होसियार ! केरा खाँदा क्यान्सर होला

पोखरा कृषि उपज बजारको एक पसलमा प्रतिबन्धित रसायन हालेर केरा पकाएको भेटियो
अनिष भट्टराई, पोखरा
उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाको म्यासेन्जरमा मंगलबार एउटा म्यासेज आयो । एक युवकले काँचो केरामा स्प्रे गरिरहेको फोटो म्यासेजमा पठाइएको थियो ।
फोटोसँगै अर्को म्यासेजमा लेखिएको थियो, ती पसलेको पसल ठेगाना । फोटो पोखराका एक पत्रकारले खिचेर पठाइदिएका थिए । पृथ्वीचोकको कृषि उपज बजारको सटर नम्बर ६९ भुर्तेल फ्रुट सेन्टरमा खिचिएको फोटो कोइरालालाई पठाइएको थियो ।
तत्कालै कोइरालाले आफ्नो टोलीलाई खबर गरे । मंगलबार बेलुका एउटा टोली बनाइयो, अनुगमनमा जानका निम्ति । उपभोक्ता हित संरक्षण निर्देशनलाय गण्डकीका निर्देशक नारायण आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका शिवजी बराल, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनका कर्मचारीलाई राखेर टोली बनाइयो ।
बुधबार बिहानै टोली कृषि उपज बजार पुग्यो । सुरुमा सटर नम्बर ६९ भुर्तेल फ्रुट सेन्टरमा गयो । त्यहाँ स्प्रे गर्ने मेसिन थियो । भण्डारण गरेर राखिएका काँचो केरा पनि थिए ।
उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका अध्यक्ष कोइरालाका अनुसार उक्त स्प्रेबाट क्याल्सियम कार्बाइड हालिएको थियो । क्याल्सियम कार्बाइड फलफूल पकाउन प्रयोग गरिन्छ । तर फलफूलमा क्याल्सियम कार्बाइडको प्रयोग नेपालमा निषेध गरिएको छ ।
खाद्य नियमावली २०२७ को परिच्छेद ७ को नियम १९ मा कार्बाइड लगायत दूषित रसायनको प्रयोगलाई निषेध गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालका अनुसार कार्बाइडको धेरै प्रयोग गरे क्यान्सरसमेत हुन सक्छ । ‘कार्बाइडको लामो प्रयोगलेक्यान्सरसम्म हुन सक्छ, सुरुमा वान्ता आउने र चक्कर लाग्ने बनाउँछ,’ बरालले भने ।
केरामा क्याल्सियम कार्बाइडको प्रयोगले छिटो पकाउँछ । सामान्य तरिकाले पकाउन राख्न हो भने काँचो केरालाई तापक्रम मिलाएर ३ दिनसम्म राखेपछि मात्र खान मिल्ने हुन्छ । तर २४ घन्टामै पाकेको देखिने, बिजुलीको प्रयोग नहुने भएपछि व्यापारीहरुले कार्बाइडको प्रयोग गर्ने गरेको बराल बताउँछन् ।
सटर नम्बर ६९ भुर्तेल फ्रुट सेन्टर ८ वर्षबाट नवीकरण नगरी चलाइएको पाइएको छ । ‘८ वर्षबाट नवीकरण फेल भएपनि चलाइएको रहेछ,’ कपिलनाथ कोइरालाले भने ।
यहाँबाट केराका नमूना लगेर अहिले जाँचको चरणमा छ । नमूनाको नतिजा आएपछि सटर नम्बर ६९ का सञ्चालकलाई कारबाही गरिने जनाइएको छ ।
यस सटरमात्र हैन अहिले लकडाउनको छेको पारेर अरु सटरमा पनि चरम मूल्यवृद्धि गरी फलफूल तरकारी बेचिएको पाइएको छ । सटर नम्बर ८० को माँ बालकुमारी फ्रुट सेन्टरले झनै ४ सय प्रतिशतसम्म फाइदा खाएर फलफूल बेचेको पाइएको छ ।
५८ रुपैयाँ प्रतिकिलो माल्टा किनेर पसलले ३०० रुपैयाँ प्रतिकिलो माल्टा बेचेको पाइएको हो । कृषि उपज बजारकै नितेश सप्लायर्सले पनि १५० प्रतिशत शुल्क बढाएर फलफूल बेचेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका अध्यक्ष कोइरालाले बताए ।
१ सय रुपैयाँ प्रतिकिलोमा खरिद गरिएको मेवालाई साढे २ सय रुपैयाँ प्रतिकिलो बेच्ने गरेको पाइएको कोइरालाले जानकारी दिए ।
नेपालमा खाद्य ऐन अनुसार २० प्रतिशतसम्ममात्र नाफा खाएर केही सामान बेच्न पाइन्छ । तर कृषि उपज बजारका व्यापारीले निकै ठूलो मार्जिन राखेर बेच्ने गरेका हुन् ।
व्यापारीहरुमाथि अनुसन्धान थालिएको र दोषी भेटिए कालोबजारीको कारबाही तथा केही सामाजिक अपराध ऐन २०३२, खाद्य उेन २०२३, खाद्य ऐन २०२८, उपभोक्ता संरक्षण ऐन २०७६ बमोजिम कारबाही हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया