पृनाका आंशिक प्राध्यापकको माग पूरा गर्न दबाब

समाधान संवाददाता २०७८ जेठ २२ गते २०:५२


समाधान संवाददाता, पोखरा

पृथ्वीनारायण बहुमुखी क्याम्पसमा प्रमुख प्राडा सरोज कोइरालाले आंशिक प्राध्यापकका मागलाई समाधान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । त्रिभुवन विश्वविद्यालयले अनुमति दिए आन्तरिक स्रोत समेत खर्च गरी आंशिक प्राध्यापकको माग पूरा गर्ने उनको भनाइ छ ।
समान कामको समान ज्याला माग्दै आन्दोलित आंशिक प्राध्यापक, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरु र क्याम्पस वार्ता कमिटीबीच शुक्रबार भएको जुम मिटिङमा कोइरालाले उक्त जानकारी दिएका हुन् ।
आंशिक प्राध्यापकहरुले पूर्वसहमति अनुसारको माग पूरा नभए अनलाइन तथा भौतिक उपस्थितिमा समेत अध्यापन चालु नगर्ने बताएका थिए । आंशिकको आन्दोलनका कारण अहिले पृथ्वीनारायण क्याम्पसका कतिपय कक्षाको पढाइ चलेको छैन ।
विद्यार्थीको पठनपाठन रोकिएपछि बसेको जुम बैठकमा आंशिक प्राध्यापक संघका अध्यक्ष सुनील गौतमका अनुसार बैठकको सुरुमै समाधान गर्न नसक्ने भए क्याम्पस प्रमुखले मार्ग प्रशस्त गरिदिनुपर्ने धारणा राखेका थिए । वार्ता टोलीका संयोजक सहायक क्याम्पस प्रमुख यादवराज उपाध्यायले आंशिक प्राध्यापकहरुको माग जायज भएकाले तोएिएको समय सीमाभित्र समाधान हुने आश्वासन पनि दिए । उनले भने, ‘आंशिकका साथीहरु मर्कामा हुनुहुन्छ त्यसैले हामी यो विषयमा सचेत छौं आशा गरौं, समस्या अब लामो समय जाँदैन ।’
छलफलमा क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले आंशिकको मागलाई पटकपटक केन्द्रमा लगे पनि केन्द्रले नसुनेको जानकारी दिए । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष गौतमले समस्या समाधान नभएसम्म पठनपाठन नगराउने धारणा राखेका थिए । उनले समस्या समाधान नभएसम्म क्याम्पसका २२० जना आंशिकले कक्षा सञ्चालन नगर्ने पनि जानकारी दिए । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई र त्रिविद्वारा गठित वार्ता समितिले आंशिक शिक्षकहरूको माग पूरा गर्न सहमति गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया