‘ऐतिहासिक काम गरेका छौं, १५÷२० वर्षपछि मूल्यांकन हुन्छ’

समाधान संवाददाता २०७८ जेठ १४ गते ७:२४

२०७४ वैशाख ३१ गते भएको स्थानीय तह चुनावबाट निर्वाचित पोखरा महानगरपालिकाका जनप्रतिनिधिले जेठ १४ गते शपथ लिएर कार्यभार सम्हालेका थिए । त्यसको आज ४ वर्ष पूरा भएको छ । अब उनीहरुको कार्यकाल मात्र १ वर्ष बाँकी छ । यस अवधिमा महानगरले ऐतिहासिक काम गरेको मेयर मानबहादुर जिसी दाबी गर्छन् । समाधानकर्मी अनिष भट्टराई र रामकृष्ण ज्ञवालीसँग कुराकानी गर्दै मेयर जिसीले आफूहरुले दीगो विकासलाई प्राथमिकता दिएको र आफ्नो कामको मूल्यांकन २० वर्षपछि हुने बताए । प्रस्तुत छ मेयरसँगको कुराकानीः

Advertisement

तपाईं आउँदाको महानगर र अहिलेको महानगर कहाँ छ ?
हामी ४ वर्ष पूरा गरेर ५ वर्षमा लागेका छौं । संविधानतः भन्दा अन्तिम वर्ष पनि हो हाम्रो । हामी महानगरमा आउँदा लगभग संघीयता कार्यान्वयन नगरेको परिवेशमा आएका थियौं ।लामो समयदेखि स्थानीय सरकारलाई पनि सरकारकै रुपमा हेरिनुपर्छभन्ने माग थियो ।

त्यो माग प्राप्त भएर हामी निर्वाचित भएर आयौं । हामी आउँदा संविधानमा त सरकार भनिएको तर जनतामा सरकार हो भन्ने चेतना नभएको अवस्था थियो । हामीलाई ३ तहकै अधिकार दिएको थियो । कार्यपालिका, न्यायपालिका, अर्धन्यायीक अधिकार र एक खालको संसदीय अधिकार पनि दिइएको थियो ।

पहिलो चरणमा हामीले कानुन बनायौं । पोखरा महानगरपालिका साविकका १ उपमहानगरपालिका, १ नगरपालिका र १८ गाविस मिलाएर महानगर बनाएको हो । त्यसैले सबैका आआफ्नै खालका मनोविज्ञान थिए । सुगम दुर्गम, शहर गाउ, निकट बिकट भएकाले मनोविज्ञान फरक थिए । महानगर भइसकेपछि हामीले के पाउँछौं भन्ने पनि फरकफरक थिए ।

हामीले आउने बित्तिकै फरक मनोविज्ञानलाई मेटेर लैजानुपर्छ र सबैलाई महानगरवासी हौं भनेर गर्व गर्ने सोचका साथ अघि बढ्नुपर्छ भन्ने सोच राख्यांै । महानगरकै विकटलाई निकट ल्याउने भनेर घोषणा ग¥र्याै । साधन स्रोतले सम्पन्न गराउने कुरा ख्याल राख्यौं ।

Advertisement

कतिपय ठाउँमा वडा कार्यालय भाडामा थिए, कति ठाउँमा नेटको पनि उपलब्धता थिएन । हामीले सुशासनको कुरा राखेका थियौं । प्रविधिमार्फत नै सुशासन राख्न सकिन्छ भन्ने मान्यता राख्यौं । अहिले सबै वडामा इन्टरनेट पु¥याउने काम भएको छ । योजना सम्झौता वडामै गर्न सकिने गराएका छौं । वडाबाटै चेक काट्न सकिने बनाएका छौं ।

हिजो महानगरमै घेरा लाउनुपर्ने स्थितिलाई हटाएर विकेन्द्रीत गरेर अधिकार प्रत्यायोजना गर्ने ठाउँसम्म पु¥याएका छौं । चुनावका बेलामा नागरिकसँग जुन प्रतिवद्धता गरेका थियांै, त्यसलाई नै पच्छ्याएर हिँडेका छौं । एकदम चकाचक भयो त भन्दैनौं तर धेरै राम्रो गरेका छौं । आशा जगाउन सकेका छौं ।

तपाई आफैलाई सन्तुष्टि लाग्ने महानगरका कामहरु एक, दुई, तीन भन्नु पर्दा?
महेन्द्रपुल, पृथ्वीचोक, लेकसाइड, सुरौंदी, पञ्चासे, मादीसम्मै महानगर छ । यसकारण समानुपातिक विकास पुग्दैन कि भन्ने आशंका हामीमा थियो । विकटलाई निकट ल्याउने अभियानका साथ हामी गयौं ।हामीले १२९ किलोमिटरको बाटो बनाएर सबैलाई जोड््यौं ।

कनेक्टिङ रोडमार्फत जोड्न सक्यौं । यसका पूर्वाधार बनेका छन् ।अब स्थायीत्व दिएपछि र जनताले नै राम्रो गरेका छौं भनेपछि नेतृत्वलाई सन्तुष्टि त मिलिहाल्छ ।
अर्को कुरा, चुनावमा २४ घन्टामा बाटाका खाल्डाखुल्टि पुर्ने भनेका थियौं । यसमा धेरै गालि खाइयो, धेरै आलोचना पनि भयो ।

तर काम गर्दै जाँदा थाहा भयो, पोखरा धेरै पानी पर्ने ठाउँ भएकाले पुरानो कपडामा जस्तै एक तिर तुन्दा अर्कोतिर उघ्रने भयो । हामीले पछि निधार खुम्च्याएर हेर्दा सडक टालेर मात्र पुग्दैन भन्ने थाहा पायौं । राम्रो र पक्की बनाएरमात्र सडक टिकाउ हुन्छ भन्ने बुझेपछि ५० किलोमिटर बाटोलाई असफाल्ट बनाएर गयौं । हिजो जनताले गाली गरेपनि अब ढिलै भएपनि दीर्घ र राम्रो काम ग¥यो भनेपछि सन्तुष्टि मिल्छ ।

अहिले हाम्रा सबै वडाका कार्यालय छन् । वास्तवमा महानगरको कार्यालय भन्दा वडा कार्यालय राम्रा छन् । ३ वर्षीय कार्यक्रम बनाएका छौं । यसलाई नै टेकेर पञ्च वर्षे र १० वर्षे कार्यक्रम बनायौै भने झनै राम्रो हुन्छ । हाम्रा तालहरु भद्रगोल थिए । हामीले सिमांकन ग¥र्यौं, मापदण्ड बन्दैछन् ।

यसरी सधैंभर तालको खेती गरेर खानेको दिन अन्त्य गरेका छौं । महामारीका बेला हामीले स्वास्थ्यतिर ध्यान दिएका छौं । किसानहरुलाई परिचयपत्र दिएर सम्मान गरेका छौं ।

घोषणापत्रका कति प्रतिशत काम भए ? घोषणापत्र पल्टाएर हेर्ने गर्नुभएको छ ?
घोषणा पत्र पल्टाएर हेर्ने मात्र होइन कार्यान्वययन गरेका छौं ।महानगरका कार्ययोजना, नीति बनाउँदा घोषणापत्र पल्टाएर हेर्ने गरेका छौं नै । कार्यान्वयनको क्षेत्रमा जाँदा पनि हामीले गरेका कामले रिजल्ट निकाले निकालेनन् भनेर हेरिरहेका छौं ।

अहिले हाम्रा घोषणापत्र र हाम्रा कामका तालमेल मिले कि मिलेनन्, कति प्रतिशत काम घोषणापत्रको पूरा भयो भनेर हेर्न एउटा टिमवर्क बनाएर काम गरिरहेका छौं । यसले गर्दा हामी हाम्रा घोषणापत्र अनुसार हेर्दा७० प्रतिशत बढी काम गरेको देखिन्छ । हामीले गर्न नसकेका काम पनि छन् ।

