गण्डकी सरकारबारे बाबुराम भट्टराई भन्छन्ः बरु चुनावमै जान्छौं, सरकारमा जान्नौं

समाधान संवाददाता २०७८ जेठ २४ गते १३:४४


अमृत सुवेदी

केन्द्रमा जनता समाजवादी पार्टी विभाजन भए पनि गण्डकीमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको बाहुल्य छ । गण्डकी प्रदेश सभाका दुवै जना सांसद गोरखाका हुन् र ती बाबुराम भट्टराई समूहका ।

अहिले नेकपा एमालेले मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकारमा आउ जसपालाई आग्रह गरिरहेको छ भने प्रदेश र केन्द्रीय सदस्य पनि अधिकांश मध्यावधिमा जानुभन्दा यो सरकारमै जाँदा उचित हुन्छ भनिरहेका छन् ।

पार्टी निर्देशन उल्लंघन गरेको भन्द्र जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले पद कायम गरिदिएको छ । योसँगै गण्डकीमा सत्ता पक्ष र विपक्षी दुबै अल्पमतमा छन् । ६० सदस्यीय प्रदेश सभामा एक स्वतन्त्र र एमालेका २७ गरी २८ जना मुख्यमन्त्रीको पक्षमा छन् । २ जना जसपाका सा.सदले साथ दिने हो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार जोगिन्छ ।

Advertisement

त्यसैले पनि २ सांसदमध्ये ३ वटा मन्त्रालय दिन पनि तयार छन्, मुख्यमन्त्री पृथ्वीसुब्बा । त्यसो हुँदा उपेन्द्र यादव समूहका सांसद नभएका नेता पनि मन्त्री हुन पाउने र नियुक्तीसमेत खान पाउने छन् ।

सत्ता पक्षको प्रस्तावमा जसपाका नेता विभाजित पनि छन् । प्रदेशका उपेन्द्र समूहका नेता चुनावमा जानुभन्दा मन्त्रालय, नियुक्ती र निर्वाचन क्षेत्रको सहकार्यसमेत ग्यारेन्टी गरेर जानु पर्ने बताइरहेका छन् ।

Advertisement

बाबुराम समूह भने कुनै पनि हालतमा यो सरकारमा जान नहुने पक्षमा छन् । पार्टीले निर्णय गरेअनुसार चल्ने सा.सद हरिशरण आचार्य र धनमाया पोखरेलले बताइरहेका छन् ।

यही विषयमा छलफल गर्न जसपा प्रदेश कमिटीको बैठक पनि ३ बजे बस्दै छ । तर, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने कुनै पनि हालतमा यो सरकारमा जान नसकिने बताएका छन् । केन्द्रदेखि तलसम्मै ओलीको विपक्षमा गठबन्धन छ, त्यो गठबन्धनभन्दा दायाँबायाँ नहुने उनको भनाइ छ ।

‘३ वटै तहमा सहकार्य गर्ने हाम्रो सहमति छ । त्यसकारण जसपा त्योभन्दा बाहिर गएर संविधानलाई ध्वंश गर्ने तागतहरुलाई कुनै पनि बाहानामा काँध हाल्दैन,’ भट्टराईले भने, ‘केन्द्रदेखि गण्डकी प्रदेशसमा पनि ओलीकै बदमासीका कारण अस्थिरता निम्तिएको हो ।’

यस्तो छ गण्डकी प्रदेशको सन्दर्भमा भट्टराईको धारणा

केपी ओलीको नेतृत्वमा केन्द्र र प्रदेशहरुमा जे भइरहेको छ, यो सामान्य अंकगणितमात्र होइन । यो प्रतिगमन, प्रतिक्रान्तितर्फको यात्रा हो । केन्द्र र प्रदेशका नीति र चरित्र जोडिएका हुन्छन् । हामी छुट्टाछुट्टै टापुमा त बसेका छैनौं तिनै ओलीको मतियारसँग वैकल्पिक राजनीतिक शक्ति जसपाले कुनै पनि बहाना, कुनै पनि किन्तुपरन्तु काँध थाप्ने र सहकार्य गर्ने काम हुँदैन । नीतिगत रुपमा हाम्रो नीति जसपा बिल्कुलै प्रस्ट छ ।

अहिले हाम्रो पाँच दलको सहकार्य चलिराखेको छ । संघ, प्रदेश र स्थानीय तहसम्म सहकार्यलाई जारी राख्नुपर्छ, कुनै प्रतिगमनकारीले छरेको भ्रममा पर्ने कुरा हुँदैन भन्नेमा एकमत छौं । कहिले राजपाबीच फाटो ल्याइदिने, खेल्ने, कहिले कांग्रेस, माओवादीबीच अनेक भ्रम छरिदिने काम भइरहेको छ, यसबाट हामी बच्नुपर्छ ।

गण्डकीमा पनि मुख्यमन्त्रीले संसद छल्ने हर्कत गरेका हुन् नि । नसक्ने भए सरकार छोडिदिनुप¥यो नि त, यसको दोष कसलाई ? हुँदाखाँदाको दुईतिहाईको सरकार लथालिंग पार्ने अनि संकटमा लिएर जाने अनि हामीले काँध थापिदिनुपर्ने ? मुख्यमन्त्रीले छोडिदिउन् न त त्यसो भए । सत्ता पक्ष र विपक्षीको पनि बहुमत पुग्दैन भने अल्पमतको पनि सरकार बन्न सक्छ नि । यो त प्रतिगमनतिर लैजाने नै मुख्य धेय हो ।

मुख्यमन्त्रीले अस्ती पनि झेल गरेका हुन् नि । अविश्वासको प्रस्ताव छल्न चालु संसद अधिवेशन अन्त्य गरे, राजीनामा दिए र तिकडम गरेर फेरि मुख्यमन्त्री नियुक्त भए । ओलीलाई पनि पूर्व प्रधानमन्त्रीहरुले पनि छोडिदिन्छौं सहमतिको सरकार बनाऔं भनेकै हुँ । प्रदेशमा पनि सहमतिको सरकार बनाउन सकिन्छ । तर, हामी नै हुन पर्छ, मै हुन पर्छ, मेरै सरकारमा आइज भनेर त को जान्छ ? फोहोर खान आइज भनेर कसैले खान्छ ? यो त ब्लाकमेल हो नि । हामीले जुठो खाइदिनुपर्ने, अखाद्य वस्तु खानेपर्ने ? त्यो हुँदैन ।

जसपा झुक्दैन । केन्द्र, प्रदेश र स्थानीयतहसम्मै लड्छ । बरु चुनाबै लडेर आफ्नो सरकार बनाउँछौं नि, यो सरकारमा किन जान्छौं ? यस्तो कोरोना माहामारीको बेलामा चुनावमा लाने हर्कत किन गर्ने ? उनले छोडे हुन्छ नि त । उनले खाल्टो खान्ने हामीलाई पुरिदेउ भन्ने ? चुनावमा जान्छ भने जान्छ त, जनताको मत जित्छौं । आफूले कुर्चि नछोड्ने अनि चुनाव, चुनाव भन्ने ? गए भयो नि त चुनावमा । हाम्रो गठबन्धनले पछार्र्छौं नि । तर, कुनै पनि हालतमा संघ होस् या गण्डकी प्रदेश काँध थाप्दैनौं ।

तपाईको प्रतिक्रिया