वैद्य बोलीको पाठ

समाधान संवाददाता २०७८ जेठ ३० गते ७:४५

सम्पादकीय

संसदमा बोलेका कुरालाई लिएर कुनै पनि सांसदमाथि मुद्दा नलाग्ने कानुनी व्यवस्था छ । त्यसो भन्दैमा सांसदलाई जे मन लाग्यो त्यही बोल्ने छुट हुने भन्ने हैन ।

मर्यादित भाषा शैलीमा सांसदले बोल्नुपर्छ । बोलिन्छ । संसदीय परम्पराका आफ्नै मर्यादा हुन्छन् । त्यसको ख्याल गरेरै सांसदले आफ्ना भनाइ राख्नुपर्छ । बोल्न पाइन्छ भन्दैमा अमर्यादित र आपत्तिजनक अभिव्यक्ति दिन मिल्दैन र हुँदैन ।

Advertisement

शुक्रबार बागमती प्रदेश सभामा नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जुन विष वमन गरे, अत्यन्तै आपत्तिजनक र अमर्यादित मात्रै नभई अक्षम्य नै थियो । उनले ओलीको ज्यानै लिन आह्वानमात्रै गरेनन्, त्यसका लागि आफू तयार रहेकोसम्म भन्न भ्याए ।

उनले ओलीलाई यत्तिकै छोड्दा देश सकिने, देशमा गोड्सेको आवश्यक परेको, कोही गोड्से नबने मै बन्छु भने । भारतमा महात्मा गान्धीको हत्या गोड्सेले गरेका थिए । वैद्यको मतलब ओलीको हत्या गर्नुपर्छ भन्ने थियो । यतिसम्म तल ओर्लेर उनले बोल्नु आफ्नै पदीय मर्यादाविपरीत थियो ।

Advertisement

वैद्यको बोली भाइरल हुँदा नहुँदै उनको पार्टी नेपाली कांग्रेसले त्यसलाई सच्च्याउन निर्देशन दियो । त्यस्तो अभिव्यक्तिको पक्षमा पार्टी नभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रष्ट पारिहाले ।

युवा नेता गगन थापाले पनि वैद्यको अभिव्यक्तिको पक्षमा कोही पनि हुन नसक्ने प्रष्ट पारे । वैद्यले पनि पार्टी निर्देशनलाई आत्मसात गरे र आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन निवेदन गरे ।

उनको निवेदनअनुसार संसदको रेकर्डबाट हटेको छ । वैद्यलाई उनको आत्मालोचनाले महान् बनाएको छ । आफू भावावेशमा त्यस्तो बोल्न पुगेको भनेर आत्मसात गर्नुलाई स्वागतयोग्य नै मान्नुपर्छ ।

तर उनको भनाइमा हो होमा होहो गर्नेहरु अरु पनि छन् । बरु वैद्य सच्चिए, अरु भने उक्साहट फैलाउन लाग्दैछन् ।

यस्तो प्रवृत्तिमा भूलसुधार गर्नुलाई प्रशंसा गर्नुको साटो झन् उक्साउनु भनेको हिंसात्मक मानसिकता र प्रवृत्तिलाई मलजल गर्नु हो । मुलुक हिंसाको बाटो छोडेर शान्ति यात्रामा आएको डेढ दसक भइसकेको छ ।

फेरि मुलुकमा हिंसाको वातावरण तय गर्नु मुलुक र जनताप्रतिको महाघात सिवाय केही होइन । जनतालाई हिंसा सही र शान्ति गलत भन्ने मनोविज्ञानतिर पु¥याउनु हो । त्यस्तो वैद्यले सच्च्याएर आफूलाई सही बाटोमा मोडिसके ।

अरुले पनि त्यसबाट पाठ सिक्नुपर्छ । हो, प्रधानमन्त्री ओलीका कमजोरीमाथि आवाज उठाउन भने छोड्नुपर्ने छैन । आलोचना र त्यस्तो अमर्यादित कुरा फरक हुन् ।

तपाईको प्रतिक्रिया