सम्बन्ध बिगार्दै मोबाइल

धनगढी । किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् ।
मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् ।
पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा समस्या हुन थालेको हो ।
घरबाहिर जाने, लामो समय घरमा नआउने तथा साथीभाइको सङ्गतमा सदैव डुल्याडुल्यै गर्ने आफ्नो १९ वर्षीय छोराको घरभित्रै बसिरहने बानी परेपछि कैलालीको घोडाघोडी नगरपालिका(१० का पुरोषत्तम जैशी खुशी भएकी थिइन् । आफ्नो छोरा एकाएक अघिल्लो महिनादेखि घरभित्रै बस्ने मोबाइल चलाउने गर्न थालेपछि उनी खुशी भएकी हुन् ।
छोरो घरभित्रै बस्न थालेपछि पहिलाजस्तो दिनभर घरबाहिर साथीभाइसँग डुल्न नजाने भयो भन्ने कुराले खुशी हुनुभएका जैशी अहिले छोरा घरभित्रै भएर पनि परिवारसँग एक्कासि टाढिएको देखेर चिन्तित छन् ।
घरभित्रै रहे पनि जुनसुकै समयमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथा सामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण जैशीमा चिन्ता थपिएको हो ।
यो त एक उदाहरण मात्र हो । आधुनिक विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान, वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको बताउँछन्, राष्ट्रिय कलेज सुखडका उपप्राध्यापक प्रभात बोगटी ।
बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको दुख्ने, बाबुआमासँग धेरै नबोल्ने, बोलाउँदा तीन चारपटकसम्म बोलाउनुपर्ने, पढाइप्रति लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबर अपराधतिर तानिने समस्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत रहनुपर्ने बोगटी बताउँछन् ।
यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने बोगटीको भनाइ छ । उनीहरूले मोबाइलको ठाउँमा खेल खेलाउने, कहानी भन्ने, बच्चासँग आफू पनि सँगै खेल्ने, चित्र कोर्ने आदि उपायबाट बालबालिकामा बसेको मोबाइलको लत छुटाउन सकिने उनी बताउँछन् ।
लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने मनोविद् सीता भण्डारीको भनाइ छ ।
उनी भन्छन्, “लगातार मोबाइल चलाइरहनाले ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्दन दुख्ने, आँखामा समस्या, खान मन नहुने, तौल घट्नेलगायतका शारीरिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।”
लगातार इन्टरनेट वा मोबाइल चलाइरहने छोराछोरीलाई अभिभावकले उनीहरूको व्यवहार परिमार्जन गर्न सहयोग गर्नुपर्ने मनोविद् भण्डारीको भनाइ छ ।
मोबाइल नचलाई नमान्ने बच्चा भए घरका काम दिने र सो काम सकेपछि सकेको इनामका रूपमा मात्र केही समय प्रयोग गर्न दिने, यसो गर्दा मोबाइल प्रयोग विस्तारै घट्ने तथा दिनमा केही समयका लागि फोन बन्द गर्न लगाई बच्चासँग आफूले समय बिताउने काम पनि अभिभावकले गर्नुपर्ने भण्डारी बताउनुहुन्छ । यसो गर्दा विस्तारै मोबाइल प्रयोग कम हुनसक्छ भन्नुहुन्छ भण्डारी । रासस









सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया