दीपक मनाङेकाे काँधमा बनेकाे सरकार, एउटै पात्र कहिले खलनायक कहिले नायक

समाधान संवाददाता २०७८ जेठ ३० गते ७:४६

अमृत सुवेदी

पोखरा, ३० जेठ/ सत्ताको खेलमा रातारात कित्ता परिवर्तन गरी विपक्षीलाई साथ दिने घोषणा गर्दै गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङ)ले भने, ‘यो व्यवस्था बचाउन यस्तो निर्णय गरें ।’ लामो राजनीतिक संघर्ष र संघीय व्यवस्था ल्याउन लडेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद भंग गर्ने भन्दै साथ छोडेको मनाङेको भनाइ थियो ।

संसदको हत्या हुन नदिन विपक्षी गठबन्धनलाई साथ दिएको मनाङेको भनाइ सुनेपछि त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभाग प्रमुख प्राध्यापक डम्बर चेम्जोङलाई लाग्यो, ‘दीपक मनाङेले बचाइदिनुपर्ने कस्तो लोकतन्त्रको विकास गरेछौं ?’

Advertisement

आपराधिक पृष्ठभूमिबाट संसद छिरेका मनाङे विपक्षीका नजरमा कहिले गुण्डा नाइके बने त कहिले भाग्यदाता । सुरुमा सत्ता पक्षका लागि नायक बनेका मनाङे एकाएक विपक्षीलाई सरकारमा पुग्न काँध हालिदिए र संसदीय राजनीतिकाे अंकगणितमा फेरि एक पटक ‘हिराे’ बने ।

‘राजनीति बजारजस्तो भयो, लोकतान्त्रिक मूल्य, मान्यता, विचारसँग यो सम्बन्धित नै छैन, किनबेचसँग सम्बन्धित छ,’ लोकतान्त्रिक मूल्य मान्यतामाथि विमर्श गर्दै आएका चेम्जोङ भन्छन्, ‘लोकतन्त्र दलाल लठैतको हातमा गयो । मनाङेहरु त्यसैको उपज हुन् । मनाङेले व्यवस्था बचाइदिएका होइनन्, व्यवस्थाको गलत प्रयोग गर्नेहरुबाट फाइदा उठाएका हुन् ।’

Advertisement

सत्ता अंकगणित र गलत राजनीतिक अभ्यासमा मनाङेहरु कहिलेकाहिँ ‘हिरो’ साबित हुने उनको भनाइ छ । चेम्जोङले भने झैं गण्डकी प्रदेश सभामा मनाङे हिरो बनिरहे । कहिले पृथ्वीसुब्बा नेतृत्व सरकारलाई दुई तिहाई पु¥याइदिएर त कहिले मन्त्री भएर सत्ता बचाइदिएर । अहिले पृथ्वीसुब्बा नेतृत्वको गण्डकी प्रदेश सरकार गिर्ने पक्का भएपछि विपक्षीका लागि टेको भइदिए । मनाङकै जगमा उभिएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नेतृत्वमा सरकार बन्यो । मनाङे पनि फेरि मन्त्री बनेका छन् ।

२०७५ माघ १५ गते गण्डकी प्रदेश सभा सदस्यको सपथ लिएका राजीव गुरुङ (दीपक मनाङे)ले धेरैको ध्यान खिचेका थिए । प्रदेश सभा सुरु भएको १४ महिनापछि कारागारमुक्त भएर विवादका बीच सपथ लिएपछि मनाङले सरकारका प्रवक्ता रामशरण बस्नेतसँगै बसेर भनेका थिए, ‘जेल जानु के ठूलो कुरा हो र ? मन्त्रीलाई एक झापड हानिदिनुस् भइहाल्छ ।’

यो अभिव्यक्तिबाटै मनाङेको पृष्ठभूमि र स्कुलिङ थाहा हुन्थ्यो । २०७४ माघ ७ गते गण्डकी प्रदेश सभाका सबै सांसदले सपथ लिँदा मनाङ ‘ख’ बाट चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) फरार थिए । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्धा ब्यँुतिएपछि २०७४ मंसिर १० गते मनाङ ‘ख’ बाट चुनाव जितेर पनि उनले सपथ लिन पाएनन् ।

