२८ दिने बच्चा एनआइसियुमा, बाउआमा आइसोलेसनमा

समाधान संवाददाता २०७८ जेठ २२ गते ८:१५

अनिष भट्टराई, पोखरा

जानबहादुर बुढाका २८ दिने छोरा बालसघन उपचार कक्ष (एनआइसियु) मा छन् । जन्मेको २३ औं दिनमा उनमा कोरोना देखिएपछि उनलाई मणिपाल अस्पतालले निकालिदियो । अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनी उपचाररत छन् ।

छोराको उपचारका लागि अस्पताल पुगेका जानबहादुरले २ दिनबाट छोरा हेर्न पाएका छैनन् । जानबहादुर दम्पत्तीमै कोरोना पुष्टि भएको छ । जानबहादुरकी श्रीमती कामनाले छोरालाई स्तनपान गराउँदा बाहेक अरु बेला छोराको अनुहार देख्दिनन् ।

Advertisement

आफू पनि संक्रमित भएपछि गम्भीर अवस्थामा एनआइसियुमा राखिएका छोरालाई झन् गाह्रो हुन सक्ने भन्दै धेरै भेट दिइएको छैन ।

जानबहादुर र कामनाले अस्पतालकै एउटा छुट्टै क्याबिन पाएका छन् । दिनभर जानबहादुरको दम्पत्ती एकआपसमा भलाकुसारी गरेर बिताउँछन् । बाहिरका मान्छेसँग भेट हुँदैन । आफ्ना भन्नु अरु कोही छैनन् । जानबहादुर झ्यालबाट बाटोतिर चिहाइरहन्छन् ।

Advertisement

कामनालाई भने हरेक पल आफ्ना छोरासँग जान मन लाग्छ । काखमा खेलाउन मन लाग्छ । तर सक्दिनन् । कारण उनलाई राम्रोसँग थाहा छ– धेरै समय छोरासँग बसे उसलाई संक्रमणले थप सताउन सक्छ ।

‘उसैसँग बसिरहौं भन्ने त हुन्छ नि, तर झन् कोरोनाले सताउन सक्छ भनेर बस्दिनँ,’ उनी भन्छिन् । आफू निकै हुँदिहुन् त पलपल काखमा च्यापेर खेलाउँदिहुन् । तर बच्चा नजिकै भएरपनि निकै टाढा छन् । ‘यहिँ छ तर भेट्न सक्दिनँ, कहिले निको होला जस्तो लाग्छ, अनि उसलाई काखमै राखिराख्न सक्छु,’ उनले सुनाइन् ।

जानबहादुरलाई भरोसा छ, ‘छोरालाई केही हुन्न, ऊ अस्पतालबाट एकदिन पक्का निस्कन्छ ।’ उनलाई अर्को पीडाले पिरोलिरहेको छ । महिनाको २८ सय कोठाभाडा बढ्दो छ । फूलबारीमा डेरा लिएर बसेका जानबहादुरले वैशाखबाट कोठाभाडा बुझाएका छैनन् ।

तत्काल नयाँ काम पाउने नपाउने टुंगो छैन । बिरामी हुनुअघि जानबहादुरले दैनिक ज्यालामा मजदुरी गर्थे । अहिले काम रोकिएकोे छ । ‘सञ्चो हुनेबित्तिकै काममा गइहाल्न पनि नसकिएला, कोठाभाडा कसरी तिर्ने भन्ने पिरले सताउँछ,’ उनले सुनाए ।

जानबहादुरका २१ दिने छोरालाई धरौटी रकम बुझाउन नसक्दा पोखराको मणिपाल अस्पतालले आवश्यक उपचार नगरी डिस्चार्ज गरेको थियो । ९० हजार धरौटी र दिनको २२ देखि २८ हजारसम्म पैसा बुझाउन नसक्ने भएपछि अस्पतालले जानबहादुर बुढाका बच्चालाई निकालिदिएको थियो ।

‘९० हजार रुपैयाँ धरौटी र सिरियसनेस हेरेर २२ देखि २८ सम्म लाग्ने बतायो, म मिस्त्री काम गर्नेले कसरी तिर्ने त्यत्रो ?’ बुढा बताउँछन् । अहिले बुढाले आफ्ना बच्चालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका छन् ।

वैशाख २३ गते मणिपाल अस्पतालमा जन्मिएका शिशुमा जेठ १ गते समस्या देखिएको थियो । परिवारले ती शिशुलाई जन्मिएकै अस्पतालमा पु¥यायो । अस्पतालमा उनलाई एनआइसियुमा ३ दिन राखेर उपचार गरियो ।

तर उनको स्वास्थ्यमा सुधार आएन । पुनः बच्चालाई जानबहादुरले १२ जेठमा अस्पतालमा भर्ना गराए । १३ जेठमा बच्चामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले बच्चा र जानबहादुर दम्पत्ती अस्पतालमै छ ।

तपाईको प्रतिक्रिया