कर्मले बाँचेका चेत

समाधान संवाददाता २०७८ जेठ २३ गते ७:०४

चेतबहादुर शरीरले अशक्त छन् । सोचले उनी अरुजस्तै सबल छन् । आत्मविश्वासी छन् । मरुन्जेल हात थापेर खाँदिन भन्ने दृढता छ ।

अनिष भट्टराई, पोखरा

पोखरा २० आँटीघर विजयपुरका चेतबहादुर गुरुङ (५३) लाई सानोमै दैवले ठग्यो । चेतबहादुरकी आमाले उनलाई बताएअनुसार उनी दुध चुस्दाचुस्दै अचेत भए । ९ घन्टापछि मात्र होषमा आए । छोरा होसमा आएको खुसी क्षणभरमै सकियो । चेतबहादुरको कम्मरमुनिको शरीर नचल्ने भयो । डेढ वर्षको उमेरमै उनी उठ्न, हिँड्न नसक्ने भए ।

जसोतसो हुर्कंदै थिए । २ बहिनी र उनको जीवन सामान्य जस्तै थियो । उनी ६ वर्षको हुँदा उनीमाथि झनै ठूलो बज्रपात खस्यो । उनी ६ वर्षको हुँदा बुबाले अन्तिम सास फेरे । शारीरिक रुपले अशक्त चेतबहादुरलाई बुबाको अन्तिम संस्कार पनि गर्न गाह्रो भयो । सानैमा उनलाई दैवले ठग्यो । घरको एक्लो पुरुष भए । जिम्मेवारी बढ्यो । पढ्न पाएनन् । घरमै बस्थे । जानेको केही थिएन । आमालाई घरगृहस्थीमा सघाउने इच्छा बढ्न थाल्यो ।

घर नजिकै उनका काकाले बाँसको काम गर्थे । चोयाले डोको, थुम्से, स्याखु बनाउँथे । चेतबहादुरलाई पनि सिक्ने इच्छा जाग्यो । घिस्रदै घिस्रदै काकाकहाँ पुग्थे । काका छेउ बसेर हेर्थे । चोया काटेको हेरे, डोको बनाएको हेरे । आफैं पनि बाँस, चोया चलाउन थाले । केही दिनमै उनले डोको बुन्न सिके । ‘म छेउमै बसेर हेर्थें, काकाले धेरै सिकाएनन्, हेरेर नै जानेको हुँ,’ चेतबहादुर सुनाउँछन् ।

गाउँमै हुर्के । बाँसकै सामग्रीसँग खेलेर जसोतसो आमालाई घर चलाउन सघाए । १८ वर्षको उमेरमा भलाम झरे । भलाम झरेपछि पनि उनले बाँसका सामान बनाउन छाडेनन् । भलाम झरेपछि झनै व्यापार बढ्यो । कुचो, मोडा, चित्रा बनाउन थाले ।

२ बहिनी विवाह गरेर आआफ्नो घर गए । घरमा चेतबहादुर र उनकी आमामात्र रहे । आमाले धेरै काम गर्न सक्दिनन् । भित्रको काममा गर्छिन् । घर धान्ने जिम्मा चेतबहादुरकै काँधमा छ ।

बाटो छेउमा एउटा टहरा छ । पोखराकी समाजसेवी सरस्वती गुरुङ नेतृत्वको मिलन नारी जागरण नेपाल संस्थाले व्यापारका लागि उनको टहरा बनाइदियो । डेढ वर्षदेखि चेतबहादुरको दैनिकी त्यही टहरामा बित्छ । बिहान ६ बजे टहरामा पुग्छन् । चोयासँग खेल्छन् । बेलुका अँध्यारो नहुँदासम्म त्यहीँ बस्छन् ।

टिनले बनाएको टहराभित्र चोया, कुचो, चित्रा छन् । चटपट पनि बनाएर बेच्छन् । दिउँसोको घाम चर्किएपछि टहरा नजिकैको रुखको छहारीमा बस्न पुग्छन् । रुखको छहारीमा बस्दा कामको सुर्ता लिँदैनन् । घाम ढल्न लागेपछि टहरोमै फर्कन्छन् ।

चेतबहादुरलाई एउटा स्याखु बनाउन १ दिन लाग्छ । बाँस गाउँकाले नै खोजेर ल्याइदिन्छन् । चोया चेतबहादुरले नै काट्छन् । बाँस ल्याइदिएको भागमा गाउँलेले डोको बनाएर लैजान्छन् । केही पैसा चेतबहादुरको हात लाग्छ । एउटा स्याखुलाई १५ सय रुपैयाँमा बेच्छन् । पानी बोक्ने डोकोको ८ सय, नाम्लो ३ सय, चित्रा साढे २ सय र कुचोलाई सय रुपैयाँको भाउमा बेच्छन् ।

चेतबहादुरलाई कहिलेकाहीँ शरीरले साथ दिँदैन । टाउको असाध्यै दुख्छ । लगातार एक साताजति आराम गरेपछि मात्रै ठीक हुन्छन् । ‘अरु केही रोग छैन, कहिलेकाहीँ मज्जाले टाउको दुख्छ, एक हप्तासम्म सुताइदिन्छ,’ उनले सुनाए ।

चेतबहादुरले जेनतेन घर सम्हालेका छन् । बाटोमा हिँड्नेहरु धेरै हुँदा उनको चटपट तथा बाँसका सामानको व्यापार धेरै हुन्छ । सबैभन्दा बढी उनका सामान आर्मीको तालिम लिनेहरुले लैजान्छन् । ‘डोको त आर्मी बन्नेहरुले भारी बोकेर दगुर्न लैदिन्छन्, आर्मीहरुले पनि लैजान्छन्, उनीहरु आउँदा पैसा धेरै पर्छ,’ उनी भन्छन् ।

उनको अहिलेसम्म बचत भने छैन । केही सामान बिक्री भएर आएको रकम घरखर्चमै सकिन्छ । चेतबहादुरलाई आफ्नो बिमा गर्ने मन छ । तर कसरी गर्ने ज्ञान छैन । आफूलाई केही भइहाले घरलाई पैसा हुन्छ भन्ने सोच उनमा पलाएको छ । ‘बीमा गर्न मन छ, तर कसरी गर्छन् थाहा छैन, पैसा पनि अलिअलि बच्थ्यो,’ उनले सुनाए ।

उनी कहिलेकार्ही आफ्ना बहिनीका छोराहरुसँग बजार झर्छन् । बाटोमा माग्न बसेकाहरु देख्छन् । आफूजस्तै अशक्तहरु माग्न बसेको देख्दा उनलाई रिस उठ्छ । ‘किन मागेर खानुप¥ो, आफैंले केही ग¥यो भने सम्मानका साथ खान पाइन्छ, मैले केहीलाई त सम्झाएको पनि छु तर मान्दैनन्,’ उनी भन्छन् ।

चेतबहादुर शरीरले अशक्त छन् । सोचले उनी अरुजस्तैसबल छन् । आत्मविश्वासी छन् । मरुन्जेल हात थापेर खाँदिन भन्ने दृढता छ । आफू जस्तै अशक्तहरुलाई तालिम दिने उनको धोको छ । ‘चोयाकै काम भएपनि कि त काम गर्ने हौसला दिने खालको कार्यक्रममा तालिम दिन सक्छु मौका पाएँ भने,’ चेतबहादुरले सुनाए ।

तपाईको प्रतिक्रिया