नयाँ फौजदारी संहिता ऐनको १९४ ले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दा लड्न पाउने सुविधा दिएपछि सर्वोच्चको आदेशमा पुस ६ गते कारागर मुक्त भए । पुस १२ गते सपथका लागि माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिए । सर्वोच्चमा मुद्धा विचाराधीन रहेको अवस्थामा सपथ खुवाउन नहुने भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाले विरोध गरे ।

तत्कालीन नेकपा र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सपथ खुवाउने पक्षमा थिए । सभामुख नेत्रनाथ अधिकारीले पनि तत्काल सपथ खुवाउन नसकिने प्रतिक्रिया दिएका थिए । त्यसलगत्तै सपथ खुवाउन माग गर्दै सभामुख र मुख्यमन्त्रीलाई भेटेपछि २०७५ पुस २१ गते मनाङले प्रतिक्रिया दिए, ‘यो प्रदेशमा कानुन बुझेको कोही रहेनछ, सभामुखले त झन् केही जान्दो रहेनछ । अब म सिकाउँछु कानुन र राजनीति के हो भन्ने ।’

सपथ खुवाउन नहुने भन्दै कांग्रेसले गरेको विरोधकाबीच सपथ खाएका मनाङे विधायकका रुपमा संसदभित्र होइन, बाहिर दिने अभिव्यक्ति र हर्कतका कारण सधैं चर्चाको केन्द्र बनिरहे । सुरुमै सबै दललाई राजनीतिक पाठ सिकाउने बताएका मनाङेले कहिले सत्ता पक्ष त कहिले प्रतिपक्षीलाई प्रयोग गरेर आफू केन्द्रमा रहन सफल भएका छन् ।

नेकपा प्रवेश गर्दै मनाङेले गण्डकी प्रदेश सभामा पृथ्वीसुब्बालाई दुई तिहाई पु¥याइदिए । जब नेकपामा विभाजन आयो, तब स्वतन्त्र सांसदको दाबी गरे र सत्ता पक्षलाई हल्लाइदिए ।

एमाले माओवादी ब्युँतिएपछि स्वतन्त्र सांसदको हैसियतले छुट्टै बस्ने कुर्चीको मागे । एमाले नेता वामदेवको पक्षमा लाग्ने तर सरकारलाई साथ नदिने भन्दै पृथ्वीसुब्बालाई झस्काइदिए । सत्ताको अंकगणित हातमा लिएर दुबैतिर बार्गेनिङ गरे । विपक्षीलाई साथ दिने आश्वासन पनि दिए तर पृथ्वीसुब्बाबाट मन्त्री हात परेर सत्तामा पुगे ।

मनाङेलाई मन्त्री बन्नु थियो र मुख्यमन्त्री गुरुङलाई सत्ता जोगाउनु । दोस्रो पटक पनि मन्त्री बनेका मनाङेले पृथ्वीसुब्बाको सरकार ढल्ने देखेपछि विपक्षीको मोर्चामा उभिएर फेरि मन्त्री बने । राजनीतिक संकटमा शक्तिशाली बनेर देखिएका मनाङे डेढ महिनाको फरकमा तेस्रो पटक मन्त्री बनेका छन् ।

संसद भंग हुनबाट बचाउनका लागि दीपक मनाङेले विपक्षीलाई साथ दिएका होइनन् । उनको राजनीतिक इतिहासले भन्छ, जता स्वार्थ पूरा हुन्छ मनाङे त्यतै लाग्छन् । गुण्डागर्दीमा सक्रिय रहेकै बेला मनाङे कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेका थिए । मनाङे राप्रपा मनाङको अध्यक्षसमेत भएका थिए । राप्रपाबाट उपलब्धी हात पार्न नसकेपछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे ।

०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका मनाङे ०७४ असोजमा एमाले प्रवेश गरेका हुन् । प्रदेश सभाको निर्वाचनमा एमालेबाट टिकटको दाबी गरे । तर, एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरे । पछि एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर मनाङेलाई समर्थन गरेपछि चुनाव जितेर प्रदेश यात्रा तय गरे ।

सांसद जितेलगत्तै फरार भएका मनाङेले जेलमुक्त भएपछि सपथ खाए । २०७६ असार १९ गते नेकपा प्रवेश गर्दै मनाङेले पृथ्वीसुब्बालाई २ तिहाई बनाइदिएका थिए ।

नेकपा विभाजनमा मौन ओली समूहको संसदीय दलको बैठकमा गएका मनाङेले सर्वोच्चले पूर्व एमाले र माओवादी ब्युँताइदिएपछि आफू कुनै पनि पार्टीमा नरहेको बताए । आफू नेकपामा प्रवेश गरेको तर एमाले नभएको भन्दै मनाङेले लेबीसमेत फिर्ता मागेका थिए ।

त्यतिबेला माओवादी र जनमोर्चाले पनि समर्थन गरिराखेका कारण सरकार संकटमा थिएन । जब विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरायो तब एमालेले मनाङेको पनि समर्थन रहने विश्वासको गरेको थियो । मनाङेले पृथ्वीसुब्बालाई पनि मत नदिने र विपक्षीलाई पनि साथ नदिने भन्दै तटस्थ बस्ने बताए ।

यही वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्तावमा मतदान गर्न विपक्षीसँग मनाङेले सहमति गरिसकेका थिए । त्यो दिन मनाङे अनुपस्थित रहे । सांसद खिमविक्रम शाही हराएको घटनामा संसद नै स्थगित भएपछि सत्ता संकटमा भोलिपल्ट १६ गते नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट मनाङेले युवा तथा खेलकुद मन्त्री हात पारे ।

मन्त्री भएकै दिन मनाङेले भनेका थिए, ‘यो सरकार १० दिनभन्दा टिक्दैन तर जति भइन्छ राम्रो गर्छु ।’ केही दिनका लागि भए पनि मन्त्री हुने योजनासहित नै गएका मनाङेले भने झैं वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिए ।

विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन दाबी गरे पनि वैशाख २९ गते संसदको ठूलो एमाले संसदीय दलको नेताका हैसियतले फेरि पृथ्वीसुब्बा नै मुख्यमन्त्री नियुक्त भए । उनले जेठ ५ गते मन्त्रिपरिषद बिस्तार गरे । मनाङे फेरि पनि युवा तथा खेलकुद पनि मन्त्री बने ।

मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनु पर्नेपथ्र्यो । तर, मुख्यमन्त्रीको पक्षमा जम्मा २७ सांसद थिए । स्वतन्त्र सांसद मनाङले पनि साथ दिँदा २८ हुन्थ्यो तर सरकार गठन गर्न ३१ सांसद चाहिन्थ्यो । सरकारको ह्वीप उल्लंघन गरेको जनमोर्चाले सांसद कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीको ३० सांसदले पुग्ने भएपछि सरकार बन्ने सम्भावना थियो । तर, सर्वोच्चले थापाको पद थमौति गरिदिएपछि सत्ता पक्ष र विपक्षी गठबन्धन दुबै अल्पमतमा परे ।

६० सदस्यीय प्रदेश सभामा सरकार ढल्ने तर आफ्नो एक मतले विपक्षीको सरकार पनि बन्ने भएपछि मनाङेले भने, ‘जसको ३० पुग्छ, उसैलाई समर्थन गर्छु ।’ विश्वासको मत लिनुभन्दा अघिल्लो दिन जेठ २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको साथ छाडे । स्वार्थ पूर्तिका लागि पटक पटक राजनीतिक दल र निर्णय फेर्दै आएका मनाङेले यसपटक संसद जोगाउनका लागि विपक्षीलाई समर्थन गरेको भन्ने मौका पाए । मनाङेले साथ नदिएको भए कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने थिएनन् र प्रदेश मध्यावधिमा जान सक्थ्यो ।

