक्रिय संक्रमित छन् । गाउँपालिकाका अरू वडामा भने परीक्षणमा समस्या नरहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।

स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र बौद्धिक वर्गको सहयोग नहुँदासम्म बारपाकमा मास परीक्षण गर्न नसिकने उनको ठहर छ । ‘भोलि नै गएर २० जनाको गर्न पाए पनि भाग्य हो । त्यहाँको जनप्रतिनिधि, क्लब, राजनीतिक दलले जनतालाई कन्भिन्स गर्दिए टेक्निकल काम हामी गथ्र्यौँ,’ भट्टले थपे, ‘बाहिरबाट गएको मान्छेले केही भन्दा पनि विश्वास नगर्ने !’

गाउँपालिकाले गुहा-यो प्रदेश र केन्द्र सरकार

कोरोना परीक्षणमा समस्या भएपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग सहयोगको अपिल गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाक गाउँमा शंकास्पद संक्रमित भए पनि परीक्षण गर्ने व्यक्तिको संख्या बढ्न नसकेकाले समस्या भएको भन्दै बिहीबार विज्ञप्ती निकालेर गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले सहयोगको अपिल गरेका हुन् ।

स्थिति चिन्ताजनक बनेकाले गाउँपालिका एक्लैले नियन्त्रण गर्न चुनौती देखा परेको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘बारपाक क्षेत्रको पछिल्लो स्थितिको अनुमानको आधारमा गाउँपालिकाको मात्रै एकल पहलको आधारमा यसको नियन्त्रण, रोकथाम एवं व्यवस्थापनमा चुनौती देखा परेका कारण संवैधानिक रुपमा तोकिएबमोजिम महामारी नियन्त्रणका लागि जिम्मेवारी तोकिएका संघीय एवं प्रदेश सरकारसँग सहयोग र समन्वयका लागि गाउँपालिका अनुरोध गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

पछिल्लो दुई हप्ताको बीचमा तीनपटक कोरोना परीक्षण गरिए पनि संक्रमितको पहिचानमा समस्या भइरहेको अध्यक्ष भट्टले बताए । ‘सम्भावित संक्रमितहरुको परीक्षण एवं पहिचान गरी संक्रमितलाई अन्य व्यक्तिबाट अलग पार्नुपर्नेमा परीक्षण गर्ने व्यक्तिको संख्या नै बढ्न नसक्दा भित्रभित्रै संक्रमितहरूको संख्या बढ्न गई थप जोखिम बढ्न सक्ने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया