लोकनृत्यका माली मेनकाजी

समाधान संवाददाता २०७८ जेठ १९ गते ८:०१

ब्रिटिस लाहुरेको सपना त्यागेका मेनकाजीले लोकसंस्कृतिमा जीवनै बिताए

अमृत सुवेदी, पोखरा

पोखराको डाँफे कला मन्दिरले एकताका देशभरमै प्रसिद्धी कमाएको थियो । कास्की भदौरे तामागीका क्याप्टेन मीनबहादुर गुरुङले खोलेको मन्दिर पोखराकै कला, साहित्य, संगीत र नृत्यको पाठशाला थियो । नेपालका नमुद कलाकार पनि मन्दिरमा प्रस्तुति दिन आउँथे ।

Advertisement

२०३२ सालमै खुलेको कला मन्दिरका सञ्चालक गुरुङ ‘डाँफे बाजे’ का नामले चर्चित थिए । विशेष नृत्य पाठशालाको रुपमा चिनिएको मन्दिरका तिनै ‘डाँफे बाजे’ लाई भेट्न सिक्लेसबाट बेग मारेर पोखरा झरेका थिए, मेनकाजी गुरुङ । यो ३०३७ सालतिरको कुरा हो ।

लोकसंस्कृतिको पाठशाला डाँफे कला मन्दिरमा मेनकाजी पुग्नुको कारण भने कलाकार बन्ने थिएन । ‘डाँफे बाजे’लाई फकाएर अर्कै सपना पूरा गर्न मेनकाजीले नृत्य सिक्न थाले ।

Advertisement

पोखरा उपत्यकाभन्दा मास्तिरका अग्ला डाँडाहरुमा प्राय गुरुङ बस्ती थिए । संस्कृतिकर्मी प्राडा जगमान गुरुङकाअनुसार त्यही डाँडाबाट गएर भर्ती भएकाहरु झरेपछि पोखरा पनि लाहुरेहरुको सहर बनेको हो । गुरुङ बाहुल्य रहेको गुजुमुज्ज परेको पुरानो गाउँ सिक्लेसबाट लाहुरे सपना बोकेरै पोखरा झरेका थिए, मेनकाजी ।

प्राय घरपिच्छे लाहुरे रहेका सिक्लेसका मेनकाजीलाई पनि ब्रिटिस लाहुरे बन्ने सपना थियो । ब्रिटिस सेनाबाट अवकास प्राप्त ‘डाँफे बाजे’ले भनिदिएपछि लाहुरे हुने सम्भावना देखेर उनी कला मन्दिर पुगेका थिए । हुन पनि सिक्लेसका गाउँले दाइ डाँफे कला मन्दिरमा गएपछि त्यसरी ब्रिटिसमा भर्ती भएका थिए ।

नृत्य सिक्न थालेको केही महिनामै भारतीय पेन्सन क्याम्पमा गल्ला आयो । मेनकाजीले पनि कुपन त लिए तर ब्रिटिस लाहुरेको सपनाले फेरि त्यहाँ छाति नाप्नै गएनन् ।
डाँफे कला मन्दिरमा गएको ४ वर्षपछि मेनकाजीको सपनाको ढोका खुल्यो । डाँफे बाजेले ब्रिटिस लाहुरे हुने प्रबन्ध मिलाइदिए । लाहुरे हुने पक्का भइसकेपछि पनि २ महिना पोखरामै रहनुपर्ने थियो । त्यो बेला डाँफे कला मन्दिरले रोधि घर कार्यक्रम लिएर वुटवल, नेपालगन्ज दाङ र भारतको सिक्किमसम्म पुग्थ्यो ।

बर्सेनि हुने सांगीतिक यात्रामा काठमाडौंबाट पाण्डव सुनुवार, राम थापा, कुमार बस्नेत, मीरा राणा, सुशीला रायमाझी सम्भु राइ लगायत र पोखराबाट डाँफे कला मन्दिरका मेनकाजीसहित कलाकार सिक्किमसम्म पुग्ने पक्का भइसकेको थियो ।

‘नेपालकै सुप्रशिद्ध कलाकारसँगै सांगीतिक यात्रामा सिक्कमसम्मको जान लागेको डाँफे मामाले नै बताएपछि गोराले पनि २ महिना अझै छ जाउ नाचेर आउ भनेर पठाए,’ मेनकाजीले ती दिनको किस्सा सुनाउँथे ।

२ महिनाको सांगीतिक यात्रा सकेर फर्किँदा साथीहरु ब्रिटिस गइसकेका थिए, मेनकाजी छुटे । ‘तर म यहाँ नाच्दै संगीतसँग खेल्न छाडेर गोराको देशमा बन्दुकसँग खेल्न जान्नँ भन्ने भइसकेको थियो । मनमनै ठिकै भो भनेर रमाएँ,’ मेनकाजीले बिगत खोल्थे ।

लाहुरे नभए पनि मेनकाजीलाई सिक्लेस गैरीथर फर्किनु परेन । नाचेर, रमाएरै जीवन बिताए । लाहुरे हुने सपनाको मूल ढोका बन्द गरेर मेनकाजीले लोक नृत्य र संस्कृतिसँग रमाउने रहरको ढोका खोले । त्यसयता रहर र संकल्पको राजमार्गबाट मेनकाजी बिचलित भएनन् । बरु यही क्षेत्रलाई व्यावसायिक बनाए र जीवन नै लोक संगीत र संस्कृतिको क्षेत्रमा व्यतित गरिदिए ।

डाँफे कला मन्दिरबाट नृत्य मास्टर भएका मेनकाजीले नेपालदेखि भारत, पाकिस्तान र बंगाली फिल्ममासमेत काम गरे, नाचे र कोरियोग्राफी गरे । पोखरामा नाट्य क्षेत्रमा सक्रिय भए । हाँस्य प्रहशन लिएर काठमाडौं पुगे । निजी स्कुलमा नृत्य शिक्षक राख्नु पर्छ भन्ने ट्रेन्ड बसाले । जीवनभर नयाँ पुस्तालाई लोक नृत्य र संस्कृति सिकाइरहे । नेपालभरका लोक नृत्यलाई एउटै मञ्चमा ल्याए ।

डाँफे कला मन्दिर हुँदै हिमाली सांस्कृतिक परिवारमार्फत लोक संस्कृतिलाई प्रदर्शन गरिरहे । पोखरामा कुनै लोक नृत्य, सांस्कृतिक उत्सववा कुनै ठूला कार्यक्रम होस् र त्यहाँ मेनकाजी तथा हिमाली सांस्कृतिक परिवार नहोस्, प्राय त्यो सम्भवै नहुने अवस्थासम्म ल्याए ।

सिक्लेसमाथि लेकतिरको भेंडीगोठ र गाउँघरैकै रोधी मेलापातमा मेनकाजीले बाल्यकाल बिताए । त्यो नै उनको पहिलो लोक संस्कृति र नृत्यको पाठशाला बन्यो । सिक्लेसमा उमेर समूहअनुसार ३ प्रकारका रोधी हुन्थे । ‘एक गाउँबाबट अर्को गाउँमा रोधी जाने, दिनभरको थकान नाचेर गाएर मेटिन्थ्यो,’ मेनकाजीको भनाइ थियो, ‘तर पछिल्लो समय रोधीलाई विकृत दृष्टिकोणले हेर्न बनाइयो । यो गाउँको सम्भता र संस्कृति पो हो त । नयाँ पुस्ताले बुझेनन् ।’

गाउँमै लोकसंस्कृतिमा भिजेका मेनकाजीलाई डाँफे कलामन्दिर राम्रो पाठशाला बन्यो । पोखरामै प्रत्यक्ष दोहोरी प्रतियोगिताको चलन डाँफेले बसाएको उनी बताउँथे । ‘डाँफे नृत्य, संगीत, नाटक र कला साहित्यको समेत गतिलो मञ्च थियो । एउटा कल्पना सिनेमा हल थियो, अरु थिएनन्,’ मेनकाजी सम्झन्थे, ‘पूर्व पश्चिमबाट नृत्य मास्टरसमेत ल्याएर नाच सिकाइन्थ्यो ।’

सरोज गोपालहरुले डाँफेमै गीत गाउँथे । राघवलाल वैद्य, तीर्थ श्रेष्ठ, सरुभक्तहरुले नाटक मञ्चन गर्थे । नृत्यको स्कुल नै भएको उनी सुनाउँछन् । डाँफेको इतिहास रलोकसंस्कतिलाई मर्न नदिने जमर्को आफूले गरेको मेनकाजीको भनाइ थियो ।
अर्जुनजंग शाहीदेखि नारायण गोपाल, गोपाल योञ्जनजस्ता सुप्रसिद्ध हस्तीहरु पोखरा आउँदा प्रस्तुति दिने थलो बगरको डाँफे कला मन्दिर नै थियो । जसको एउटा सारथी हुन पाउँदा मेनकाजीको छाती गर्वले फुल्थ्यो ।

नृत्यमा भारतको इलाहाबादबाट डिप्लोमा कोर्स गरेका मेनकाजीले कान्छी फिल्मका नृत्यसमेत गरेका थिए । चर्चित नृत्य निर्देशक वसन्त रायमाझी मेनकाजीका गुरु थिए । उनैले थुप्रै नेपाली फिल्म नृत्यदेखि निर्देशनसम्म गराएका थिए । कान्छ, सन्तान, के घर के डेरा जस्ता फिल्मा उनले काम गरेका थिए भने भारतीय, बंगाली र पाकिस्तानी फिल्ममा समेत काम गरेका थिए ।

‘यो सबै कुराको प्रबन्ध गुरु वसन्त रायमाझी गर्नुभएको हो । १ दर्जन नेपाली फिल्ममा काम गरें । काका चेतन कार्कीले पनि प्रोत्साहन गर्नुहुन्थ्यो,’ मेनकाजी भन्थे, ‘कल्याण शेरचन, पूर्ण नेपालीहरुले पनि लोकसंस्कृतको क्षेत्रमा काम गर्न अभिप्रेरित गर्नुभयो ।’

नारायण गोपाल राष्ट्रिय नाचघरको प्रवन्ध निर्देशक हुँदा आफू र वीरबहादुरगुरुङले कमिक गर्दा अर्को हरिवंश र मनकृष्ण श्रेष्ठको जस्तै जोडीको प्रस्तुति भन्दै सञ्चार माध्यममा आएको खरबरले मेनकाजीलाई खुसी दिलाइरहन्थ्यो ।

३६ वर्षसम्म पोखरामा विद्यार्थीलाई नृत्य र लोकसंस्कृति सिकाएका मेनकाजीले २० वर्षसम्म पोखराबाट सांस्कृतिक झाँकीसहितको प्रहरीको नृत्य टोली लिएर प्रहरी तालिम केन्द्र गएका थिए । पूर्व राजा वीरेन्द्र र ज्ञानेन्द्र शाह परिवारपोखरा रत्न मन्दिरमा बस्दा नृत्य र सांस्कृति झाँकी देखाउने जिम्मा उनै मेनकाजीले पाउँथे ।

‘थुप्रै पटक प्रशंसा गर्दै वीरेन्द्रले काँधमा थम्थमाए,’ उनले भन्थे, ‘झ्याउरे, कौरी, सोरठी, बालन, कृष्ण चरित्र, पश्चिमको थारु नाचदेखि पूर्वको धानसम्म हामीले एउटै मञ्चमा देखाउँदै आएका छौं ।’

१९८८ मा एभरेस्ट कल्चर ग्रुपसँग मिलेर डाँफे कला मन्दिरबाट पोखराका ३ जना कलाकार फ्रान्स, स्पेन, इंग्ल्यान्डलगायत देश पुगेर २ महिनासम्म नेपाली लोक संस्कृतिको प्रस्तुति राखेका थिए ।

‘जतिबेला बिदेशमा नेपालीले यस्ता कार्यक्रम एकदमै कम लान्थे र लगेकाहरु पनि धेरैजसो लेक्थे,’ मेनकाजीको भनाइ थियो, ‘तर हामी फर्किएर फेरि लोक संस्कृतिकै क्षेत्रमा लाग्यौं ।’ मेनकाजीले २०६१ सालमा गोरखा दक्षिण बाहु प्राप्त गरेका थिए । राष्ट्रिय शिक्षा पुरस्कार पनि पुरस्कृत भएका थिए ।

हिमाली सांस्कृतिक परिवारको जन्म

‘डाँफे बाजे’ क्या. मीनबहादुरको मृत्युपछि डाँफे कला मन्दिर सेलायो । पोखरामा लोक नृत्य र संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था नै भएन । त्यसपछि मेनकाजीहरुकै अगुवाइमा पोखरामा हिमाली सांस्कृतिक परिवार खुलेको हो ।

त्यसको पछाडि अर्को कथा छ । विदेशमा प्रस्तुति राख्ने अवसर काठमाडौंले मात्र पाउने तर पोखरा छाँयामा पर्ने कुराले उनलाई पिरोलिरहन्थ्यो । हुन त उनी त्यसअघि नै हङकङ, सिंगापुर, ब्रुनाई गइसकेका थिए । तर, पोखराका अन्य कलाकार खासै अवसर पाएका थिएनन् ।

२०५२ सालमा उनी लगायत ६ जना कलाकार २÷२ लाख रुपैयाँ खर्चेर हङकङ गए । कार्यक्रम सफल भए ठिकै छ नत्र चिठ्ठा नै भयो भनेर हङकङ गएका उनीहरुले धेरैको मन जिते । कार्यक्रमबाट फर्किँदा सबै हिसाब कटाएर पनि ९५ हजार रुपैयाँ बचत भयो ।

त्यो पैसा के गर्ने भन्ने सल्लाह हुँदा संस्था खोलेर काम गर्ने अवधारणसहित २०५३ सालमा हिमाली सांस्कृतिक परिवार खुलेको हो । टीका कार्की, बलराम केसी, यम गुरुङ, शिवशंकर रञ्जितसमेतको अगुवाइमा रुपेनबाबु थापाको अध्यक्षतामा खुलेको हिमाली सांस्कृतिक परिवारमा मेनकाजी उपाध्यक्ष बसे ।

त्यसयता हिमाली सांस्कृतिक परिवारले पोखरामात्रै नभएर देशका विभिन्न ठाउँमा लोक नृत्य र संस्कतिका क्षेत्रमा हस्तक्षेप गर्दै आइरहेको छ । मेनकाजीले लामो समय हिमाली सांस्कृतिक परिवारलाई नेतृत्व दिँदै आइरहेका थिए ।

लोक नृत्य र संस्कृतिको क्षेत्रमा अनवरत लागिरहेका ऊर्जाशील मेनकाजीको मंगलबार मृत्यु भएको छ । कोरोनालाई जितेर पनि मेनकाजीलाई मुटुको समस्याले ५८ वर्षकै उमेरमा लगेको छ ।

कोरोनाका कारण जीवन संगीनि गुमाएको एक महिना पनि नबित्दै संस्कृतिकर्मी मेनकाजीको पनि मृत्यु भएको हो । उनको मृत्युले पोखराकै लोकसंस्कृतिको क्षेत्रमा क्षति पुगेको कला, साहित्य, संगीत र संस्कृतिकर्मीले बताइरहेका छन् ।

‘आफैं नृत्यका कुशल कलाकार थिए, असल प्रशिक्षक थिए । देशभरका संस्कृतिलाई जोड्ने एक संस्कृतिकर्मी, अभियन्ता थिए, मेनकाजी,’ संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठले भने, ‘उनी समाजसेवा र लोकसंस्कृतिलाई असाध्यै माया गर्ने एक साधक थिए ।’

लोक संग्राहलयको सपना
मेनकाजीले पोखरामा लोक संस्कृति संग्राहलय खोल्न थाहान्थे । विशेष गरी गण्डकी प्रदेशभरिका लोक नृत्य र संस्कृतिसँग सम्बन्धित बाजा, भेषभूष र परम्परागत नृत्यसँग जोडिएका सामाग्रीहरुसहितको संग्राहलय खोल्न मेनकाजीले पहल गरिरहेका थिए ।

मेनकाजीको सपना पूरा गर्न हिमाली सांस्कृतिक परिवारले जनाएको छ । पोखरामा बर्सेनी लोकसंस्कृतिको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कृतसमेत गर्दै आएको छ ।

पोखराले नयाँ पुस्तालाई लोकसंस्कृति हस्तान्तरण गर्नुपर्छ र परम्परागत सम्पति बचाइराख्नुपर्छ भन्ने ऊजाशील व्यक्ति भएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।

‘मेनकाजी गुरुङ नवकलाकारलाई माया गर्ने, लोक संस्कृतिको संरक्षणबारे सोचिरहने, संस्कृतिलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने ऊर्जावान मान्छे पोखराले गुमायो,’ गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया