कांग्रेस नेतृत्वको सरकार बनाउने बाटो खुला

अब प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछिन्
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७सांसदले उनलाई विश्वासको मत दिएका छन् । अविश्वासमा ३० र तटस्थमा १ मत खसेको छ । सरकारका युवा तथा खेलकुद मन्त्री बनेका सांसद दीपक मनाङे अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थमा मत हाले ।
अब प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछिन् । कुनै एक सांसदले आफूसँग बहुमत भएको दाबी गर्दै प्रदेश प्रमुखकहाँ गएपछि नयाँ सरकार गठन हुनेछ । यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
गुरुङले विश्वासको मत नपाएपछि अब कांग्रेस नेतृत्वको सरकार बनाउने बाटो खुलेको छ । कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चाका ३, जसपाका २ सहित स्वतन्त्र १ जनाको मत पुग्दा कांग्रेस नेतृत्वको सरकार बन्न सक्छ । त्यति सांसद हुँदा ६० सदस्यीय प्रदेश सभाका बहुमत सांसद हुन्छन् ।
यसअघिदेखि नै कांग्रेस नेतृत्वको गठबन्धनका ४ दल गुरुङ सरकार ढालेर कांग्रेसको सरकार बनाउन लागेका थिए । कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर यो गठबन्धनले अविश्वास प्रस्तावसमेत ल्याएको थियो । २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेस भएको थियो ।
तर अविश्वास प्रस्तावमा मतदान हुन पाएको थिएन । १५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थिया । मतदान हुनु एक दिनअघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए ।
प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमत दाबी गरेर आउन विपक्षीलाई समय दिएपनि उनीहरु जान सकेनन् । र ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै दोहोरिएका थिए । २९ वैशाखमा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण बिहीबार विश्वासको मागेका थिए ।
विश्वासको मत नपाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूहरु संविधानले दिएको बाटोबाट बढ्ने बताए । कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूहरु बहुमत लिएर प्रदेश प्रमुखकहाँ जाने दाबी गरे । प्रदेश प्रमुखले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेपछि आफूहरु बहुमत साथ जाने उनको भनाइ थियो । ‘प्रदेश प्रमुखले बोलाएपछि हामी बहुमतसहित जान्छौं,’ पोखरेलले भने ।
माओवादी सांसद लेखबहादुर थापाले आफूहरुसँग ३१ सांसदको हस्ताक्षर रहेको दाबी गर्छन् । ‘यो पटक हामीले हस्ताक्षर सहित दाबी लैजान्छौं । बहुमत सांसदको हस्ताक्षर जुटाइसकेका छांै,’ उनले भने ।
कृष्ण थापा भन्छन्ः कारबाही नहोला
राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापा आफूमाथि कारबाही नहुने बताउँछन् । अदालतमा आफूविरुद्धको मुद्दा विचाराधीन रहेकाले आफूमाथि थप कारबाही हुन नसक्ने उनको धारणा छ । पार्टी ह्विप विपरीत सांसद थापाले विश्वासको मत दिनेबेला तटस्थमा मत हालेका थिए । आफूलाई पार्टीले पृथ्वीसुब्बालाई मत नदिन भनेकाले तटस्थमा मत हालेकोले ह्विप पनि उल्लंघन नभएको उनको तर्क छ । ‘पृथ्वीसुब्बालाई साथ नदिन भनेकाले तटस्थमा हालें ।
ह्विप उल्लंघन भएको छैन । कारबाही पनि किन होला र ? अदालतमा विचाराधिन मुद्दा छ,’ थापाले भने ।
यता जनमोर्चाकी सांसद पियारी थापा भने कृष्ण थापालाई पार्टीले कारबाही गर्ने बताउँछिन् । कृष्ण थापाले ह्विप उल्लंघन गरेकाले उनीमाथि कारबाही हुने थप आधार जुटेको पियारी बताउँछिन् । ‘हामीले ह्विप जारी गर्दै तटस्थमा पनि मत नहाल्न भनेका थियौं, उहाँले उल्लंघन गर्नुभयो, कारबाही हुन्छ,’ पियारीले भनिन् ।
तपाईको प्रतिक्रिया