मुस्ताङीलाई बाली थन्क्याउने चटारो

समाधान संवाददाता २०७८ जेठ २३ गते ७:१७

जौ काट्ने र आलु चुल्याउने, औषधी छर्ने, जौ काटेको खेतमा मकै, फापर छर्ने र खेतबारी खनजोत र स्याउ बगैचाहरुको स्याहार सुसारमा किसान

सुन्दरकुमार थकाली, जोमसोम

पर्यटन र कृषि उत्पादनले प्रसिद्ध मानिएको हिमालपारिको जिल्ला मुस्ताङका किसान यतिबेला कोरोना कहरमा समेत खेतीपातीको कामकाजमा व्यस्त बनेका छन् । हिउँदेबालीका रुपमा असोज÷कात्तिकमा लगाइएको जौ र उवा जस्ता अन्नबाली खेतबारीमा पाक्न थालेपछि मुस्ताङी किसानलाई जौ र उवा लगायत अन्नबाली थन्क्याउने चटारो चलेको हो ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो भेरियन्टसँगै ठप्प बनेको हिमाली जिल्ला मुस्ताङमा ३ सय ६८ जनामा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये १ सय ७५ जना संक्रमित निको भइसकेका छन् भने १३ जना व्यक्तिको कोरोनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । मुस्ताङमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि लगातार चौथोपटक स्थानीय प्रशासनले जेठ ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

मुस्ताङमा धार्मिक तथा पर्यटकीय गतिविधि ठप्प रहे पनि कृषि व्यवसायमा आश्रित किसान भने खेतीपातीको काममा व्यस्त रहेको स्थानीय किसान महेन्द्र थकालीको भनाइ छ । कोरोनाले बन्दाबन्दी बनेको मुस्ताङमा उवा, जौ काट्ने र थन्क्याउने चटारो चलेको उनी बताउँछन् ।

हिमाली जिल्ला मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा बर्सेनि दुई बाली खेती हुन्छ भने उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बर्सेनि एक बाली मात्र खेतीपाती हुन्छ । मुस्ताङका किसानले असोज कात्तिक महिनामा बर्खेबाली थन्क्याएर हिउँदे बालीका रुपमा जौ, उवा, आलु, केराउ र लगायत अन्नबाली लगाउँछन् । मुस्ताङका किसानले हिउँदेबाली थन्क्याएपछि बर्खे बालीका रुपमा मकै, सिमी र फापर लगायत अन्नबाली लगाउने चलन छ ।

यतिखेर हिमाली जिल्ला मुस्ताङका गाउँहरु कोरोना कहरका कारण सुनसान भए पनि कृषकको खेतबारीमा भने कृषि कर्म चलिरहँदा कृषि रौनकता बढेको स्थानीय अर्को किसान लक्की केमी गुरुङ बताउँछन् । गाउँघरमा कोरोना संक्रमित बढेपछि परिवारका सदस्यहरुले मात्रै कोरोना जोखिमको अवस्थामा आवश्यक सावधानी अपनाउदै खेतीपातीको काममा व्यस्त रहेको उनले बताए ।

मुस्ताङको बारागुङ, थासाङ र घरपझोङ गापाका किसानले कोरोनाले सिर्जित बन्दाबन्दीमा जौ काट्ने र आलु चुल्याउने, आलु खेतीमा औषधि छर्ने, जौ काटेको खेतमा मकै, फापर छर्ने, खेतबारी खनजोत गर्ने र स्याउ बगैचाहरुको स्याहार सुसार र व्यवस्थापन गर्ने लगायत कामहरु गरिहेका छन् ।

तर, कतिपय गाउँहरुमा स्थानीय तहको निगरानी नहुँदा संक्रमित व्यक्तिहरु लापरवाही गर्दै खेतीपातीको काममा जुटेका छन् । यसले संक्रमण जोखिम निम्त्याउनेसक्ने आंशका स्थानीयको छ ।

हिमाली जिल्ला मुस्ताङमा बर्सेनि जेठ र असार महिनामा जौ र उवा थन्क्याउन मुस्ताङीलाई भ्याई÷नभ्याई हुने गर्छ । समुद्री सतहदेखि २५ सय मिटरको चिसो मौसममा उत्पादन हुने मुस्ताङी अर्गानिक अन्नबाली पोखरा÷काठमाडांै लगायत सहरमा उक्तिकै माग हुने गर्छ ।

रैथाने बालीको रुपमा रहेको मुस्ताङमा उत्पादित अन्नबालीको मदिरा, मर्चा र सातु जस्ता परिकार बनाएर स्थानीय किसानले बिक्री गर्छन् । यसरी उत्पादन गरिएका सामग्रीहरु कतिपयले घरखर्चका लागि भएपनि खेतीपाती गरेका छन् ।

मुस्ताङमा उत्पादित फलफूल, अन्नबाली र तरकारी सहर बजारमा सहजै बिक्री हुने भएको र कृषकले अपेक्षा गरेअनुसार सुहाउँदो मूल्य प्राप्त गर्ने सक्ने हुँदा मुस्ताङी किसानहरु कृषि व्यवसायतर्फ आर्कर्षित भएका हुन् ।

कोरोना कहरले सुनसान बनेको मुस्ताङमा गत वैशाखदेखि शैक्षिक संस्था, पर्यटन व्यवसाय र विकास निर्माणकार्य प्रभावित हुदा स्कुले विद्यार्थी देखि जिल्ला बाहिरका मजदुर समेत खेतीपातीको काममा जुटेका छन् ।

तपाईको प्रतिक्रिया