हामी अबको चुनावमा जाँदा महानगरको नयाँ प्रशासनिक भवन निर्माण सकेर जानुपथ्र्यो । सुरु त गर्दैछौं, सम्पन्न चाही नहुुुने भयो । तालचोक–वेगनास तालको सडक निर्माण पनि सक्नुपथ्र्यो । विभिन्न कारणले त्यो ढिला भयो । यो काम पनि सुरु हुँदैछ ।

हामीले सिंको त भाँचेको तर व्यवस्थापन गर्न नसकेको काम भनेको सिटी बसपार्कको काम हो । सिटी बसपार्क हामीले चाहँदा चाहँदा पनि नसक्ने देखियो । प्रयासरत त छौं हामी । तर पूरा गर्न सक्छौं र भन्ने छ । हामीले घोषणापत्रमा राखेर सुरु गर्न नसकेको अर्को काम मोनो रेलको हो ।

मोनो रेलको अध्ययन त ग¥र्यौं, तर कार्यान्वयन गर्न सकेनौं । अहिले नै त्यो आवश्यक हो कि होइन भन्ने ठाउँमा पनि त्यो रहिरहेको छ । अर्को काम भनेको हामीले सबै काम अनलाइन मार्फत गर्ने भनेका थियौं । काम नै नभएको होइन तर जति काम हुनुपथ्र्यो, त्यति हुन सकेको छैन ।

पोखरालाई स्मार्ट सिटी बनाउने भन्नुभएको थियो । स्मार्टनेस झल्कने त केही देखिँदैन नि ?
स्मार्ट सिटी भन्ने बित्तिकै धेरै कम्पोनेन्ट हुन्छन् । सडक, शिक्षा, स्वास्थ्य, वातावरण सबै कुरा जोडिएका हुन्छन् । हामीले के बुझेका छौं भन्दा प्रविधिसँग जोडिएमात्र स्मार्ट भन्ने हुन्छ । तर त्यसो होइन । सार्वजनिक यातायातहरु र माथि भनिएका कम्पोनेन्टलाई सिस्टमले ड्राइभ गर्न थालेपछि मात्र स्मार्ट हुन्छ । हामीले पूरा गरेनौं, देखेनौं भन्ने होइन कि त्यसतर्फ जान उन्मुख गरेका छौं, कार्यक्रम त्यस्तै छन् । परिणाम आउन केही समय लाग्ने नै छ ।

धारामै स्वच्छ पिउने पानी आउँछ भनेर पनि भन्नुभएको थियो । त्यसको चाहिँ अवस्था के छ ?
खानेपानी अझै सबैको घरघरमा पुगेको छैन । भइराखेको खानेपानीमा पनि बोतलबाट नभइ सिधै धाराबाट पिउने व्यवस्था गर्छौं भनेका थियौं । जाइकाले अहिले त्यसका लागि काम गरिरहेको छ । अब १ देखि १८ वडासम्म सिधै खान मिल्ने गरी व्यवस्था हुन्छ । सहरीले काम गरिरहेकोे ठाउँमा भल बाढी आउने ठाउँमा शुद्धिकरण भइसकेको छ, अझै त्यसलाई व्यवस्थित र शुद्ध कसरी बनाउने भनेर महानगरले हेरिरहेको छ । प्रारम्भ भएको छ ।

हाम्रो सोच के हो भने एकतिर नागरिकले पैसा तिर्न पर्ने, सहर फोहोर हुने । बरु नागरिकले सिधै धाराबाट स्वच्छ पानी पाए त नागरिकको पैसा पनि जोगिने र सहर फोहोर पनि नहुने भएकाले यो काम थालेका थियौं । हामीले यसको गुरुयोजना पनि बनाएका छौं । छिरल्लेर रहेको स्रोत साधनलाई एक ठाउँ बनाएर पानी कसरी खुवाउन सकिन्छ भनेर कस्तो अथोरिटी चाहिएला भनेर पनि हेरिरहेका छौं ।

