आजबाट बजेटका सिद्धान्त प्राथमिकतामाथि छलफल

समाधान संवाददाता २०७८ जेठ १८ गते ७:५०

अनिष भट्टराई, पोखरा

गण्डकी प्रदेश सभामा आजबाट बजेटका सिद्धान्त तथा प्राथमिकताउपर छलफल हुँदैछ । सोमबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले सदनमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।

कोभिड र पुराना योजनालाई प्राथमिकता दिँदै उनले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि सिद्धान्त प्राथमिकतामा छलफल हुने कार्यव्यवस्था परामर्श समिति सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

Advertisement

सरकारले कोभिडलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । प्रदेशका अर्थमन्त्री किरण गुरुङले सोमबार आउँदो आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै कोभिड नियन्त्रणलाई प्राथमिकता दिइएको बताए ।

कोभिडसँगै चालु आर्थिक वर्षमा अघि बढाइएका क्रमागत योजनालाई प्राथमिकता दिइने जनाइएको छ । ‘कोभिडको सामना गरेर जनजीवनलाई सामान्य बनाउन र वर्तमान सरकारका योजनालाई निरन्तरता दिएर प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रीत गरिनेछ,’ मन्त्री गुरुङले भने ।

Advertisement

मन्त्री गुरुङले सदनमा प्रस्तुत गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामा धेरै योजनाले निरन्तरता पाएका छन् । यस्तै प्रदेशमा पूर्वाधार विकास, उत्पादनमुखी र गरिबी निवारणका कार्यक्रमलाई जोड दिइने मन्त्री गुरुङको दाबी छ । उनका अनुसार आगामी आर्थिक वर्षलाई प्रदेश सरकारका कामको प्रगति समीक्षा वर्षको रुपमा अघि बढाइने छ ।

अन्तर सरकारी सम्बन्धलाई बनाउने बजेटको सिद्धान्त रहने उल्लेख छ । कोरोना भाइरसको तेस्रो लहर रोकथामका लागि पूर्वतयारीलाई प्राथमिकता दिइने बताइएको छ । आर्थिक सामाजिक क्षेत्रलाई पुनर्जीवित पार्न पुनर्जीवन कोष सञ्चालन गरिने अर्थमन्त्री गुरुङले बताएका छन् ।

प्रदेशका सबै नागरिकलाई खोपको व्यवस्था गर्न संघ सरकारसँगको समन्वयलाई प्राथमिकता दिइने विनियोजन विधेयकमा उल्लेख छ । कोभिडबाट अभिभावक गुमाएका बालबच्चाको शिक्षादीक्षाको व्यवस्था गर्ने कार्यक्रम ल्याइने अर्थमन्त्री गुरुङले बताए ।

भौतिक पूर्वाधार विकास र यातायात व्यवस्थामा धेरैजसो पुरानै योजनालाई निरन्तरता दिइएको छ । एक निर्वाचन क्षेत्र एक सडक, बहुवर्षीय योजनाहरु, एक घर एक धारा, प्रदेशमा काठेपोल विस्थापन लगायत कार्यक्रमले निरन्तरता पाउने भएका छन् ।

यातायातलाई व्यवस्थित बनाउन विद्युतीय प्रणालीमा आवद्ध गरिने अर्थमन्त्री गुरुङले बताएका छन् । कृषि क्षेत्रको उत्पादन बढाउन वर्षैभरि सिंचाइ पुग्ने व्यवसथा मिलाउन बजेटमा प्राथमिकता दिइने जनाइएको छ ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधारको विकास र जनशक्तिको व्यवस्थापनमा विशेष प्राथमिकता दिइने उल्लेख छ । प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालको पूर्वाधार निर्माणमा जोड दिइने बताइएको छ । अर्थमन्त्री गुरुङले एअर लिफ्टिङ लगायत कार्यक्रमलाई निरन्तरता दिइने जनाएका छन् । उनले भने, ‘सुरक्षीत मातृत्व र प्रजनन स्वास्थ्य अधिकारलाई थप सुनिश्चित गर्न एअर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

आगामी वर्षबाट नै गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठापनमा अध्ययन अध्यापन सुरु गर्न पहल गरिने विनियोजन विधेयकमा जनाइएको छ । प्रज्ञा प्रतिष्ठानलाई प्रभावकारी रुपले बढाइने जनाइएको छ । प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद पूर्वाधार निर्माणमा जोड दिने अर्थमन्त्री गुरुङले बताए ।
कृषि क्षेत्रको विकास र मुल्य शृंखलामा आधारित उद्योग स्थापना गर्न बजेटको व्यवस्था गरिने उल्लेख छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम, चक्लाबन्दी कार्यक्रमले निरन्तरता पाउने जनाइएको छ ।

अर्थमन्त्री गुरुङले पर्यटन श्रमिकका लागि बजेट व्यवस्था गरिने बताए । प्रदेशको गौरवका आयोजनाका रुपमा रहेका कास्कीको पुँडिटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र स्थापनाको योजनालाई निरन्रता दिइने मन्त्री गुरुङले जनाए । सुशासन र शासकीय सुधार अन्तर्गत प्रदेशका सबै सेवालाई विद्युतीय प्रणालीमा आवद्ध गरिने विनियोजन विधेयकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया