कृष्ण थापाको रिटमा आज सुनुवाई

समाधान संवाददाता २०७८ जेठ २३ गते ६:५९

समाधान संवाददाता, पोखरा

सांसदबाट निस्कासित राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा दिएको रिटमा आइतबार सुनुवाई हुँदैछ । आइतबार बिहान १० बजे पेसी चढ्ने भन्दै सर्वोच्चले दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

निवेदक कृष्ण थापा र विपक्षीमध्येको निर्वाचन आयोगलाई अदालतले हाजिर हुन आदेश गरेको हो । थापाले पार्टी कारबाही फिर्ताका लागि शुक्रबार सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

Advertisement

थापाले शुक्रबार सर्वोच्चमा रिट दिँदै उत्प्रेषण आदेश जारी गरेर कारबाहीलाई बदर गर्न माग गरेका हुन् ।

प्रदेश सभा सदस्यको हैसियतमा निरन्तर काम कारबाही गर्न दिन प्रतिशेधयुक्त परमादेश जारी हुनुपर्ने माग थापाले राखेका छन् । रिटमा आदेश हुन समय लागेमा अन्तरिम आदेश दिइनुपर्ने मागसहित थापा सर्वोच्च पुगेका हुन् ।

Advertisement

सांसद थापाको तर्फबाट सर्वाेच्च अदालतमा शुक्रबार रिट परेको हो । उनको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्वअध्यक्ष भोजराज आचार्यले बहस गर्दैछन् ।

रिटमा सांसद पद खारेजी गैरकानुनी तवरबाट भएको भन्दै खारेजी बदरको माग गरिएको छ । थापाले गणेश घिमिरेलाई वारेसनामा दिई रिट दर्ता गराएका हुन् ।

आफूले नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन २०७३ विपरीत कुनै कार्य नगरेकाले पार्टीले आफूलाई गरेको कारबाही बदरभागी रहेको उनले दिएको रिटमा उल्लेख छ ।

उनलाई पार्टीले २० जेठमा पार्टी विधान विपरीत काम गरेको भन्दै सांसद पद खारेज गर्नका लागि संसद सचिवालयमा पत्र पठाएको थियो । पत्रानुसार सभामुख नेत्रनाथ अधिकारीले सांसद पद खारेज भएको पत्र पढेर सदनमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया