सरकारलाई साथ दिन सकिन्नँः सांसद लामा

समाधान संवाददाता २०७८ जेठ २९ गते २०:३९

समाधान संवाददाता, पोखरा

जनता समाजवादी संसदीय दल गण्डकीकी सचेतक धनमाया लामा पोखरेलले सरकारलाई साथ नदिने चेतावनी दिएकी छन् ।

पूर्व सहमति अनुसार दलका २ जना सांसदले एकसाथ शपथ नखुवाइ हरिशरण आचार्यलाई मात्र शपथ गराएपछि सरकारलाई साथ नदिने उनको चेतावनी छ ।

Advertisement

कांग्रेस नेतृत्वको गठबन्धनमा जान आफूहरुले २ जना सांसद नै मन्त्री बन्ने सहमति गरेपनि अहिले आएर सहमति तोडिएको उनको आरोप छ । ‘हामीले पहिलाबाट नै २ जना नै सरकारमा जाने सहमति गरेको हो, तर आज उहाँहरु हुन्न भन्नुभएको छ,’ लामाले भनिन् ।

लिखित सम्झौता नभएसम्म जनता समाजवादी सरकारमा नजाने उनको दाबी छ । प्रदेश कमिटीको बैठकले आज गरेको निर्णय पनि त्यही रहेको उनले बताइन् ।

Advertisement

‘हाम्रो आजको जुम मिटिङको पनि निर्णय त्यही थियो, २ जना नै जानुपर्छ भन्ने, पार्टीको निर्णय विपरित हरिशरण माननीय जानुभयो, मेरो साथ रहन्नँ,’ लामाले भनिन् ।

पार्टी र गठबन्धनको पूर्व सहमति अनुसार आफूपनि मन्त्रीमण्डलमा सहभागि गराएमात्र सरकारलाई साथ दिने उनको भनाइ छ । ‘पार्टी निर्णय र गठबन्धनको सहमति अनुसार बढेमात्र मेरो सहयोग रहन्छ,’ लामाले भनिन् ।

यस्तै गण्डकीमा आफूहरुलाई दलीय हैसियत दिनुपर्ने र उच्च स्तरी संयन्त्र बनाएर सरकारका काम गर्ने सहमति अनुसार चलेमात्र सरकारमा जाने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया