सभामुखले तोडे संसदीय मान्यता, एमाले सांसद भन्छन्– गुरिल्ला बन्नुभो

समाधान संवादादता, पोखरा
संसद बैठक बस्नु अघि सदनको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्छ । बैठकमा सदन कसरी चलाउने, कति समय चलाउने, कुन विषयवस्तु लैजाने जस्ता कुरा टुङ्गो लगाइन्छ ।
कार्यव्यवस्था परामर्श समितिले सभामुखलाई परामर्श दिन्छ । तर गण्डकी प्रदेश सभाका सभामुख भने कार्यव्यवस्था बैठक नै नबसी एकलौटी ढंगले सदन चलाउन थालेका छन् ।
शुक्रबार पनि सभामुख अधिकारीले कार्यव्यवस्थाको बैठक नराखी एकलौटी ढंगले सदन चलाएका छन् । कार्यव्यवस्थामा छलफल नै नगरी कृष्ण थापालाई कारबाही सम्बन्धी पत्र, प्रदेश प्रमुखलाई विश्वासको मत सम्बन्धी मुख्यमन्त्रीले राखेको प्रस्ताव अस्विकृत बारे प्रदेश प्रमुखलाई जानकारी गराउने र प्रदेश सभा सञ्चालन सम्बन्धी ऐन संशोधन समितिको म्याद थप गर्ने कार्यसूची बनाएका छन् ।
एमाले सांसद तथा कार्यव्यवस्था परामर्श समिति सदस्य कृष्णबहादुर थापा सभामुख निरकुंश बनेको र एकलौटी रुपले अघि बढेको बताउँछन् । संसदीय इतिहास र मर्यादा तोड्दै कार्यव्यवस्था छलेर एकलौटी कार्यसूची बनाएको उनले बताए ।
‘सभामुख अब सभामुख रहनु भएन, पार्टीको गुरिल्ला सभामुख बन्नभुयो,’ उनले भने । विश्वासको मत लिन हिजै असफल भएको बारे जानकारी गराउनुपर्ने भएपनि कृष्ण थापामाथि कारबाहीको पत्र सुनाएरमात्र गराउनुले थप शंका गर्ने कारण बनेको थापाले बताए । ‘हिजै जानकारी गराउनुपर्ने हो नि । कृष्ण माननीयलाई कारबाहीको पत्र सुनाएर जानकारी गराउनु भनेको आफूहरुको ३० सांसद साथ भएमात्र पुग्छ भनेर हो, सभामुख नै यत्रो छलछाममा किन ?’ उनको प्रश्न छ ।
अर्का सांसद धनञ्ज्य दवाडी इतिहासलाई नै माथ खुवाउने गरी सभामुखले पदीय मर्याद भुलेको बताउँछन् । ‘इतिहासलाई नै उहाँले माथ खुवाउनु भयो । सभामुखको यो शैली ठीक होइन,’ दवाडीले भने । यसअघि जेठ २३ को बैठक पनि सभामुखले छलफल नै नगरी डाकेका थिए । एमाले सांसदहरुले बैठक अस्विकार गरेपछि सदन स्थगित भएको थियो ।
तपाईको प्रतिक्रिया