अहिले तिनै मनाङे विपक्षी दलभित्र एकाएक हाईहाई बनेका छन् । जबकि मनाङेलाई सपथ खान नदिन सबैभन्दा विरोध गर्ने नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र बिनाविभागीय मन्त्री बनेका कुमार खड्का नै थिए । पद र शक्तिमा पुग्ने स्वार्थमा मनाङेले काँध थापिदिएकै कारण कांग्रेस नेतृत्वमा सरकार गठन भएको हो । मनाङेले संसद जोगाउन होइन सत्तामा रहनका लागि निर्णय गरेको उनकै भनाइबाट प्रस्ट हुन्छ । ‘म जसको सरकार बन्छ, उसकै पक्षमा उभिने हो,’ मनाङेले बताएका थिए ।

दीपक मनाङेलेृ अहिलेसम्म संसदमा कुनै पनि छलफलमा भाग लिएका छैनन् । बरु सरकारले राम्रो काम गर्न नसकेको भन्दै आफू बसेको विकास समितिबाट पनि राजीनामा दिए । पटक पटक विभिन्न अपराधमा जेल खेपेर आएका मनाङे प्रदेश सभा सदस्य भएपछि पनि कुटपिट गरेर हिरासतमा पुगे । गत ८ माघमा अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मीलन गुरुङलाई झापड हानेर पक्राउ परेका मनाङे १२ माघमा छुटेका थिए ।

तिनै मनाङेको जगमा अहिले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार गठन भएको छ । नेपालीकै भाषामा मनाङेले काँध दिएर लोकतान्त्रिक सरकार गठन भएको छ ।
राजनीतिक संकटमा आफूलाई निर्णायक देखेपछि मन्त्रीमात्रै होइन, मनाङेले मुख्यमन्त्रीकै दाबी पनि गरे । ‘मनाङेले मन्त्री हुनु कुनै ठूलो कुरा होइन भनिरहेका थिए । संसदीय राजनीतिमा जनताको मत र विश्वास पाएर मन्त्री हुनु बास्तवमै ठूलो कुरा हो,’ विश्लेषक चेम्जोङ भन्छन्, ‘खुला बजारको प्रतिस्पर्धामा पनि मूल्य मान्यता हुन्छ । तर, राजनीति अर्काको गला घोटेर आफ्नो बजारलाई बिस्तार गर्ने बाटोमा छ ।’

अहिले अंकगणितले सरकार बनाइदिएर संसद बचाइदिएँ भन्ने मनाङेको पृष्ठभूमि र प्रवृति भोलि संसद र गठबन्धनको सरकारकै लागि घातक हुन सक्ने उनको भनाइ छ ।

सिन्डिकेट हाबी भएको राजनीति थप अपराधिकरणतिर गएको उनको विश्लेषण छ । ‘भोलिपर्सी पृथ्वीसुब्बाका लागि आवश्यक पर्दा पनि यो धोकेबाज हो भन्नेवाला छैनन्,’ उनले भने, ‘किनकी मनाङे अहिलेको राजनीतिको प्रवृति हुन् । यहाँको राजनीतिक चरित्र यस्तै छ ।’

राजनीतिकशास्त्री प्राडा उमानाथ बरालले स्वार्थ मिलेपछि राजनीतिमा जतिबेला जे पनि हुन सक्छ भन्ने फेरि एक पटक मनाङेले देखाएको बताए । ‘अहिले देख्दा संसद बचेको देखिन्छ तर मनाङेहरु व्यवस्थाका लागि घातक हुन्, राम्रा उदाहरण होइनन्,’ उनले भने, ‘अहिले नेपाली राजनीतिक दलभित्र मनाङेभन्दा पनि खराब प्रवृति भएका मान्छे छन् र जसले मनाङेहरुलाई हुर्काइरहेका छन् ।’

मनाङेहरुको उत्पादन गर्ने यहीँका राजनीतिक दल भएको उनको भनाइ छ । ‘मूल्यको राजनीति होइन, दीपक मनाङे एउटा प्रवृति हो,’ उनले भने, ‘मनाङेको काँधमा चढेर बनेको सरकारलाई पनि यो फाइदाजनक छैन ।’

तपाईको प्रतिक्रिया