फलोअपः बारपाकमा प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली खटायो, मन्त्री पनि जाने

समाधान संवाददाता २०७८ जेठ १३ गते २०:५७

समाधान संवाददाता, पोखरा

गोरखाको बारपाक गाउँभर कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएपछि प्रदेश सरकारको तर्फतबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले वास्तविकताको अध्ययन, अनुसन्धान र नियन्त्रणका लागि औषधी र परीक्षण किटसहित चिकित्सक, नर्सिङ स्टाफ, मनोसामाजिक परामर्शदाताको टोली खटाएको हो ।

Advertisement

सम्बन्धित समाचार: लक्षण भए पनि कोरोना परीक्षण गर्न मान्दैनन् बारपाकका स्थानीय, घरमै जाँदै ज्यान

२ जना विशेषज्ञ डाक्टर, २ जना प्रयोगशालाकर्मी, मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक र मनोसामाजिक परामर्शदाता एक/एक जना लगायत गरेर १० जनाको टोली खटाइएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । यो टोली शुक्रबार बारपाक पुगेर अध्ययनसहित आवश्यक काम थाल्ने छ ।

Advertisement

गृह जिल्ला गोरखा भएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत पनि शुक्रबार बारपाक जाने छन् । ‘मन्त्रीज्यू पनि जानुहुन्छ । म पनि जान्छु । त्यहाँ पुगेर अवस्था बुझ्छौं,’ निर्देशक शर्माले भने, ‘कोही बिरामीलाई सदरमुकाम ल्याउन परे वा पोखरा ल्याउन परे त्यसको समन्वय गर्छौं ।’

गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ र २ मा पर्ने बारपाकमा पछिल्लो १० दिन यता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी दैनिक बढ्दै छन् । गाउँभर बिरामी भए पनि उनीहरु परीक्षण गर्न नमानेको गाउँपालिकाले जनाएको छ । संक्रमण भए समाजमा भेदभाव हुने डर बारपाकका स्थानीयमा छ ।

गाउँपालिकाले स्वास्थ्यकर्मीको संख्या कम भएको र ठूलो संख्यामा बिरामी रहेको भन्दै बिहीबार प्रदेश र केन्द्र सरकारसँग सहयोग मागेको थियो ।

तपाईको प्रतिक्रिया