तालको सिमांकन त भयो तर महानगरले मापदण्ड बनाउने आँट गर्न सकेन नि ?
ताल कति हो भन्ने किटान भइसक्यो । अब त्यो सिमाभित्र कसैको दाबी रहन्न । अब बाँकी रहेको मापदण्ड हो । मापदण्डलाई हामीले नगरसभामा लगेर पारित गर्नुपर्ने हुन्छ । पारित भएपछि मात्र कार्यान्वयन हुन्छ । लेखनाथपारिका तालहरुको त मापदण्ड लगभग टुङ्गिसकेको छ । ती मापदण्डलाई नगरसभाले पारित गर्न मात्र बाँकी छ । फेवा तालको मापदण्डका लागि पनि एउटा टिमले काम गरिरहेको छ । आउने नवौं नगरसभाले नै त्यसलाई पारित गर्छ । महानगर डराएको छैन, कामेको पनि छैन र काम्दैन पनि ।

ट्राफिक, पार्किङ त निकै लथालिङ्ग छ नि । त्यसलाई किन व्यवस्थित गर्न सकिएन ?
हामीले चोकहरुलाई आइल्याण्ड सानो बनाएर ठाउँ फराकिलो बनाएका छौं । वैकल्पिक बाटाहरु खोल्न जरुरी छ । बिस्तारै बिस्तारै ट्राफिक लाइटको व्यवस्था गरेका छौं । ४ ठाउँमा लाइट राखेका छौं । पार्किङको समस्या भनेको सबैभन्दा बढी कोर सिटीमा हो । कोर सिटीबाट सिकेर भोलि सहर बस्ने ठाउँहरुमा अहिलेबाट नै व्यवस्थापन गर्नुपर्ने जरुरी छ । हामी त्यसलाई व्यवस्थापन गर्न काम थाल्दै छौं ।

बस्ती र भवनको मापदण्ड पनि प्रमुख समस्याको रुपमा देखिन्छ । अव्यवस्थित सहरीकरणले समार्ट सिटीमा व्यवधान खडा गरेको छैन ?
पोखरा पुरानो सहर हो । ठ्याक्कै नयाँ सहर बनाए जस्तो त हुँदैन । अब महानगरले के गरेछ भन्दा सहर भित्र बनाउने सडक, खोल्साहरुको मापदण्ड बनाएको छ । व्यक्तिको नाममा जग्गा भएकाले सबै व्यवस्थित गर्न त नसकिएला तर त्यसलाई व्यवस्थापन गर्न नयाँ मापदण्ड आउँछ र त्यसले गाइड गर्छ । नगर सभाले त्यसलाई पास गर्छ । अब नयाँ बन्ने सहर पहिलाको झैं भद्रगोल हुँदैन ।

लेखनाथ क्षेत्रलाई नयाँ सहर बनाउने योजना थियो तपाईंको । तर लेखनाथ उपेक्षामा प¥यो भन्ने गुनासो छ नि ?
लेखनाथमा बजेट कम आयो भन्ने गुनासो आउने गरेको छ । त्यो त हिसाब गर्न जान्ने हुन् कि के हो मलाई थाहा भएन । लेखनाथ छुट्टै पालिका हुन्थ्यो भने पनि के कति बजेट आउँथ्यो भन्ने क्यालकुलेसन छ । आम्दानी कति हुन्थ्यो भन्ने पनि एनलाइसिस गर्न प¥या ।

