जब जिउँदै वडाध्यक्षलाई श्रद्धाञ्जली दिइयो !

समाधान संवाददाता २०७८ जेठ २४ गते ७:२८

बागलुङ, २३ जेठ

शनिबार दिउँसो ३ बजे गलकोट नगरपालिका स्वास्थ्य संयोजक मीनराज गैरेले वडा नम्बर १० का अध्यक्ष तिलक घर्तीको मोबाइलमा फोन गरे । ‘तिलक सर बोल्नुभयो ?, तपाईं ठीकै हुनुहुन्छ सर ?’ गैरेले सोधे । अध्यक्ष घर्तीले आफू सकुशल रहेको जवाफ दिए ।

गैरेले लामो सास फेर्दै खुसी लागेको प्रतिक्रिया दिएपछि ‘किन के भयो र ?’ भनेर अध्यक्ष स्वयंले प्रतिप्रश्न गरे । गैरेले फेसबुकमा उनको मृत्युको खबर देखेर झस्किँदै फोन गरेको बताएपछि अध्यक्ष घर्ती छाँगाबाट खसे जस्तो भए ।

Advertisement

भएको के थियो भने अध्यक्ष तिलक घर्तीको निधनको समाचार सामाजिक सञ्जालमा आएको थियो । जसबाट धेरै जना आश्चर्य चकित र स्तब्ध भए ।

गैरेको फोन लगत्तै अध्यक्ष घर्तीलाई देश तथा विदेशबाट फोन आउन थाल्यो । उनलाई फोन गरेका अधिकांशले सोधे ‘तपाईं तिलक हो, सञ्चै सकुशुल नै हुनुहुन्छ ?’ गलकोट अपडेट र गलकोट बागलुङ नेपाल फेसबुक पेजबाट अध्यक्ष घर्तीलाई श्रद्धाञ्जली दिइएको थियो ।

Advertisement

ती दुवै फेसबुक एकाउन्टमा ‘निष्ठुरी दैव, तँलाई नि राम्रै मान्छे चुन्नुपर्ने ? गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका वडा अध्यक्ष तथा नेपाल राष्ट्रिय मगर संघ जिल्ला अध्यक्ष समेत रहनुभएका तिलक घर्तीजीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । रेस्ट इन पिस । शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्’ लेखिएको थियो ।

साँझ मात्रै त्यो पोस्ट देखेपछि अध्यक्ष मगरले आफ्नो फेसबुक एकाउन्ट मार्फत आफू सकुशल रहेको जानकारी गराए । ‘केही मित्रले जे सोच्दै हुनुहुन्थ्यो, भगवानको कृपाले त्यो अहिले नै नहोस्, आखिर जन्मसँगै मृत्यु सत्य छ । केही मित्रजनबाट मेरो बारेमा मृत्यु पर्यन्त दिइने सद्भाव प्रकट गर्नु भएको रहेछ,’ उनले फेसबुकमा लेखे, ‘मेरो शुभचिन्तक आफन्त तथा सम्पूर्ण साथीहरूमा यो गलत भएको र म सकुशल रहेको जानकारी गराउँदछु ।’

अध्यक्ष घर्तीले झुटो खबरले आफ्ना आफन्त र शुभ चिन्तकहरुमा असर पुगेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएको बताए । गलकोट अपडेटसहित दुवै पेज चलाउँदै आएका विशाल क्षेत्रीले गम्भीर कमजोरी भएको स्वीकार गर्दै क्षमा याचना गरेका छन् । ‘आज म आफैसँग लज्जित छु । मैले हतार गर्दा, मेरो हतारको गल्तीले धेरै जनालाई हानि गरेको छ’, उनले भने, ‘म कुन शब्दले क्षमा मागु ? मसँग त्यो शब्द छैन ।’

तपाईको प्रतिक्रिया