कोभिड १९ ले नछोएको मुस्ताङको एउटा गाउँपालिका

समाधान संवाददाता २०७८ जेठ २४ गते ७:२३

लोघेकर दामोदरकुण्ड गापामा हालसम्म कोरोना भाइरसले कसैलाई प्रभावित पार्न सकेको छैन

सुन्दरकुमार थकाली, जोमसोम

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तह कोरोना भाइरस माहामारीले आक्रान्त छन् । तर, हिमाली जिल्ला मुस्ताङको एक स्थानीय तहमा अहिलेसम्म संक्रमण देखिएको छैन । मुस्ताङको लोघेकर दामोदरकुण्ड गापामा हालसम्म कोरोना भाइरसले कसैलाई प्रभावित पार्न सकेको छैन ।

Advertisement

मुस्ताङमा वैशाख १५ गतेदेखि समुदायस्तरमा कोरोनाको दोस्रो लहरको संक्रमण देखियो । मुस्ताङमा कोरोना संक्रमण तीव्र गतिमा फैलिदै जाँदा कोरोनाको जोखिम बढेको छ ।

मुस्ताङमा वैशाख १६ गतेदेखि हालसम्म कोरोना परीक्षण गर्दा ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ भने १ सय ८५ जना व्यक्ति निको भइसकेका छन् ।
यस्तै, कोरोनाका कारण मुस्ताङका ३ स्थानीय तह गरेर १३ जना व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

Advertisement

मुस्ताङको घरपझोङमा १ सय १० जना, थासाङमा १ सय ९ जना, वारागुङ मुक्तिक्षेत्रमा १ सय ४० जना र लोमान्थाङ गाउँपालिकामा १० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

मुस्ताङका ५ स्थानीय तहमध्ये ४ स्थानीय तहमा कोरोना संक्रमित दैनिक फेला पर्ने गरेको छ । तर, जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धि भइरहँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका भने कोरोनाले हालसम्म पनि कुनै असर नगरेको उक्त गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

भौगोलिक रुपले अन्य स्थानीय तह भन्दा अत्यन्तै विकट स्थानमा रहेको लोघेकर दामोदरकुण्डमा केही साताअघि एन्टिजेन परीक्षणमा गरिएको थियो । गाउँपालिकाकी स्वास्थ्य संयोजक सञ्जु गुरुङले आफ्नो पालिका अझै कोरोना शून्य रहेको बताइन् ।
लोघेकर कोरोना शून्य भए पनि स्थानीय तहले आवश्यक सुरक्षा रणनीति अख्तियार गरेको जनाएको छ ।

गापा केन्द्र चराङमा जनशक्तिसहित ५ बेडको कोभिड अस्पताल र ५ बेडको क्वारेन्टाइन बनाएको छ । लोघेकर दामोदरकुण्ड गापामा ३ स्वास्थ्य संस्था, २ स्वास्थ्य ईकाई र ४ वटा जिग्मे मेमोरियल फाउन्डेसनको स्वास्थ्य क्लिनिक छन् ।

तपाईको प्रतिक्रिया