बजेटका प्राथमिकता

समाधान संवाददाता २०७८ जेठ १९ गते ८:०९

सम्पादकीय

संघीय सरकारको बजेट १५ जेठमा आयो र कोभिड १९ लाई प्राथमिकतामा राख्यो । स्वास्थ्य क्षेत्रलाई ऐतिहासिक रुपमा बजेट विनियोजन भएको छ । खासमा त शिक्षा र स्वास्थ्यमा राज्यले धेरैभन्दा धेरै लगानी गर्नु नै पर्ने थियो । त्यसमाथि समाजवादी सिद्धान्त भएको सरकारले पनि त्यसो नगर्नु आफैमाथि नैतिक प्रश्न हुन्थ्यो ।

यसअघिदेखि नै त्यसो गर्नुपर्नेमा नगरिएको साँचो हो । कम्युनिस्ट सरकारले आफू कम्युनिस्ट हुँ भन्ने छनक दिन नसकेकै हो । ढिलै नै सही सरकारको आँखा खुलेको छ । हुन त यो आँखा आफै खुलेको पनि कहाँ हो र ? कोभिड १९ नआएको भए सायद सरकारको आँखा यसरी नखुल्न पनि सक्थ्यो ।

Advertisement

केही हजार मानिसले ज्यान गुमाइसकेका छन् । गुम्ने क्रम जारी नै छ । सरकारी अस्पताल साधन स्रोत सम्पन्न नहुनुको बिडम्वना अहिले नागरिकले भोग्नुपरेको छ । ठूला ठूला अस्पतालमा पनि अक्सिजन प्लान्ट नहुनु बरु सरकारी अस्पतालमै काम गर्ने डक्टरले अक्सिजनका निजी उद्योगमा लगानी गर्नु जनता र देशमाथिको ठूलो घात हुँदै हो ।

राज्य त्यसमा टुलुटुलु मूक दर्शक बन्नु अर्काे अपराध । गण्डकी प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्छ, संवैधानिक व्यवस्था अनुसार । त्यसका लागि अर्थमन्त्री किरण गुरुङले १७ जेठमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे । उनले पनि कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता दिने गरी बजेट ल्याउने सार्वजनिक गरे । जुन स्वागतयोग्य कुरा हो ।

Advertisement

कोभिडसँगै चालु आर्थिक वर्षमा अघि बढाइएका क्रमागत योजनालाई प्राथमिकता दिइने जनाइएको छ । ‘कोभिडको सामना गरेर जनजीवनलाई सामान्य बनाउन र वर्तमान सरकारका योजनालाई निरन्तरता दिएर प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित गरिनेछ,’ मन्त्री गुरुङले भनेका छन् । बजेटले प्रदेशमा पूर्वाधार विकास, उत्पादनमुखी र गरिबी निवारणका कार्यक्रमलाई जोड दिने मन्त्री गुरुङको भनाइ छ । स्वास्थ्यलाई जोड दिँदादिँदै बाटोघाटो र बिजुली अनि पानीलाई छुटाउन हुँदैन ।

स्वास्थ्यको पूर्वाधार भनेको तिनै पनि हुन् । स्वास्थ्य चौकीको भवन बन्नु, अस्पताल भवन बन्नु वा जनशक्तिको व्यवस्था र उपकरण पु¥याएर मात्रै स्वास्थ्यको पूर्वाधार तयार हुँदैन । बिरामी आउनसक्ने बाटो पनि चाहिन्छ । उपकरण चलाउन बिजुली चाहिन्छ र पानी त झन् अनिवार्य नै भयो ।

हो, गण्डकी प्रदेश सरकारले यसअघिदेखि नै आफू मातहतका अस्पतालहरुको स्तरोन्नतिमा ध्यान पु¥याउँदै आएको हो । जति पु¥याएको थियो । त्यो काफी थिएन । यो सरकारलाई पनि अब स्वास्थ्यमा थप लागिपर्न कोभिडले नै बल दिएको छ । आफूलाई अब्बल बनाउने र नागरिकको मन जित्ने मौका पनि हो यो सरकारलाई ।

तपाईको प्रतिक्रिया