मुस्ताङः कोरोना संक्रमित थपिंदै, एकै साता ५ व्यक्तिको मृत्यु

समाधान संवाददाता २०७८ जेठ १४ गते ११:३२

सुन्दर थकाली \जोमसोम

हिमाली जिल्ला मुस्ताङमा कोरोनाबाट एकै साता ५ व्यक्तिले ज्यान गुमाएका छन् । कोरोनाबाट योसाता मुस्ताङको थासाङ गापामा २ जना,घरपझोङ गापामा २ जना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १ जना गरी ५ जना व्यक्तिले ज्यान गुमाएका हुन् ।योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
मुस्ताङ जिल्ला अस्पताल तथा स्थानीय तहका स्वास्थ्यकेन्द्रबाट रिफर गरिएका ८ जनाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो भने बाकी २ जनाको जिल्ला अस्पताल जोमसोममा उपचारका क्रममा मृत्यु भएको जनाईएको छ ।
कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङको थासाङमा ४५ ,६५ र ८० वर्षका कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य संयोजक सिताराम कार्कीले जानकारी दिए । घरपझोङमा ४३,५५,६५ र ७२ वर्ष उमेरका कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले बताए । यस्तै ,वारागुङ मुक्तिक्षेत्र गापामा ३३÷४१ र ८० वर्ष उमेरका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए ।
कोरोनाको दोश्रो भेरियन्टसंगै हिमाली जिल्ला मुस्ताङको थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गापा कोरोनाको ‘हट स्पट ’ बनेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मुस्ताङमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय २६ पुगेको छ । जसमध्ये ९५ जना व्यक्ति संक्रमण मुक्त भएका छन् भने १० जनाको मृत्यु भएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
मुस्ताङको घरपझोङमा ८३ संक्रमित मध्ये ४६ जना,थासाङमा ९६ संक्रमित मध्ये १७ जना र वारागुङ मुक्तिक्षेत्रमा १ सय ३६ जना मध्ये ३२ जना संक्रमण मुक्त भएको संम्वन्धित स्थानीय तहले जनाएका छन् ।यस्तै ,थासाङबाट १४ जना ,घरपझोङबाट ४ जना र वारागुङ मुक्तिक्षेत्रबाट ४ जना गरी १८ जना कोरोना संक्रमित रिफर भएका छन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ गापाका ११ जना कोरोना संक्रमित रहेको स्वास्थ्य संयोजक तेन्जिङ नर्वु गुरुङले जानकारी दिए । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा सीमित कर्मचारीले बाहेक स्थानीयले लक्षण भएर पनि परीक्षण गर्न नमानेको उनले बताए ।
कोरोनाको दोश्रो लहरसंगै मुस्ताङमा बैशाखको १५ गते देखि एन्टिजेन किट मार्फत कोरोना परीक्षण गरिएको थियो ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार हालसम्म १ हजार २ सय १० जना व्यक्तिलाई एन्टिजेन परीक्षण गरिएकोमा २ सय २३ जनामा कोरोना पोजेटिभ र १ सय ७९ जना व्यक्तिको पीसीआर परीक्षण गर्दा १ सय ३ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

मुस्ताङमा अहिले संक्रिय कोरोना संक्रमितको संख्या २ सय २१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया