चुनावमा जाने कि यही सरकारमा ? जसपा गण्डकीका नेताकाे २ मत

समाधान संवाददाता २०७८ जेठ २३ गते ९:०५

Advertisement

विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए चुनावमा जाने कि यही सरकारमा भन्ने विषयमा जनता समाजवादी पार्टीका नेता २ धारमा देखिएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय नेता दुई समूहमा विभाजन भए पनि गण्डकीमा बाबुराम भट्टराई समूहका २ सांसद छन् । गण्डकी प्रदेशमा बाबुराम–उपेन्द्र यादव समूहमात्र अस्तित्वमा देखिन्छन् ।

सत्ता रुढ दलले सरकारमा सहभागी हुने भए २ सांसद रहे पनि ३ मन्त्री र विभिन्न नियुक्तिसमेत ग्यारेन्टी गर्ने प्रस्ताव जसपालाई गरिरहेको एक नेताले बताए । यदी यो सरकार पनि नजोखिने र विपक्षी गठबन्धनको सरकार पनि गठन हुन नसक्ने अवस्था सिर्जना हुन सक्ने देखिएकामा मध्यावधिमा जानबाट रोक्नुपर्ने अधिकांश प्रदेश तथा केन्द्रीय सदस्यले बताइरहेका छन् ।

Advertisement

‘केन्द्रीय कमिटी विभाजन भए पनि यहाँ समस्या होइन । उपेन्द्र–बाबुराम समूहकै छौं तर मध्यावधिमा जान सक्ने स्थिति आयो भने रोक्नुपर्छ भन्ने हो,’ प्रदेश संयोजकसमेत रहेका केन्द्रीय सदस्य गणेशमान गुरुङले भने, ‘विपक्षीकै सरकार बन्छ भने हिजोदेखि नै यो सरकारको विकल्प खोजेका हौं, त्यही अनुरुप हुन्छ ।’

बाबुराम समूह अधिकांश नेताहरु कुनै पनि हालतमा यो सरकारमा सहभागी हुन नहुने पक्षमा छन् ।जसपा गण्डकीका अध्यक्ष मोति रिजाल ओली र उनकै पथमा हिँड्ने कुनै पनि सरकारमा जसपा नजाने दाबी गर्छ । यस्तै दाबी उपाध्यक्ष किरण थापा आमोदको पनि छ ।

Advertisement

‘कुनै पनि हालतमा राजनीतिक नीति र एजेण्डालाई भुलेर यो सरकारमा सहभागी हुन सकिँदैन, त्यो निर्णय हुन सक्ने कुनै आधार पनि देखिँदैन,’जसपा गण्डकीका उपाध्यक्ष किरण थापाले भने, ‘मूल नेतृत्व ओली सरकारमा र गण्डकीमा पृथ्वीसुब्बा नेतृत्वमा जसपा जान सक्दैन ।’

अविश्वासको प्रस्ताव ल्याउन भूमिका खेलेको जनता समाजवादीले मध्यावधिमा जाने अवस्था आयो भने सोच्नुपर्ने बताउँछन्, केन्द्रीय सदस्य दीपक तामाङ । ‘केन्द्रीय निर्णयअनुसार यो सरकारको विपक्षमा उभिएका हौं तर कसैको पनि सरकार नबन्ने स्थिति आयो भने चुनावमा जानबाट बचाउनुपर्छ भन्ने हाम्रो अभिमत हो,’ तामाङले भने ।

पूर्व सांसद तथा गण्डकीको सत्ता गठबन्धन वार्ता समितिका सदस्य डिबी नेपालीले विपक्षी गठबन्धनकै सरकार बनाउनुपर्ने तर नबन्ने अवस्था आए सोच्नुपर्ने पक्षमा छन् । जसपा प्रदेश सचिव हुम गुरुङ पनि आगामी दिन पनि समन्वय गर्ने गरी यही सरकारमा जानुपर्ने बताउँदै आइरहेका छन् ।

जसपाका उपेन्द्र–बाबुराम भने अहिलेको सरकारको पक्षमा कुनै पनि हालतमा जाने पक्षमा नरहेको प्रदेश सांसद हरिशण आचार्यले बताए । ‘विपक्षी गठबन्धनकै पक्षमा छौं । त्यहीअनुसार अगाडि बढ्ने हो । मूल नेतृत्वको निर्णयभन्दा तलमाथि हुँदैन,’ आचार्यले भने, ‘पार्टीले निर्णय गरेर निर्देशन जारी नगरेसम्म दायाँबायाँ हुँदैन ।’ अर्की सांसद धनमाया लामा पोखरेलले पनि पार्टीको नीतिबिपरीत गएर कुनै पनि प्रलोभनमा फस्ने सम्भावना नरहेको बताउँदै आएकी छन् ।

अहिले जसपाका २ सांसद तान्न सके पृथ्वीसुब्बा नेतृत्वको सरकार जोकिने भएकाले आकर्षक मन्त्रालय र नियुक्तीको ग्यारेन्टी गर्ने मुख्यमन्त्री गुरुङले बताइरहेको एक नेताले बताए । केही पूर्व नयाँ शक्ति समूहका र अधिकांश उपेन्द्र पक्षका नेता यही सरकारमा जाने पक्षमा छन् ।

तपाईको प्रतिक्रिया