लेखनाथमा पर किलोमिटर ४५ करोड खर्चेर बाटो निर्माण भएको छ । लेखनाथ छुट्टै पालिका भएको भए त्यो सम्भव हुन्थ्यो होला र ? अब ३० मिटरको चाक्लो बाटो बनिसकेपछि आर्थिक गतिविधि बढाइदिने होला नि ? त्यहाँका ८ वटा वडा र बाँकी वडा हेर्ने भने पनि ८ वटाको बजेट एकातिर छ । अब कसरी बजेट कम हुन्छ ?त्यहाँको राजश्व संकलन कति छ ? अव्यवस्थित बन्यो भन्ने पनि छ । त्यसले कति वर्ष थेग्छ मलाई थाहा भएन । अझै व्यवस्थित गर्नु पर्नेछ । तर बनाउनै नसकिने, हुँदै नहुने गरेर ठाउँ बिग्रेको त छैन । यसलाई बनाउन सकिन्छ । यसकारण लेखनाथलाई नयाँ पोखरा भन्यौं । संरचनाहरु राम्रो बनाएर समस्याहरु आउँदैनन् ।

महानगरले ल्याण्ड फिल साइटको विकल्प पनि खोज्न सकेन त ।
ल्याण्ड फिल साइटको विकल्प खोजिरहेका छौं । हामीले यहीँ बनाउँछौं भन्यो भने विरोध सुरु भइहाल्छ । हिजो मात्र पनि कुरा भएको छ, अटो क्लिभ वाला भयो भने मल उत्पादन गरेर आय आर्जन पनि हुन्छ । यो आर्थिक वर्षमै टुङ्ग्याएर जान्छौं । नटुङ्ग्याइ सुखै छैन ।

पोखराका प्राकृतिक स्रोतहरुलाई सार्वजनिक निजी साझेदारी पिपिपि मोडलमा दिँदा आलोचना भइरहेको छ । कसरी हेर्नुभएको छ ?
हामी ३ खम्बे अर्थ नीति भन्छौं । कि राज्य एक्लैले गर्न सक्नुप¥यो । ३ खम्बे अर्थ नीति भन्ने अनि निजी क्षेत्रलाई संलग्न गराउँदा पहाड भासिनी, आकाश खस्ने त हुँदैन होला नि । पोखरा महानगरले गर्न खोजेको के हो भने पोखरालाई एडभेन्चर हब बनाउन खोजेको हो । अब त्यही ताल र हिमाल हेर्न पर्यटक आउँदैनन् ।

अब हाम्रो ब्राण्ड बनाउन लागेको मात्रै हो । सेती हजारौं वर्षअघि उत्पति भयो होला । यतिका वर्षमा हामीले सेतीबाट लिएको के हो त ? त्यही बालुवा र गिटी । त्यो मात्रै होइन, कुनै भौगोलिक अवस्था नबिग्रने गरी, थाइ संरचना नबन्ने गरी लगानी गर्ने, पोखरालाई रोयल्टि पनि दिन्छु र कुनै बिगार्दिन भनेर जिम्मा लिन्छ भने काम गर्न दिने कि नदिने ?

रामघाट देखिरहनु भएकै छ । ब्राह्मण र क्षेत्री समुदायले छुट्टाछुट्टै अवस्थामा बनायो । अहिले त्यहाँ भ¥याङ हालेर जानुपर्ने स्थिति आयो त । यही तरिकाले जान्छ भने सिल्टेशन ड्याम बनाएर, त्यहाँ संरक्षण गरेर करोडौं रुपैयाँ दिन्छ भने किन नदिने ? कि कसैले भन्नुप¥यो कि क्षति जे सुकै होस् भनेर भन्नुप¥यो । हामी संरक्षण त गर्नुप¥यो नि । सेतीमा अहिले हेर्नुहोस् मापदण्ड मिच्ने देखि घरको फोहोर फाल्ने ठाउँ बनाइएको छ नि । त्यो पनि रोकिने, एडभेन्चर स्पोर्टस्को हब पनि बन्ने, आम्दानी पनि हुने र प्राकृतिक स्रोतको संरक्षण हुने काम किन हुन नदिने ?

स्थानियहरु त्यहाँ आफ्नो परम्परा, पूजाआजा, दाहसंस्कार रोकिन्छ भन्छन् । त्यस्तो केही हुनेवाला छैन । झन् हामी त्यसलाई व्यवस्थित बनाएर लैजान्छौं । बोल्नेहरु भन्दा हामी धेरै पटक घाटमा गएका छौं । हामी प्रविधिको प्रयोग गरौं, अति दोहन नगरौं भन्ने मात्र हो ।

विरोध चाहिँ किन भएको त ?
नकारात्मक सोचाइ राख्ने, परम्परावादी सोच राख्नेले त्यहाँ भित्रको कुरा नबुझी सतही रुपमा प्रतिक्रिया दिएर विरोध गरेका हुन् । सेतीमा एडभेन्चर स्पोर्टस्का लागि नेपाली कम्पनीले नै २ अर्ब लगानी गर्छौं भन्दा पनि नदिएर महानगरले नै गर्न सक्नुप¥यो । महानगरले त्यही एउटा काम हेरेर बस्न सक्दैन, महानगर त अन्य हजारौं काममा लाग्नुप¥यो ।

फेरी उनीहरुले लगानी गर्ने मात्र होइन, रोयल्टि, स्ट्रक्चर भायबल छ कि छैन भनेर अध्ययन पनि गरेका होलान् नि । भोलि त हामीलाई खोलानाला बेचेर खाए भन्ने आरोप पनि आउँछ, त्यो त पक्का छ । तर नबिगार्नु, नडराउनु भनेझैं यस कामले पोखराको एउटा ब्राण्ड बन्छ र धेरै पर्यटक आएर पोखराको पर्यटन झनै उत्थान हुन्छ । त्यहाँ लगानी गर्नेलेमात्र आम्दानी लिँदैन । त्यो ठाउँका स्थानीयले पनि फाइदा लिने हो ।

हामीले माइक्रो लेभलमा स्टडि गरेर बढेका छौं । बनेर चलेको १ वर्षसम्म पनि मान्छेले गाली गर्नेछन् । त्यसपछि पश्चाताप गर्नु बाहेक उपाय हुँदैन । हामीले अहिलेलाई होइन भोलिलाई हेरेर काम गरेका छौं । काम ऐतिहासिक छन् । अहिले मूल्यांकन नभएपनि २० वर्षपछि मूल्यांकन हुन्छ । त्यो बेलासम्म मैले मेरो नेतृत्वमा काम गरेको भएर धेरै गोदाइ र नोक्सानी भोग्नुपर्ने हुन्छ । तर यसले पोखरालाई फाइदा गर्छ ।

सम्पूर्ण महानगरवासीलाई के भन्नुहुन्छ ?
हामी ४ वर्ष काटिसकेका छौं । अब १०, ११ महिना बाँकी छ । अब चुनावी वर्ष हो । हामीले आउने बेलामा एउटा प्रतिवद्धता गरेका थियौं– पोखरा सिस्टममा चल्छ भनेर । हाम्रो नेतृत्वले पोखरेलीको शिर झुक्ने काम गर्ने छैन भनेर पनि भनेका थियौं । आजको मितिसम्म शिर झुक्ने काम गरेका छैनौं र बाँकी समयमा पनि गर्दैनौं । नगरवासीका तमाम समस्या छन् ।

पोखरालाई एडभान्सड नगर बनाउन अझै यस्ता ३ कार्यकाल हेर्नुपर्छ । त्यति बेलासम्म नागरिकले यो भएन त्यो भएन भन्दा पनि नागरिकलाई शान्ति, सुरक्षा कायम गराइदिने हो भने पोखरा आकर्षक सहर बन्छ । अहिले जसरी पोखरेलीको सहभागिता छ, त्यति बेलासम्म रहनुपर्छ । हामीले गरेका काम नागरिकका अगाडि छँदैछन् । अझै धेरै काम गरे हुन्थ्यो भनेर गाली गर्नुभएको छ । हामी जाँदासम्म सबै काम गरेर जान्छौं ।

तपाईको प्रतिक्रिया