सत्ताको रस्साकस्सीमै बित्यो प्रि बजेट छलफल

समाधान संवाददाता २०७८ जेठ २१ गते ७:४७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभामा प्रि बजेटमाथिको छलफल सकिएको छ । मंगलबारबाट ३ दिन सांसदहरुले विनियोजन विधेयक २०७८ का सिद्धान्त प्राथमिकतामाथि छलफल गरेका थिए । तर छलफलमा विपक्षी दलका सांसदहरुले भने कुनै सुझाव दिन मानेनन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतको भएको र यसअघि आफूहरुका कुनै सुझाव बजेटमा नसमेटिएकाले आफूहरुले सुझाव नदिएको विपक्षी सांसदहरुले बताए ।

Advertisement

मंगलबार र बुधबारका छलफल बजेटमाथि भन्दा पनि राजनीतिक स्थिति, अंक गणितमाथि बढी बहस भएको थियो । बिहिबार प्रदेश सभामा सभामुखको भूमिकामाथि पनि प्रश्न उठाइएको थियो । त्यस बाहेक प्रदेश सभामा बिहीबार पनि राजनीतिक विषयमाथि मात्र बहस भयो, बजेटमा छलफल हुन सकेन ।

बिहीबारको बैठकमा एमाले सांसद रोशन गाहा मगरले प्रदेश सभामा सेटिङ चलिरहेको भन्ने विपक्षी सांसदको भनाइ सही रहेको बताए । आफूहरुले सेटिङ नगरेको र विपक्षीहरुले सेटिङमा सत्ताका सांसद नबोलाएको उनको तर्क थियो ।

Advertisement

‘हो प्रदेश सभामा सेटिङ छ, तर हामीले होइन विपक्षी सांसदहरुले । कुटी रिसोर्टमा भएको सेटिङ हामीले गरेको हो ?’ उनको प्रश्न थियो ।

सभामा कार्यव्यवस्था परामर्श समितिमाथि एमाले सांसद मनबहादुर गुरुङले उठाएका प्रश्नलाई सदनको रेकर्डबाट हटाउन गरिएको रुलिङको उनले आलोचना गरे । ‘कहाँको लोकतन्त्र हो यो ? जवाफ चाहियो,’ उनले भने । बुधबार सांसद गुरुले कार्यव्यवस्थाले राजीनामा दिनुपर्ने बताएपछि सभामुखले नियमावली विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

उनले घुमाउरो पारामा सभामुखको भूमिकामाथि थप आलोचना गरे । सांसद गाहाले कविता मार्फत् सभामुखले सत्तारुढ सांसदले बोल्ने समय छिटो काटिदिने गरेको सुनाए ।

हे बत्ती, म नआउँदै बलिरहन्छौ
हे पहेंलो बत्ती, आधा आधी नहुँदै बोल्छौ
हे बत्ती,
पूरा समय हुँदाहुँदै रातो बत्ती बल्छौ
तिमीमा के नैतिकता छ र ?
सही गर्छु भन्दा भन्दै सूचना टाँसेर भाग्छौ ।

एमाले सांसद इन्द्रधारा विष्टले सदनको गरिमा रोष्टममा बोल्नेले मात्र नगर्ने बताए । ‘रोस्टममा बोल्ने माननीयले मात्र सदनको गरिमा राख्ने होइन, सबैले हो,’ उनले सभामुखलाई इंगित गर्दै भने ।

आगोको राप जति ठूलो भएपनि पानीले आगोलाई निभाएर छाड्ने भन्दै एमालेले ‘कम्फर्टेबल’ गठबन्धनलाई हराउने उनको भनाइ थियो । ‘आगो त खरानी बन्छ तर पानी सकिँदैन । बाफ बनेर पछि वर्षिन्छ अनि आगोलाई सखाप पार्छ,’ उनले भने ।

एमाले सांसद इन्द्रलाल सापकोटाले अहिले गण्डकी प्रदेश सभा संसदको जोडघटाउमामात्रै केन्द्रीत बनेको बताए । प्रदेश सभाका दलहरुबीच अहिले संवादको जरुरी रहेको र उत्तेजनाको राजनीति उचित नहुने बताए ।

माओवादी सांसद दीपक कोइरालाले केबल विपक्षी सांसदले प्रि बजेटमा सुझाव दिएनन् भन्न् गलत रहेको बताए । प्रदेश प्रमुखले सरकार गठनका बेला गलत गरेकाले सजाय भोग्नु परेपनि आलोचना गरिरहने उनको भनाइ थियो ।

‘हामीमात्रै सुझाव नदिएका होइनौं, स्वयं सरकारका साथीहरुले दिनु भएको छैन, उहाँहरु त बोल्नुहुन्न त म किन बोलुँ ?’ उनको प्रश्न थियो । प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाएर सर्वदलीय सरकार बनाउन आफूहरु तयार रहेको कोइरालाले बताए । सांसद दीपक थापाले सत्ताको अवरोधका कारण पछिल्लो समय विकासका काम हुन नसकेको बताए ।

जनता समाजवादीका सांसद हरिशरण आचार्यले अहिले अल्पमतको सरकारले बजेटका प्रक्रिया थाल्नु लाजमर्दो भएको बताए । जनमोर्चाकी सांसद पियारी थापाले अल्पमतको सरकारलाई सुझाव दिनुको कुनै औचित्य नरहने बताइन् । आफ्नो पार्टी स्वतन्त्र भएकाले सत्ताले आफूहरुलाई शक्ति देखाउन नसक्ने बताइन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अहिले प्रदेश संघकै सिको गरेर अघि बढेको बताए । संघले अहिले कम्युनिस्टको इज्जत समेत नजोगिने गरी बजेट ल्याएको उनको तर्क थियो । केन्द्रले झैं प्रदेशले पनि गलत बाटोबाट बजेट ल्याउन सक्ने सम्भावना रहेको उनको आशंका थियो ।

सदनमा उठेका प्रश्नको जवाफ दिन गएका अर्थमन्त्री किरण गुरुङले जवाफ दिन कुनै विषय भेटेनन् । विपक्षीले बजेटका सिद्धान्त र प्राथमिकतामा प्रश्न नै नराखेपछि उनले प्रदेशले कोभिड नियन्त्रणमा गरेका कामहरुको बेलिबिस्तार लगाए । विपक्षी सांसदहरुले राखेको निर्वाचन क्षेत्र विकास कार्यक्रम बारेको आशंका मेट्दै मन्त्री गुरुङले सो कार्यक्रमले निरन्रता पाउने बताए ।

सभामुख नेत्रनाथ अधिकारीले संसद बैठकलाई जेठ २३ सम्मका लागि स्थगित गरेका छन् । अब बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कि नीति कार्यक्रम पेश गर्ने भन्ने निक्र्योल हुन भएको छैन ।

तपाईको प्रतिक्रिया