भेदभाव अन्त्य गर्न सोच र व्यवहार परिर्वतन आवश्यक: प्रदेश प्रमुख पौडेल

समाधान संवाददाता २०७८ जेठ २१ गते १७:२१

समाधान संवाददाता, पोखरा

Advertisement


गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबैखालका विभेद अन्त्य गर्दैै न्याय र समानतामूलक समाजका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले अन्धविश्वास लगायत अमानवीय व्यवहारहरुलाई कानुनको परिपालनासँगै मानवीय सोच र व्यवहारमा परिवर्तन गरेर निरुत्साहित गर्नुपर्ने बताइन् ।
सन्देशमा भनिएको छ, ‘सुसभ्य, न्यायिक र समतामूलक समाज निर्माणका लागि सबै प्रकारका जातीय विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वास लगायत अमानवीय व्यवहारहरुलाई निर्मुल पार्न कानुनको परिपालनासँगै मानवीय सोच र व्यवहारमा पनि परिवर्तन जरुरी छ ।’
नेपालको संविधानको प्रस्तावनामा नै वर्गीय, जातीय क्षेत्रीय, भाषिक, धार्मिक लैंगिक विभेदको अन्त्य गर्ने कुराको सुनिश्चित गर्दै मौलिक हक अन्तर्गत समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक व्यवस्था गरिएको भएपनि समाजमा यस्ता खालका घटनाहरु अझै निर्मुल हुन नसक्नु बिडम्बना भएको सन्देशमा उल्लेख छ ।


सन्देशबाट सबैको मानव अधिकारको संरक्षण सहित आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टीका लागि सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सरकारी संयन्त्र तथा निकाय, सामाजिक संघसंस्थाहरु, सञ्चार माध्यम, नागरिक समाज तथा आम नागरिकहरुलाई सक्रिय रुपमा लाग्न प्रदेश प्रमुख पौडेलको आह्वान छ । प्रदेश प्रमुख पौडेलले कोरोना महामारीको यो कठिन समयमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मानवीयतालाई केन्द्रविन्दुमा राख्दै महामारी विरुद्ध एकजुट भएर लाग्न पनि आग्रह गरेकी छन् ।

मानव मानवबीचको सम्बन्धमा कुरीतिको रुपमा रहेको जातीय भेदभावलाई विसं २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनबाट पुनःस्थापित संसदले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । २०६८ मा जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन बनेको थियो । सरकारले जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया