आँखैअघि मृत्यु देखेकाको बयानः अक्सिजन नपाएर आडैको अन्टी ढल्नुभयो, म बाहिर निस्केर रोएँ

समाधान संवाददाता २०७८ जेठ १४ गते २१:३७
शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृतकका आफन्त । तस्बिरः अनुप/समाधान

अनुप पौडेल, पोखरा

साँझसम्म सबै ठीकठाक थियो । हाइफ्लो अक्सिजन पाउनुपर्ने सात जना बिरामीहरू रात परेपछि एक्कासि छटपटाउन थाले ।

बिरामीका आफन्त रोए–कराए : डाक्टर अक्सिजन गयो, आउनुपर्‍यो !

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल वार्डमा बनाइएको आइसोलेसनमा बिहीबार राति ९ बजेपछि आधा घन्टा कोलाहल मच्चियो ।

डाक्टर, नर्स बिरामीका आफन्तसँग डराएर क्याबिनमा ढोका लगाएर बसे । बाहिर प्रहरीले सुरक्षा दियो ।

अत्यधिक अक्सिजन चाहिने तीन जना गम्भीर संक्रमितले आवश्यकताअनुसार अक्सिजन नपाएर बिहीबार राति नै दम तोडे ।

बिहीबार राति अरूको मृत्यु देखेकासहित गरेर शुक्रबार बिहानसम्म क्षेत्रीय अस्पतालमा आठ संक्रमितको मृत्यु भयो ।

अक्सिजन नपाएर छट्पटिएकाको मृत्यु देखेका अरू बिरामीको मन अहिले बेचैन छ । ‘एकदम हंगामा भएको थियो । अक्सिजन एकछिन नआएको भए सबै जानुहुन्थ्यो होला हाइफ्लोमा भएकोहरू । खतरा नै भयो हिजो,’ उपचाररत एक महिलाले सुनाइन् ।

एक हप्तादेखि मेडिकल वार्डमा रहेकी पोखराकी ती महिला आफैं पनि सुत्केरी हुन् । कोरोना पोजेटिभ भएपछि उनलाई त्यहाँ राखिएको थियो ।

शुक्रबार उनको रिपोर्ट नेगेटिभ आयो । तर, बिहीबार रातिको घटनाको उनको दिमागमा घुमिरहेको छ । आधा घन्टा अक्सिजन आपूर्ति रोकिँदा उनीसँगै क्याबिनमा रहेकी अर्की महिलाले ज्यान गुमाइन् ।

‘आधा घन्टा अक्सिजन गयो । मेरो आडैको अन्टी अक्सिजन नपाएर भुक्लुक्क ढल्नुभयो,’ ती महिलाले सुनाइन्, ‘म एकदम नर्मल थिएँ । उहाँलाई देखेपछि म पनि कता ढल्छुजस्तो भएँ । बाहिर आएर रोएँ ।’

बिरामीका आफन्तले अक्सिजन चाहियो भन्दै डाक्टर, नर्सलाई बोलाइरहे । तर, डाक्टरहरू अवस्था जटिल बन्ने देखेपछि क्याबिनबाट बाहिरै निस्किएनन् । कोही आफै अक्सिजन खोज्न उद्योगसम्म पुगे, तर पाएनन् । लामो समय अक्सिजन नपाउँदा आइसोलेसनमा आफन्तको रूवाबासी नै चलेको ती महिलाले सुनाइन् ।

‘अक्सिजन नहुँदा धेरै गाह्रो हुँदोरहेछ । रूवाबासी भयो, मेरो बिरामी मरिसक्यो भनेर चिच्याउनुभएको थियो,’ उनले भनिन्, ‘डक्टरहरू हुनुहुन्थ्यो । भएर नदिएको होइन, लिन गएको छ भन्नुभएको थियो ।’

अस्पतालकै मेडिकल वार्डमा उपचाररत अर्का बिरामीले चार दिन पहिला पनि केहीबेर अक्सिजन आपूर्तिमा समस्या भएको सुनाए । उनका अनुसार त्योबेला पनि स्याङ्जा र तनहुँका एक/एक संक्रमितको ज्यान गएको थियो ।

अक्सिजनमा कुनै समस्या भए प्रहरी परिचालन हुने गरेको तीन सातादेखि उपचाररत ती बिरामीले बताए । ‘भित्र पुलिसको सुरक्षाभित्र डाक्टरहरू बस्नुभयो । अक्सिजन कम भएपछि पुलिस आइहाल्छन् । कुरूवाहरू डाक्टर भएको ठाउँमा गएर सीसा ठटाउँछन्, अहँ निस्कँदै ननिस्कने,’ उनले भने ।

बाहिरै ननिस्किएपछि बिरामीका आफन्तले डाक्टरलाई नै थर्काए । डाक्टर पनि क्याबिन भित्रबाटै प्रतिवादमा उत्रिए । ‘एक जना भाइको दिदी हिजो राति जानुभयो । त्यो भाइ साह्रै छट्पटियो । डाक्टरले तपाइँ यहाँ आएर थर्काउने अधिकार छैन भनेर भित्रबाट थर्काए,’ ती बिरामीले सुनाए ।

नियमित अक्सिजन पाएको भए धेरै बिरामी बाँच्ने उनी बताउँछन् । बिरामी छट्पटाउँदा डाक्टर नै नआएर लापर्बाही गरेको ती बिरामीको आरोप छ । ‘आफन्तहरू आफ्नै कर्मलाई दोष दिँदै जाँदै गर्छन् । कसैको स्वाभाविक मृत्यु हुन्छ त्यो ठूलो कुरा भएन,’ उनले थपे, ‘तर, डाक्टर आउँदै नआएर लापर्बाही गर्नु त भएन नि !’

आइसोलेसनमा आवश्यकता अनुसार अक्सिजन नपाउँदा बिहीबार राति ज्यान गुमाउनेमा एक जना सुत्केरी पनि थिइन् । पाँच दिन पहिला कोरोना पुष्टि भएपछि अपरेस गरेर सुत्केरी गराइयो ।

सुत्केरी गराएको पाँच दिनपछि उनले अक्सिजन अभावमा मृत्युवरण गर्नुप¥यो । अस्पतालमा अक्सिजन अभाव भएपछि सुत्केरी महिलाका आफन्त पोखरा औद्योगिक क्षेत्रस्थित अक्सिजन उद्योग पनि पुगे । तर, त्यहाँ नपाएपछि उनीहरू फर्किए ।

पछि अक्सिजन पाइयो, तर सुत्केरी महिलाले सास छोडिसकेकी थिइन् । ‘पाँच दिनको सुत्केरी हुनुहुन्थ्यो । उहाँ अक्सिजन नपाएर बित्नुभयो । बाहिरबाट अक्सिजन ल्याउनुभएको रहेछ । ल्याएर जोड्न नपाउँदै जानुभयो,’ उपचाररत एक महिलाले सुनाइन् ।

व्यक्तिगत सुरक्षाका लागि प्रहरी परिचालनः अस्पताल

अक्सिजन आपूर्ति अनियमित भएपछि बिहीबार राति क्षेत्रीय अस्पतालको आइसोलेसनमा प्रहरी नै परिचालन गरियो । आफन्तहरूले गुहार मागिरहँदा डाक्टर र नर्स अस्पतालको क्याबिनबाट निस्किएनन् ।

बिरामी र कुरूवाले लापरबाही गरेको बताइरहँदा अस्पतालले भने सुरक्षाका लागि बाहिर ननिस्किएको प्रतिक्रिया दिएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालले व्यक्तिगत सुरक्षाका कारण प्रहरी परिचालन गर्नुपरेको बताए ।

‘आफ्नै सुरक्षाको ग्यारेन्टी नभएपछि जान डराएको गुनासो स्वास्थ्यकर्मीले सधैँ गर्नुहुन्छ । जहिलेदेखि हामी आइसोलेसनमा काम गरिरहेका छौँ सधैँ भयवित अवस्थामा काम गर्नुपरेको छ,’ डा. बरालले भने, ‘पहिला आफू सुरक्षित हुनप¥या अनि अरूलाई सुरक्षा दिन सकिन्छ बल्ल ।’

पछिल्लो तीन दिनयता गम्भीर प्रकृतिका बिरामी बढेको र अक्सिजन व्यवस्थापनमा समस्या देखिएको उनले बताए । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालपश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालकै केही चिकित्सकको लगानी रहेको पोखरा अक्सिजन प्रालिबाट त्यहाँ अक्सिजन आपूर्ति हुन्छ ।

डा. बराल आफ्नै प्लान्ट भए केही राहत हुने बताउँछन् । बतास फाउन्डेसनले तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न पहलकदमी गरिरहेको छ । तर, अस्पतालको हालको मागलाई अक्सिजन प्लान्ट स्थापना भए पनि धान्न सक्दैन ।

क्षेत्रीय अस्पतालको आइसोलेसनमा दैनिक तीन सय ८० वटासम्म अक्सिजन सिलिन्डर खपत भइरहेको छ । प्लान्ट स्थापना भए त्यसले बढीमा डेढ सय सिलिन्डर मात्रै उत्पादन गर्न सक्छ । आधा माग निजी प्लान्टबाटै खपत गर्नुपर्छ ।

‘धन्न निजी लगानीमा चलेका अक्सिजन प्लान्ट छन् र यत्तिका दिनसम्म पुगेको छ । आफ्नै प्लान्ट भए थोरै राहत हुन्थ्यो,’ उनले थपे, ‘प्लान्ट भएरमात्रै पुग्दैन । प्लान्ट भए अभाव हुनसक्ने परिप्रेक्षमा समस्या समाधान हुनसक्छ

तपाईको प्रतिक्रिया